मर्जरमा गएका कम्पनीभन्दा एग्रेशिभ बन्दै प्रभु, शिखर र नेशनल इन्स्योरेन्स, बढाए बिजनेश ग्रोथ
काठमाडौं । अधिकांश निर्जीवन बीमा कम्पनीहरु मर्ज भइरहँदा मर्जरमा नगएका कम्पनीहरु थप एग्रेशिभ बन्दै गएका छन् । गत आर्थिक वर्षको बीमा कम्पनीहरुको तथ्यांकले मर्जरमा गएका भन्दा मर्जरमा नगएका कम्पनीहरु व्यवसाय वृद्धिदरमा थप आक्रामक बन्दै गएको पुष्टि गरेको हो । निर्जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार प्रभु, शिखर र नेशनल इन्स्योरेन्सले मर्जर बिनानै व्यवसाय वृद्धिदर बढाएका छन् । मर्जरमा गएका केही कम्पनीहरुको व्यवसाय खस्कँदा नगएका कम्पनीहरुको भने सामान्य प्रतिशतले भनेपनि बिजनेस बढेको छ । अघिल्लो आर्थिक वर्ष(आव) २०७८/७९ को तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा निर्जीवन बीमा व्यवसाय ३.५९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बराबरको बिजनेस संकलन गरेका कम्पनीहरुले गएको आवमा ४० अर्ब ५७ लाख ५२ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । समीक्षा अवधिमा प्रभु इन्स्योरेन्स बिजनेस बढाउनमा सबैभन्दा बढी एग्रेशिभ भएको देखिन्छ । आर्थिक मन्दीको बेलामा पनि इन्स्योरेन्सले अघिल्लो वर्षभन्दा गत वर्ष २२.१९ प्रतिशतले बिजनेस बढाएको छ । अघिल्लो आवमा एक अर्ब ३५ करोड रुपैयाँ बराबरको बिजनेस गरेको प्रभुले गत आवमा एक अर्ब ६५ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । प्रभुपछि सानिमा जीआईसी इन्स्योरेन्स एग्रेशिभ देखिएको छ । मर्जरमा गएकै वर्ष कम्पनीले आफ्नो व्यवसाय १९.४८ प्रतिशतले बढाएको छ । जुन मर्जरमा गएका कम्पनीको तुलनामा सबैभन्दा बढी हो । अघिल्लो वर्ष एक अर्ब क्लबमा रहेको सो कम्पनीले गएको वर्ष दुई अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा परेको छ । अर्थात कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । त्यसपछि नेशनल इन्स्योरेन्स कम्पनीको बिजनेस १२.३२ प्रतिशतले बढेको छ । मर्जर बिनै कम्पनीको बिजनेस सो मात्राले बढेर एक अर्ब बढी प्रिमियम संकलन भएको छ । अघिल्लो आवमा करोडको क्लबमा रहेको कम्पनी गएको आवमा भने अर्बको क्लबमा पर्न सफल भएको छ । नेशनल पछि शिखर इन्स्योरेन्सको बिजनेस वृद्धिदर बढी छ । निर्जीवन बीमा क्षेत्रकै नम्बर वान कम्पनी शिखरले समीक्षा अवधिमा १०.२४ प्रतिशतले आफ्नो व्यवसाय वृद्धि गर्दै आफ्नो ताज कायमै राखेको छ । अघिल्लो आवमा ५ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको शिखरले गत आवमा ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । कुन कम्पनीको कतिले बढ्यो ? शिखरलाई पछ्याउँदै अघि बढी रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले समीक्षा अवधिमा ४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । रकमको आधारमा दोश्रो स्थानमा रहेपनि कम्पनीको बिजनेस भने अघिल्लो आवको तुलनामा घटेको छ । हालै साविकको सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बिजनेस अघिल्लो आवको तुलनामा सामान्य अर्थात २.९५ प्रतिशतले घटेको छ । त्यस्तै, मर्ज भइ बनेको सिद्धार्थ प्रिमियरको पनि बिजनेस ५.०८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको बिजनेस गरेको कम्पनीले गत आवको असार मसान्तसम्ममा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यससँगै सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियर एक अर्काको प्रतिस्पर्धीको रुपमा देखिएका छन् । त्यसैगरी समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीको पनि व्यवसाय घटेको छ । कम्पनीको व्यवसाय अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी अर्थात १०.३८ प्रतिशतले घटेको छ । मर्जरमा गएका कम्पनीमध्ये व्यवसाय वृद्धि गर्नेमा सानिमा जीआईसी पछि आइजीआई प्रुडेन्सियल, युनाइटेड अजोड र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । यी कम्पनीको क्रमशः ९.१४, ६.५३ र २.११ प्रतिशतले बिजनेस बढेको तथ्यांकले देखाउँछ ।
