आईएमई लाईफको आईपीओ ‘ओभर सब्स्क्राइभ्ड’, आवेदन दिने अन्तिम दिन सोमबार
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर ओभर सब्स्क्राइभ्ड भएको छ । कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गरेको तेस्रो दिन बेलुकासम्ममा नौ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले एक सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ । यस्तै पाँच प्रतिशत अर्थात् छ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को पाँच प्रतिशत अर्थात छ लाख कित्ता संस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो। आइएमई लाइफले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको हो ।
प्रभु महालक्ष्मी लाइफको सीईओमा रमेश कुमार भट्टराई, कम्पनीलाई उचाइमा पुर्याउने विश्वास
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले मर्जर पछि बन्ने कम्पनीको सीईओमा भट्टराईलाई नियुक्त गर्न स्वीकृति दिएको हो । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्सको स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृत थिए ।२०३८ सालमा नेपाल बैंक लि।को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् । २०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्समा प्रथम पटक उनी संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भै कार्यरत रहेका छन् । विगत २८ वर्षदेखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहेका भट्टराईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पनि उचाइमा पुर्याउने विश्वास दिलाएका छन् । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने भएको छ । दुबै कम्पनी बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ ३ गते अन्तिम सहमति भएको थियो । दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।
गार्डियन माइक्रो लाइफले शुरु गर्यो कारोबार, लघुबीमा कम्पनीमध्ये पहिलो बन्न सफल
काठमाडौं । लघु जीवन बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले असार २२ गतेदेखि जीवन लघुबीमा व्यवसाय शुरु गरेको हो । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको उद्घाटन भएको छ । कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले असार २२ गते गरेका हुन् । इन्स्योरेन्स उद्घाटनसँगै कम्पनीले आफ्नो व्यवसाय समेत शुरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले डिजिटल प्रणालीबाट पोलिसी स्वीकृत गर्दै कम्पनीको व्यवसाय शुभारम्भ गरेका हुन् । यससँगै गार्डियन माइक्रो लाइफ लघुबीमा कम्पनीमध्ये कै पहिलो कम्पनी बन्न सफल भएको छ । गार्डियनसहित अन्य ७ वटा लघुबीमा कम्पनीले व्यवसाय सञ्चालन गर्नको लागि प्राधिकरणबाट इजाजत पाएका छन् । कम्पनीले आफ्नो मूख्य कार्यालय कोशी प्रदेश अर्थात मोरङको विराटनगरबाट आफ्नो व्यवसायिक कारोबार शुरु गरेको हो । कम्पनीले अनलाइन प्रणालीबाटै बीमा पोलिसी खरिद गर्न मिल्ने व्यवस्था मिलाएको छ । प्राधिकरणले कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीको अध्यक्षमा उदिप श्रेष्ठ, सीईओमा चिरायु भण्डारी र नायव प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे छन् । कम्पनीमा ठूला घरानका विभिन्न व्यक्तिसहित कूल ४४ जनाको लगानी छ । शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतका विभिन्न व्यवसायी तथा व्यक्तिहरुले यो कम्पनीमा लगानी गरेका छन् । जसमध्ये हुलास अटोक्राफ्टका शेखर गोल्छाले एक करोड, पशुपति मुरारकाले ५० लाख र टाइटेनियम क्यापिटलका भवानी राणाले ५ करोड ५० लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । गार्डियन माइक्रो लाइफमा सबैभन्दा बढी लगानी एसजी फिन्कोर्पका शंकरलाल अग्रवालले गरेका छन् । यो कम्पनीमा उनको ११ करोड २५ लाख रुपैयाँ बराबरको लगानी छ । त्यस्तै, एक करोडदेखि १० करोडसम्म लगानी गर्नेमा शेखर गोल्छा, भवानी राणासहित १० जना रहेका छन् । त्यसैगरी, व्यवसायी पशुपति मुरारकासहित ७ जनाले कम्पनीमा ५० लाख रुपैयाँ लगानी गरेका छन् । र, ५० लाखभन्दा कम अर्थात १० लाखभन्दा बढी लगानी गर्नेमा अन्य २६ जना लगानीकर्ताहरु रहेका छन् ।