नेपाल बैंकर्स र जीवन बीमक संघबीच सम्झौता, नीतिगत तहका विषयमा अध्ययन अनुसन्धान गर्ने
काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के. सी. तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौताले बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरु, सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष लिएको छ ।
आईएमई लाइफको प्रिमियिम मूल्यमा आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज बिहीबार (असार २१ गते)देखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिने हो भने २ हजार ३६९.१० रुपैयाँको जोहो गर्नु पर्नेछ । यदि कम्पनीको आईपीओमा अधिकतम १० हजार कित्ता खरिद गर्ने हो भने २३ लाख ६९ हजार १ सय रुपैयाँको जम्मा गर्नु पर्ने देखिन्छ ।
प्रभु महालक्ष्मी लाइफमा ७ जना सञ्चालक मनोनित
काठमाडौं । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ। दुबै कम्पनीबाट प्रतिनिधित्व हुनेगरी ७ जना सञ्चालक चयन भएका हुन् । सात सदस्यीय संचालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका हुन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् । २०७९ असार ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय संचालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र संचालकको मनोनयन एकीकृत कारोबार पछिको संचालक समितिले नियुक्त गर्ने सहमति भएको छ। संचालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको कम्पनीले जनाएको छ ।