स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले गर्यो ५२ करोड आम्दानी, साढे दुई लाख बढीले लिए सेवा

भरतपुर । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा ५२ करोड ५० लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भए पनि सोभन्दा १२ करोड रकम बढी भुक्तानी भएको हो । भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका सम्पर्क व्यक्ति लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको अझै १० करोड रुपैयाँ दाबी गरेर पठाइएको रकम आउन बाँकी छ । अघिल्लो आवमा अस्पतालले बीमा कार्यक्रममार्फत ३० करोड ७९ लाख रुपैयाँ भुक्तानी पाएको थियो । अस्पतालको तथ्याङ्कअनुसार आठ हजार तीन सय ९६ पटक अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आएका बिरामीले सेवा लिएका छन् । यस्तै स्वास्थ्य बीमामार्फत अस्पतालमा भर्ना भएर उपचार सेवा लिने बिरामी आठ हजार रहेका छन् । राज्यको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा जति प्रत्यक्ष राहत दिने महत्वपूर्ण कार्यक्रम अन्य नदेखिएको उनले बताए । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बिरामी स्वास्थ्य बीमाबाट सेवा लिने गरेका छन् । २९ प्रतिशतले मात्रै शःशुल्क सेवा लिने गरेको उनले बताए । विसं २०७४ भदौ १ गतेदेखि अस्पतालमा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म आठ लाख पटक सेवा दिइएको छ । सेवाग्राहीको आकांक्षा र सेवा प्रदायकको कार्यक्रम समन्वय नहुनु, औषधिको उपलब्धता र गुणस्तरमा समस्या देखिनु, दाबी भुक्तानीमा समस्या देखिनु, सेवाग्राहीले सेवा लिन आउँदा आफू अपमानित भएको महसुस गर्नुजस्ता कारणले सेवामा अझै चुनौती रहेको उनले बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले सङ्घीय सरकारले दिने बजेटभन्दा बीमा कार्यक्रमबाट प्राप्त दाबी भुक्तानी रकम बढी भएको बताए । कार्यक्रमलाई अझै सेवाग्राहीको चाहनाअनुरुप गर्न नसकिएको भन्दै उनले बिरामीका लागि थप संरचना निर्माण गरेर सेवा दिइने बताए । यसका लागि आवश्यक जमिनसमेत अस्पतालसँग नभएको उनको भनाइ छ । उनले आगामी दिनमा बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाएर लैजान अस्पताल लागि पर्ने बताए । अस्पतालमा एमआरआइसमेत ल्याइँदै छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा दिन सुरु गरिएसँगै रेफर भएर अन्यत्र निजी अस्पताल जानुपर्ने बिरामीको बाध्यता घटेर जाने उनको भनाइ छ । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले देशकै अस्पतालमा बीमा कार्यक्रम सबैभन्दा प्रभावकारी भरतपुर अस्पतालमा भएको बताए । यससँगै देखिएका समस्याको खोजी गरी निराकरणका लागि पहिलो पटक आजदेखि सबै विभागका कर्मचारी समावेश हुने गरी तीन दिने योजना तर्जुमा गोष्ठी गर्न लागिएको बताए । उनले भने, “अस्पतालका राम्रा पक्षलाई अघि बढाउँदै लैजाने र समस्याको निराकरण गरेर सेवाग्राहीलाई सेवा दिने काममा हामी जुटेका छौँ ।” चितवनसहित छिमेकी जिल्लाबाट समेत बिरामीले स्वास्थ्य बीमामा प्रथम विन्दु भरतपुर अस्पताललाई बनाउने गरेका छन् । रासस

१४ प्रतिशतसम्म कमिसन घटाएपछि बीमा कम्पनीको आपत्ति, संशोधन नभए सम्झौता नगर्ने

काठमाडौं । पुनर्बीमा कम्पनीहरुले कमिसन घटाएपछि बीमा कम्पनीहरुले आपत्ति जनाएका छन् । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको लागि पुनर्बीमा कमिसन घटाएपछि निर्जीवन बीमा कम्पनीहरुले आपत्ति जनाएका हुन् । दुवै पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीबाट प्राप्त गरेको प्रत्यक्ष हिस्सा (डिरेक्ट सेसन)को पुनर्बीमा कमिसन १४ प्रतिशतसम्म घटाएर सम्झौता प्रस्ताव पठाएपछि नेपाल बीमक संघले आपत्ति जनाएको हो । साथै, संघले दुवै पुनर्बीमा कम्पनीले एकतर्फी सम्झौता प्रस्ताव पठाएको भन्दै ७ दिनभित्र संशोधन गरी पुनः पठाउन भनेको हो । यदि संशोधन गरी पुनः नपठाएमा बीमा कम्पनीहरु आफैं जोखिम व्यवस्थापन गर्ने र सो व्यापार नलिने चेतावनी संघले दिएको हो । संघका अनुसार नयाँ पुनर्बीमा कमिसन सम्झौताको प्रस्ताव आधाहिन रहेको छ । पुनर्बीमा सम्झौता करार सम्झौता भएकाले एकतर्फ हुन नसक्ने संघको भनाइ छ । पुनर्बीमा कम्पनीले गत आर्थिक बर्ष २०७९/८० मा सम्पति बीमामा ३७.५० प्रतिशतसम्म कमिसन दिएका थिए । तर, चालू आर्थिक वर्ष २०८०/८१ मा १२.५० प्रतिशत कमिसन घटाएर २५ प्रतिशतमा झारेको छ । यस्तै, मोटर बीमाको ३० र २५ प्रतिशत कमिसनलाई चालू वर्षमा १० प्रतिशत घटाएर २० प्रतिशत मात्रै दिने गरी दुवै पुनर्बीमा कम्पनीले प्रस्ताव पठाएका छन् । यस्तै, इञ्जिनियरिङ बीमाको गत वर्ष २५ प्रतिशत कमिसन दिएकोमा यस वर्ष १० प्रतिशत घटाएर १५ प्रतिशतमा झारेको छ । यस्तै, मिसलेनियस बीमाको स्वास्थसहित ३४ प्रतिशत कमिसन प्रदान गरेकोमा यस वर्ष भने १४ प्रतिशत घटाएर २० प्रतिशतमा झारेको हो । यस्तै, मेरिन बीमाको ९ प्रतिशत घटाएर २५ प्रतिशत, माइक्रो बीमाको २ प्रतिशत घटाएर १५ प्रतिशत र मोटोर टीपी बीमाको १२.५ प्रतिशत घटाएर १५ प्रतिशतमा झारेको हुन् । यस्तै, कृषि बीमाको १८ देखि २५ प्रतिशतसम्मको कमिसनलाई ७ प्रतिशत घटाएर १५ देखि २२ प्रतिशतमा झारेपछि बीमा कम्पनीहरु आक्रोसित बनेका हुन् । गत आर्थिक बर्षको कमिसन दर नै लागू गरेर प्रस्ताव नपठाएमा नयाँ सम्झौता नगर्ने चेतावनी बीमा कम्पनीले दिएका हुन् ।