रिलायबल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो । कम्पनीले प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले गत असार २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
जीवन बीमा व्यवसायमा देखियो चरम मन्दी, सीईओहरु भन्छन् : चालु आर्थिक वर्षमा गति लिन्छ
काठमाडौं । पछिल्लो समय जीवन बीमा क्षेत्रमा मन्दी देखिएको छ । बजारमा तरलता अभाव हुनु र निरन्तर रुपमा महँगी बढेसँगै त्यसको असर आम मानिसको प्राथमिकतामा नपर्ने जीवन बीमा क्षेत्रमा परेको हो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष (२०७९/८०) को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आम्दानी २४.७२ प्रतिशतले घटेको छ । कम्पनीहरुले गत आर्थिक वर्ष (आव) मा ३१ अर्ब २० करोड रुपैयाँ प्रथम बीमाशुल्कबापत संकलन गरेका छन् । जबकी अघिल्लो आवमा कम्पनीहरुबाट ४१ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन भएको थियो । गत आवमा संकलित प्रथम बीमाशुल्कमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.८७ प्रतिशतले घटी हो । त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्नेको दोश्रोमा नेशनल लाइफ, तेश्रोमा सूर्यज्योति, चौथोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र पाँचौंमा हिमालयन लाइफ इन्स्योरेन्स रहेका छन् । यीमध्ये सूर्यज्योति र हिमालयन लाइफ मर्जरमा गएका कम्पनी हुन् । १५ वटा जीवन बीमा कम्पनीमध्ये साविकको प्रभु लाइफको प्रथम बीमा शुल्क सबैभन्दा बढी प्रतिशितले घटेको छ । साविकको महालक्ष्मी लाइफसँग मर्ज भएको साविकको प्रभु लाइफको प्रथम बीमाशुल्क गत वर्षमा ५६.०४ प्रतिशतले घटेर ६३ करोड ५८ लाख रुपैयाँमा झरेको हो । त्यस्तै, साविकको महालक्ष्मी लाइफको पनि ४०.७५ प्रतिशतले प्रथम बीमाशुल्क आर्जन घटेको छ । त्यस्तै, साविकको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भई बनेको हिमालयन लाइफको प्रथम बीमाशुल्क ४८.३७ प्रतिशतले घटेको छ । जुन प्रतिशतका आधारमा साविकको प्रभु लाइफ पछिको धेरै हो । राष्ट्रिय बीमा संस्थानको भने सबैभन्दा कम प्रतिशतले प्रथम बीमाशुल्क घटेको छ । समीक्षा अवधिमा संस्थानको बीमाशुल्क १.१३ प्रतिशतले घटेर ९५ करोड ३० लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवमा संस्थानले ९६ करोड ३९ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेको थियो । सीईओहरु भन्छन् : नयाँ आवमा गति लिन्छ जीवन बीमा क्षेत्रमा गत आर्थिक वर्ष शुरु भएदेखि नै मन्दी देखिन थालेको हो । कोभिड १९ को महामारीमा पनि प्रभावित नभएको यो क्षेत्र पछिल्लो समय चरम मन्दीमा छ । अर्थतन्त्र सुस्ताउँदै गएसँगै जीवन बीमा व्यवसाय पनि घट्दै गएको जानकारहरु बताउँछन् । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु भने अबको त्रैमासमा जीवन बीमा व्यवसायले गति लिनेमा आशावादी छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता बढ्न थालेसँगै बीमा व्यवसाय पनि बढ्ने उनीहरुको भनाई छ । जीवन बीमक संघका अध्यक्ष समेत रहेका पोषकराज पौडेल नयाँ वर्षमा नयाँ बिजनेसले गति लिने बताउँछन् । ‘गत वर्ष नयाँ बिजनेस स्लो भएपनि समग्रमा जीवन बीमा व्यवसाय राम्रै भएको छ, अब नयाँ आर्थिक वर्षमा नयाँ बिजनेस पनि राम्रो हुने छ भन्नेमा हामी आशावादी छौं,’ सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेलले विकासन्युजसँग भने । त्यस्तै, तीन कम्पनी मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सका मनोज कुमार लाल कर्णले बजारमा तरलता अभाव भएकोले बीमा क्षेत्रमा मन्दी देखिएको बताउँछन् । ‘बजारमा तरलता अभाव भएकोले अन्य क्षेत्रसँगै यो क्षेत्रमा पनि मन्दी छाएको हो,’ विकासन्युजसँग बोल्दै उनले भने- ‘यो केही समयलाई हो, अब विस्तारै बढ्छ, चालु आवको पहिलो त्रैमासमै जीवन बीमा व्यवसायले गति लिन्छ ।’