प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु, स्वस्थ प्रतिस्पर्धाबीच कारोबार गर्ने विश्वास
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुरु भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले शुक्रबार एक संक्षिप्त समारोहकाबीच एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । कम्पनीले एकीकृत कारोबार नयाँ स्थान्तरित केन्द्रीय कार्यालय कमलादीस्थित गणेशथानमा रहेको भवनबाट गरेको हो । एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजु रमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाकोबीच कारोबार गर्ने आशा व्यक्त गरे । प्रभु महालक्ष्मी लाइफको नवगठित सञ्चालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । बीमा बजार झन् झन् प्रतिस्प्रधी हुँदै गइरहेको बताउँदै उनले मर्जरपछि दुबै कम्पनीका कर्मचारीहरुलाई मिलाएर उर्जाशील बनाउने जिम्मेवारी दुबै कम्पनीका कार्यकारी प्रमुखहरुको काँधमा आएको व्यक्त गरे । कार्यक्रममा सञ्चालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवी र युवा टिम पाएको कम्पनीले भविष्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे । त्यस्तै, बीमा क्षेत्रको मर्जरमा प्रभु महालक्ष्मी लाइफले नयाँ इतिहास बनाउने र राम्रो कम्पनी बनेर देखाउने आशा व्यक्त गरेको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएसँगै साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७९ असार ३० गते मर्जरको लागि सम्झौता गरेका थिए । त्यसपछि दुई कम्पनीले मर्जरको लागि अन्तिम सम्झौता गरी एक वर्षको अवधिमा एकीकृत कारोबार गरेका हुन्। २०८० जेठ २६ गतेको साधारण सभाले एकीकृत कारोबारको प्रस्ताव पारित गरेसँगै कम्पनीले नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई मर्जर कार्य सम्पन्न गरेको हो । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५०० करोड रुपैयाँ पुर्याउने निर्देशन जारी गरेको हो । साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ मर्जपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बाँकी पुँजी भने कम्पनीले आईपीओ जारी गरेर पुर्याउने योजना बनाएको छ । मर्जरपछि कम्पनीको कर्मचारी संख्या ४४२ र शाखा उपशाखा मर्जर र बन्द पछि ११६ वटामा झर्नेछन् । त्यस्तै, नयाँ बनेको कम्पनीको सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाएका छन् । कम्पनीको अध्यक्षको बारेमा भने हालसम्म निर्णय भइसकेको छैन । अब एकीकृत कारोबार पछि बस्ने सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष चयन गर्ने कम्पनीले बताएको छ ।
राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर खोज्दै
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर भाडामा लिने भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको स्थान रामशाह पथदेखि ५ सय मिटरसम्मको दूरी अर्थात् अनामनगर हनुमानस्थान, पुतलीसडक, थापाथली क्षेत्रमा घरभाडामा लिने जनाएको छ । इच्छुक घरधनी, संस्था तथा कम्पनीले १५ दिनभित्र सिलबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ । कम्पनीका अनुसार २ हजार ५ सयदेखि ५ हजार वर्गफिट क्षेत्र खालि ठाउँ हुनु पर्नेछ । यस्तै, घरसम्म जाने २० फिटे मोटरबाटो, सवारीसाधन पार्किङ, पानी, ढल र बिजुलीको प्रयाप्त सुविधा पुगेको हुनु पर्नेछ । मासिक रुपमा भाडा रकम भुक्तानी गरिने र भाडा भुक्तानी गर्दा नियमानुसार अग्रिम करकट्टी गरी भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
प्रभु महालक्ष्मी लाइफको आजदेखि एकीकृत कारोबार सुरु, चुक्ता पूँजी साढे ४ अर्ब पुग्यो
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्ज भई आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट आज असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । दुवै कम्पनी सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् प्रभुको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् महालक्ष्मी लाइफको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । दुवै इन्स्योरेन्स कम्पनीलाई मर्ज भई एकीकृत कारोबार गर्नका लागि नयामक निकाय नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति दिइसकेको छ । मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने छन् । हाल प्रभु लाइफको चुक्ता पूँजी २ अर्ब १९ करोड (बोनसपछि)रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । प्रभु लाइफको जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ छ भने महालक्ष्मीको २७ करोड ४० लाख रुपैयाँ छ । समान हैसियतमा मर्ज भएसँगै मर्जरपछि बन्ने कम्पनीको जगेडा कोषमा ८७ करोड १२ लाख रुपैयाँ सञ्चित हुने छ । प्रभुको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड र महालक्ष्मीको ३ अर्ब ८ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ । समीक्षा अवधिमा प्रभुले ७ अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मीले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।