प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्ने नेप्सेको निर्णय गलत

काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्ने नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को निर्णय गलत देखिएको छ । इन्स्योरेन्सले प्रकृयाअनुसार नै हकप्रद सेयर जारी गर्ने निर्णय गर्दा गर्दै पनि नेप्सेले उक्त निर्णय कानुनविपरित रहेको भन्दै कारोबार रोक्ने निर्णय गरेको पाइएको छ। नेप्सेको साउन ४ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले प्रभु इन्स्योरेन्सले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना नेप्सेलाई ढिला जानकारी गराएको भन्दै कम्पनीको कारोबार रोक्ने निर्णय गरेको छ । साथै, नेप्सेले यो विषयमा कम्पनीलाई तीन दिने स्पष्टीकरण समेत सोधेको छ । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले भने प्रकृया अनुसार अर्थात सभाले दिएको अख्तियारी अनुरुप नै हकप्रद सेयर जारी गर्ने निर्णयलाई अघि बढाएको छ । कम्पनीको २०७९ फागुन २३ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्तावलाई अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको थियो । इन्स्योरेन्सले उक्त सभामा कुनै कम्पनीसँग मर्जरमा जान नसकेमा नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउनको आवश्यक मात्रमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । साधारणसभाबाट उक्त प्रस्ताव पारित पनि भएको छ । इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभामा पेश भएको विशेष प्रस्तावको ३ नम्बर बुँदा ‘यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्वन्धि समझदारी पत्रमा हस्ताक्षर गर्न चलअचल सम्पत्ति र दायित्व मुल्याङ्गन गर्नको लागि मान्यता प्राप्त मुल्यानकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक निर्धारण गर्न लगायतका मर्जर तथा प्राप्ती सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र यदि कुनै निर्जीवन बीमा कम्पनीसंग गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी कार्य सफल हुन नसकेमा नियमनकारी निकायले निर्धारण गरेको चुक्ता पूँजी कायम गर्न सम्बन्धित निकायबाट स्वीकृती लिई आवश्यक मात्रामा हकप्रद शेयर निष्काशन गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने,’ इन्स्योरेन्सले सभामा पेश गरेको विशेष प्रस्तावको ३ नम्बर बुँदामा भनिएको छ । साधारणसभाको निर्णय पुस्तिकाको ४ नम्बरमा स्पष्ट रुपमा निर्णय पनि भएको छ । साधरणसभाको निर्णय अनुसार नै २०८० असार २७ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको २२६औं बैठकले कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्यो । जुन निर्णय स्वीकृतिको लागि हालै नेपाल बीमा प्राधिकरणमा पेश गरेको हो । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्रचार्य आफू प्रकृयाअनुसार नै अघि बढ्दा पनि नेप्सेले कारोबार रोक्ने निर्णय गर्नु र तीन दिने स्पष्टिकरण सोध्नुले आफू आश्चर्यचकित भएको बताए । ‘हामी प्रकृया अनुसार नै अघि बढेका छौं, सभाले पारित गरेको प्रस्तावलाई पूर्वस्वीकृतिको लागि बीमा प्राधिकरणमा पठाइएको हो,’ उनले विकासन्युजसँग भने- ‘अब प्राधिकरणबाट पूर्व स्वीकृति आएपछि मात्र हकप्रद सेयर जारी गर्ने प्रकृयालाई अघि बढाउँछौं, हामीले कुनै गलत गरेका छैनौं ।’ यता पुँजी बजार सञ्चालक नेप्सेले भने कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने सूचना ढिला जानकारी गराएको भन्दै सेयर कारोबार रोक्ने निर्णय गरेको छ । यसले नेप्से आफै अपडेट नभएको भन्ने बुझिन्छ । हकप्रद सेयर निष्कासन प्रस्ताव गरेपछि कम्पनीको सेयर मूल्य भने विहीबार घटेको छ ।