सलिकोले उठायो साढे ४ अर्ब प्रिमियम, ग्राहकलाई विश्वसनीय सेवा दिने प्रण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गत आर्थिक वर्षमा साढे ४ अर्ब बढी बीमाशुल्क आर्जन गरेको छ । साविकको सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भइ बनेको सलिकोले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क अर्थात प्रिमियम उठाउन सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । हालसम्म कम्पनीले ३ लाख ११ हजार ३५८ वटा बीमालेख अर्थात बीमा पोलिसी बिक्री गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ । गत आवमा कम्पनीको नेटवर्थ ५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । कम्पनी हाल स्थापनाकालको २७औं वर्ष पार गरी २८औं वर्षमा प्रवेश गरेको छ । यो अवधिसम्म कम्पनीले देशभरका ११३ वटा शाखाका ६३७ जना कर्मचारीमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ । साथै, २७औं वर्षको अवसरमा सलिकोले आफ्ना ग्राहकहरुलाई थप सशक्त, सबल, गतिशील र विश्वसनीय बीमा सेवा दिने प्रतिवद्धता गरेको छ ।

प्रभु महालक्ष्मी लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले लिइन् सपथ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले साउन २ गते उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । प्रभु महालक्ष्मी लाइफको साउन १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको हो । अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहको जिम्मेवारी लिइ अनुभव हासिल गरेकी छिन् । असार २९ गतेबाट एकिकृत कारोबार शुरु गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यीय संचालक समिति रहेको छ । अध्यक्ष भट्टचन लगायत संचालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन र सुसन शेरचन रहेका छन् । यता स्वतन्त्र संचालक भने मनोनयन हुन बाँकी रहेको कम्पनीले जानकारी गराएको छ ।

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त, यस्तो बन्यो ६ जनाको सञ्चालक समिति

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । एकीकृत कारोबारपछि बसेको सञ्चालक समितिको बैठकले साविकको प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो । उक्त बैठक गत साउन १ गते बसेको थियो । त्यस्तै, संस्थापक समूहबाट शुसन शेरचन, सुरेश सापकोटा र उमेश लाल श्रेष्ठ नियुक्त भएका छन् भने सर्वसाधारण समूहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका हुन् । उक्त समितिमा साविकको प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट चार जना र दुई जना साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालकमध्ये सापकोटा र श्रेष्ठ साविकको महालक्ष्मी लाइफको तर्फबाट हुन् भने बाँकी सबै प्रभु लाइफको तर्फबाट नियुक्त भएका हुन् ।