बीमा क्षेत्रका ८१ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौं । बीमा क्षेत्रमा हालसम्मै सबैभन्दा ठूलो मुद्दा परेको छ । धितोपत्र बजारमा सङ्गठित रूपमा गैरकानूनी गतिविधि गरी सर्वसाधारण लगानीकर्तालाई ठगी गरेको अभियोगमा हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित बीमा क्षेत्रमा आबद्ध ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अभियोग पत्रमा धितोपत्र बजारमा सङ्गठित रूपमा सर्कुलर ट्रेडिङ गरी एक अर्ब १४ करोड बढी घोटाला गरेको अभियोगमा ८१ जनालाई प्रतिवादी बनाएको छ । सरकारले सबै प्रतिवादीहरूबाट बिगो बमोजिमको रकम असुल गरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ बमोजिम कैद र जरिवानाको माग गरेको छ। सरकारी वकिल कार्यालयले धितोपत्र सम्बन्धी ऐन, २०६३ को विभिन्न दफा अन्तर्गत सजाय र बिगो भराउने मागदाबी गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको अभियोग पत्रमा शंकर समूह र व्यवसायीक दिपक भट्टको प्रत्यक्ष अप्रत्यक्ष लगानी र नियन्त्रण रहेको हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, लघु बीमा कम्पनीहरू, ब्रोकर र इन्भेष्टमेण्ट कम्पनी, पुनर्बीमा दलाल कम्पनीका कर्मचारीहरू रहेका छन् । मुख्य अभियुक्तहरूमा बहालवाला प्रमुख कार्यकारी अधिकृतहरू हिमालन रिइन्स्योरेन्सकी उपासना पौडेल, हिमालयन लाइफका कपिल कुमार दाहाल, नेपाल माईक्रो ईन्स्योरेन्सका मृगेन्द्र नाथ रिमाल, गार्डियन माइक्रो लाइफका चिरायु भण्डारी, प्रोटेक्टिभ माइक्रो ईन्स्योरेन्सका नरेश कुमार रोका, लिबर्टी माईक्रो लाईफका राम कुमार यादव, क्रेष्ट माइक्रो लाईफका प्रतापमान श्रेष्ठ, हिमालयन लाइफका पूर्व प्रमुख कार्यकारी मनोज लाल कर्ण रहेका छन् । त्यस्तै, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा (हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष), साहिल अग्रवाल र सञ्चालक रोहित गुप्ता पनि परेका छन्। यो मुद्दामा घोटालाका मुख्य योजनाकार दीपक भट्ट (इन्फिनिटी होल्डिङ्सका सञ्चालक) र सुलभ अग्रवाल(हिमालयन लाइफका पूर्व अध्यक्ष तथा शंकर ग्रुपका निर्देशक) लाई बनाइएको छ। साजै सुलभ अग्रवालकी श्रीमति शुभी अग्रवाल पनि कारोबारमा मुछिएकी छिन् । यसैगरी व्यावसायिक घराना, धितोपत्र ब्रोकर र आधा दर्जन बीमा कम्पनीका उच्च अधिकारीहरूलाई विपक्षी बनाइएको छ। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेको हो । कुन संस्थाबाट क-कसलाई मुद्दा ? हिमालयन रिइन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरुम अमित मोर, राजिव मोर, शुभेच्छा खरेल, सुभास कुमार झुनझुनवाला र लगानी समिति सदस्य मनिष कुमार रहेका छन् । त्यस्तै तत्कालीन अध्यक्ष शेखर गोल्छा, तत्कालीन सञ्चालक रोहित गुप्ता, लगानी समिति संयोजक शाहिल अग्रवाल र तत्कालीन सञ्चालक सुलभ अग्रवालमाथि मुद्दा परेको छ । हिमालयन लाइफ इन्स्योरेन्सबाट सञ्चालकहरु विवेक कुमार शाह, लक्ष्मण ज्ञवाली, राजिव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी, दिगम्बर झा विरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै गार्डियन माइक्रो लाइफबाट सञ्चालकहरुमा डा. जयप्रकाश जैसवाल,उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल र नवराज गिरीविरुद्ध मुद्दा परेको छ प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र लगानी समिति सदस्य ज्योती प्रकाश पाण्डे र समीर खरेलविरुद्ध मुद्दा परेको छ । प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सबाट सञ्चालक अध्यक्ष कीर्तीका अग्रवाल, सञ्चालक सदस्यहरूमा दिनेश सरिया, नितेश मालपानी, भानुभक्त पोख्रेल, निरू दाहाल, गणेश राज पन्त, दिपेश कुमार श्रेष्ठ र सीईओ नरेश कुमार रोकाविरुद्ध मुद्धा दायर भएको छ । त्यसैगरी क्रेष्ट माईक्रो ईन्स्योरेन्सबाट सञ्चालकहरु सञ्चालकहरु विदुर पुरी, मृदुला सरिया, विनोद नरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ,सुनिता मर्हजनविरुद्ध मुद्धा परेको छ । त्यस्तै लगानी संयोजक रोहित करण वैद्य, सीईओ प्रतापमान श्रेष्ठ, तत्कालिन अध्यक्ष ऋषराज मोर र तत्कालीन सञ्चालक सदस्य पवित्र लाल चुकेविरुद्ध मुद्धा परेको छ । लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सबाट सञ्चालक सदस्यहरुमा बलराम खत्री,नेहा अग्रवाल, आसिस सिंह, सीईओ राम कुमार यादव, वित्त विभाग प्रमुख देवेन्द्र धिताल, अध्यक्ष निकोलस पाण्डे र संयोजक मनिष तिमिल्सिनाविरुद्ध मुद्धा दायर भएको छ । त्यसैगरी नेपाल माइक्रो इन्स्योरेन्सबाट अध्यक्ष आशिष श्रेष्ठ, सीईओ मृगेन्द्र नाथ रिमाल, सञ्चालकहरु सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रविना दाहाल र लगानी समिति सदस्य सुजल मल्ल रहेका छन् ।
बीमा क्षेत्रमा रोजगारी अवसर बढ्दै, विश्वविद्यालयको विद्यार्थीसँग छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्समा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पूँजी तथा बीमालेख नियमन प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बिहीबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा स्नातक तहका छैठौं र आठौं सेमेस्टरका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र, यसको कार्यान्वयन अवस्था, समयसीमा, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय अभ्यासका साथै बीमालेख विकासका चरण र स्वीकृति प्रक्रियाबारे विद्यार्थीलाई जानकारी गराउनु रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाङ्की विज्ञानको अध्ययन र अनुसन्धानमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै आएको बताए । उनले अध्ययनको गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीतिगत व्यवस्था तथा स्रोत परिचालनमा सहयोग गर्न प्राधिकरण तयार रहेको उल्लेख गरे । उनका अनुसार नेपालमा बीमाङ्कीहरूको माग बढ्दै गएको छ र प्रत्येक बीमा कम्पनीमा बीमाङ्की तथा बीमाङ्कीय विश्लेषक अनिवार्य रूपमा नियुक्त गर्नुपर्ने व्यवस्था गरिएकाले यस क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूका लागि स्वदेशमै रोजगारीको राम्रो सम्भावना रहेको छ । प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले बीमा क्षेत्रको विकास, स्थायित्व र व्यावसायिक सुदृढीकरणका लागि बीमाङ्की तथा विश्लेषकहरूको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र तथा यसको कार्यान्वयनबारे प्रस्तुति दिएकी थिइन् भने सहायक निर्देशक सुधा काफ्लेले बीमालेख विकासका चरण तथा नियामकीय प्रक्रियाबारे जानकारी गराएकी थिइन् । अन्तरक्रियामा सहभागी विद्यार्थीहरूले बीमाङ्कीको आवश्यकता, जोखिम व्यवस्थापनमा यसको भूमिका, बीमालेख विकासमा योगदान तथा रोजगारी अवसरबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेल, कार्यक्रम संयोजक केशव राज फुलारा तथा सम्बन्धित विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
आईएमई लाइफले १०० जना मोतीबिन्दु बिरामीको निःशुल्क शल्यक्रियामा गर्यो सहयोग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ । उक्त कार्यक्रमका लागि कम्पनीले ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । यस सहयोगबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतीबिन्दु पीडितहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । माट्रिका आइ सेन्टरले विगतदेखि देशका विभिन्न जिल्लाहरूमा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतीबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । सेन्टरको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । आईएमई लाइफ इन्स्योरेन्सका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गरे । उनले यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकहरूलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमले ग्रामीण क्षेत्रका सयौं विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए । आईएमई लाइफ इन्स्योरेन्सले ‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल मन्त्रअनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।