सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक श्रीमती रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । स्वर्गीय भुमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत तलब खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
हिमालयन लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो १ करोड रुपैयाँको मृत्यु दावी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क १ करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो । साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा तीन बर्ष अघि १ करोड रुपैयाँको जीबन बीमा गरेका देव बहादुर खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरिएको हो । कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गर्नु भएको हो । कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी यमुना चालिसेले समयमानै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको बताए । कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।
रिलायबल लाइफको आईपीओ २५७ रुपैयाँमा बिक्री खुला, कति भर्ने आवेदन ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार २७ गते, बुधबारदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।