रिलायबल लाइफले साउन २३ गतेदेखि २५७ रुपैयाँमा आईपीओ बिक्री गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेर बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा साउन २६ गते र ढिलोमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

एलआईसी नेपालको साधारण सभाको समय परिवर्तन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले साधारण सभाको समय परिवर्तन गरेको छ । इन्स्योरेन्स कम्पनीले यसअघि अपरान्ह ४ बजे गर्ने भनेको वार्षिक साधारण सभा अब बिहान ११ बजेबाट सुरु हुने छ । इन्स्योरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा साउन १७ गते बोलाएको छ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी संरचनामा संस्थापक र साधारण सेयरको ७०ः३० को अनुपातलाई परिवर्तन गरी ६५ः३५ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७८÷७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

आईएमई लाइफ कोशी प्रदेशद्वारा धरानमा एक हजार वृक्षारोपण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले कम्पनीको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा १ हजार विरुवा प्रदान गरेको छ । आईएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले सनिबार मेयर साम्पाङको वृक्षारोपण अभियानमा सहभागिता जनाउँदै विरुवा प्रदान गरेका हुन् । उनीहरुले मेयर साम्पाङको उक्त अभियानमा सहयोग पुगोस भन्ने हेतुले विरुवा प्रदान गरेको बताए । हिजो आईएमई लाइफको कोशी प्रदेशका २ सयभन्दा बढीले उक्त अभियानमा श्रम दान गरेका हुन् । उक्त अभियानमा कम्पनीका प्रदेश प्रमुखको पनि सहभागिता रहेको थियो । देशमा हुने विकासको गतिविधीहरुमा आइएमई लाइफले सहयोग गर्दै सहभागिता जनाउँदै आइरहेको छ र आगामी दिनमा पनि यस्तो विभिन्न क्रियाकलापहरुमा सहभागिता हुने प्रतिबद्धता कम्पनीले जनाएको छ ।