गार्डियन र क्रेष्ट माईक्रो लाइफको पहिलो महिना : कसले कति उठाए प्रिमियम ?
काठमाडौं । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न अनुमति पाएका दुई इन्स्योरेन्सले पहिलो महिनामा २ लाख ५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असारदेखि कारोबार शुरु गरेका गार्डियन माईक्रो र क्रेष्ट माईक्रो लाइफले सो मात्राको बीमाशुल्क अर्थात प्रिमियम संकलन गरेका हुन् । जसमध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी अर्थात एक लाख ४१ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले असार महिनामा मात्रै १२७ वटा बीमालेख बिक्री गरेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ६४ हजार रुपैयाँ बराबरका प्रिमियम संकलन गरेको छ । जसले असार महिनामा मात्रै ९२ वटा बीमा पोलिसी बिक्री गरेको प्राधिकरणले जनाएको छ । दुई कम्पनीले छोटो अवधिमै सो मात्राको बीमाशुल्क संकलन गरेका हुन् । दुई इन्स्योरेन्समध्ये गार्डियन माइक्रो लाइफले गत असार २२ गतेदेखि र क्रेष्ट माइक्रो लाइफले गत साउन १० गतेदेखि औपचारिक रुपमा व्यवसाय सञ्चालन गरेका हुन् । त्यस्तै, गार्डियनको केन्द्रीय कार्यालय कोशी प्रदेशको विराटनगरमा छ भने क्रेष्ट माइक्रो कणाली प्रदेशको विरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको छ ।
नेपाल लाइफका १३१ अभिकर्तासहित विभिन्न एजेन्सी मेनेजर सम्मानित, दत्तचित्त भई अघि बढ्न आग्रह
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न अभिकर्ता तथा एजेन्सी मेनेजर सम्मानित भएका छन् । कम्पनीले आयोजना गरेको तीन दिवसीय लिडरशीप एक्सेलेन्स अवार्डस्, २०२३ कार्यक्रममा इन्स्योरेन्सका १३१ अभिकर्तासहित विभिन्न एजेन्सी मेनेजरहरु सम्मानित भएका हुन् । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुषित गरिएको थियो । त्यस्तै, एजेन्सी मेनेजर तर्फबाट क्रमश प्रथम, द्धितीय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फबाट क्रमस नेपाल प्रथम, द्धितीय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो । इन्स्योरेन्सले चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा ‘सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । जसमा देशभरबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना दिए । सीईओ पराजुलीले अभिकर्ताहरुलाई गत आर्थिक वर्षको कार्य सम्पादनको लागि धन्यवाद र चालु आर्थिक वर्षको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै उनले चालु आर्थिक वर्ष २०८०/८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ताहरु रहेको र उनीहरुकै मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए । पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अघी बढेको देख्दा मन प्रफुल्लित भएको उनले बताए । जसरी सार्कले समुन्द्रमा अधिपत्व कायम गरेको हुन्छ त्यसैगरि नेपाल लाइफले जीवन बीमा क्षेत्रमा अधिपत्व कायम गर्नेमा आफु विस्वस्त रहेको जाहेर गरे । ग्राहकको सहजताका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधिकरण गर्ने कार्यहरु शुभारम्भ भई सकेको समेत उनले बताए । कार्यक्रममा सञ्चालक विमल प्रसाद ढकालले कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पुर्याउन गरेका योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा सफलताको लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै उनले आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधिनमा रही व्यवसाय गर्न सबैलाई आग्रह गरे । यसका साथ साथै एएमएल सीएफटीको महत्व र अपराहर्यताको बारेमा प्रकाश पारे । यहाँसम्म आइपुग्दा धेरैनै उतार चढावको सामना गर्नु परेको बताउँदै उनले आगामी दिन थप चुनौतिपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ नविनतम प्रविधिको प्रयोग गरि कार्यसम्पादन गर्न आग्रह गरे ।
नेशनल लाइफको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न, ५ शाखा सम्मानित
काठमाडौं । ‘शिफ्टिङ द पाराडाइम २०८०/८१’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने बार्षिक सम्मेलन एनुअल बिजनेश लिडर्स कन्क्लेभ, पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा उक्त सम्मेलन आयोजना गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ । श्रावण १८ गते देखी २१ गते सम्म आयोजना गरिएको उक्त सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय दिन–प्रतिदिन प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको बताए । यस सम्वन्धमा आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु-याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्ने बारे सो सम्मेलनमा विचार विमर्श भएको थियो । सम्मेलनमा सहभागि कर्मचारीहरुलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पंडितले सम्पत्ति शुद्धिकरण तथा आंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । यसैगरी, नेपाल का चर्चित मनोक्रान्तीका संस्थापक डा. योगी विकासानन्दले सहभागि कर्मचारीहरुलाई तनाव मुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मन मस्तिष्कलाई सन्तुलन राखी सो बाट प्राप्त हुने सकरात्मक उर्जाले तनाव व्यवस्थापन गर्न सकिने विषयमा प्रशिक्षण प्रदान गरे । आ.व. २०७९/८० मा शाखा संचालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालय हरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।