लकडाउनलाई अवसरमा परिणत गर्दै माछापुच्छ्रे बैंक, मोबाइल बैंकिङका ग्राहक १०० प्रतिशत सक्रिय
लकडाउनकाे अवधिमा बैकिङ सेवा सुचारू गर्न निकै कठिन छ । कठिन अवस्थामा पनि अवसरहरू हुन्छन् । यतिबेला नगद काराेबार कठिन बन्दै गएकाे छ । याे अवस्थामा हामी मोबाइल बैंकिङ प्रवर्द्धन गर्नको लागि रणनीतिक रुपमा लागि रहेका छौं । डिजिटल बैंकिङ सम्बन्धी सचेतना गर्नको लागि हामीले विभिन्न च्यानलहरु प्रयोग पनि गरिरहेका छौं । पहिलो, मोबाइल बैंकिङबाट के–के गर्न सकिन्छ भन्ने मनासायले ग्राहकहरुसँग विभिन्न माध्यममार्फत सम्पर्कमा छौं । जस्तै विभिन्न प्रकारका सामाजिक संजालमार्फत डिजिटल बैंकिङ सम्बन्धी सचेतनात्मक सामग्रीहरु पस्किरहेका छौं । यसमार्फत हामी उहाँहरुलाई मोवाईल बैंकिङ चलाउन सिकाइरहेका छौं । दोस्रो, मोवाईल बैंकिङ सेवामा ग्राहकलाई आवद्ध गर्ने र यस एपलाई चलाउन प्रेरित गरिरहेका छौं । उक्त कार्यलाई सहज गराउन कल सेन्टर तथा डेडिकेटेड कार्यदलको प्रयोग गरेका छौं । कल सेन्टर तथा डेडिकेटेड कार्यदलमार्फत ग्राहकलाई यथाशिघ्र सेवा पनि दिइरहेका छौं । त्यसैगरी, तेस्रो चरणमा हामी बैंकका ग्राहकलाई मोवाईल बैंकिङमा देखिएका समस्या हल गर्नका निम्ति सपोर्ट गरिरहेका छौं । त्यसको लागि हामीले एउटा टोली बनाएका छौं । जसबाट दैनिक सयौंको सङ्ख्यामा ग्राहकलाई मोबाइल बैंकिङमार्फत मोवाइल बैंकिङ चलाउन सिकाउने तथा यसमा रहेका विभिन्न प्रडक्ट फिचर बुझाउने काम गर्छौं । यदि कुनै ग्राहकलाई गाह्रो वा मोबाइल बैंकिङ चलाउन समस्या भइरहेको छ भने हाम्रो कल सेन्टर वा डेडिकेटेड कार्यदलका सदस्यको डाइरेक्ट मोवाइलमा सम्पर्क गर्न सक्नुहुनेछ, हामी ग्राहकको समस्या यथासिघ्र समाधान गर्नेछौं । मोबाइल बैंकिङमा आकर्षण लकडाउन भइसकेपछि हामी ग्राहकसँग झन बढी नजिक भएका छौं । लकडाउन हुनुभन्दा पहिले पर्याप्त समय नहुँदा ग्राहकलाई यस्तो समस्या आउन सक्छ भनेर भन्ने मौका नै पाएनौं । ग्राहकसँग समन्वय गर्ने समय पनि त्यति भएन । ग्राहकले सोच्नै नपाएको समयमा लकडाउन भयो । तर, हामीसँग धेरै ग्राहक थिए । उनीहरुले त्यसको सही प्रयोग गरिरहेका थिएनन् । प्यासिभ युजर नै बढी थिए । तर, धेरै ग्राहक अहिले सक्रिय भएका छन् । लकडाउन लगतै हामीले हाम्रो मोवाईल बैकिङ सेवा लिएका तर प्रयोग नगरी रहेका ग्राहकलाई फोन गरेर सेवा सम्वन्धी जानकारी दियौं । हजारौको सङ्ख्यामा कल गरेका थियाैं । धेरै ग्राहकहरु खुसी पनि हुनुभयो, यस्तो समयमा हामीलाई सूचित गराउनुभयो भनेर । अहिले धेरै मानिसहरु फुर्सदमा हुनुहुन्छ । धेरैजना सामाजिक सञ्जालमा भएको हुनाले हामीले सामाजिक सञ्जालमार्फत यो सेवा सम्बन्धी जानकारी दिइरहेका छाैं । यो समयमा माछापुच्छ्रे बैंक तथा समग्र बैंकिङको हिसावमा कूरा गर्ने हो भने मोबाइल बैंकिङका ग्राहकको संख्या त्यति बढेको छैन । नम्बर नबढे पनि एक्टिभ युजरर्स भने बढेका छन् । पहिले एक्टिभ युजरर्सहरु कम थिए । म यस्तो सुविधा लिन्छु भन्ने खालका ग्राहक अहिले बल्ल आउनु भएको छ । पहिले १ सय जना मोबाइल बैकिङ भएका ग्राहक हुन्थे भने त्यसमा २० जनामात्र एक्टिभ युजरर्स हुन्थे । तर, अहिले सेवा सूचारु गर्ने शतप्रतिशतले नै मोबाइल बैंकिङमार्फत कारोबार गरिहनु भएको छ । कतिपय मानिसलाई अहिलेसम्म एप्लिकेसन चलाउन आएको थिएन । अहिले फुर्सद भइसकेपछि घरपरिवारमा बुबाआमालाई छोराछोरीहरुले पनि मोबाइल बैंकिङ सिकाइरहेका छन् । कतिपयले पहिलेको पासवर्ड बिर्सिसक्नु भएको रहेछ । उहाँहरुको पासवर्ड रिसेट गरिदिने लगायतका सेवाहरु दिएर हामी सहयोग गरिरहेका छौं । पहिलेका प्यासिभ युजरहरु अहिले एक्टिभ भएर मोबाइल बैंकिङको एप्लिकेसन चलाउन थाल्नुभएको छ । माछापुच्छ्रे बैंकको हालसम्म करिब ४ लाख ५० हजार मोबाइल बैंकिङका ग्राहक छन् । करीव ३५ हजार ग्राहक इन्टरनेट बैंकिङ चलाउने छन् । कार्ड प्रायोगकर्ता करिब दुई लाख ५० हजार छन् । मोबाइल बैंकिङमा के–के गर्न पाइन्छ ? मोबाइल बैंकिङमार्फत ग्राहकले धेरै काम गर्न सक्नुहुनेछ । जसले ग्राहकको खर्च कम हुन्छ । जस्तै बिजुलीको बिल तिर्न क्युआरहरु पेमेण्ट गर्न, प्लेनको टिकट काट्न, इन्टरनेट, टिभी, खानेपानी, बीमा शुल्क, स्कूल कलेजकाे फि तिर्न लगायतका बिल तिर्न सकिन्छ । खासगरी माछापुच्छ्रे बैंकको एपमार्फत फिक्स डिपोजिट पनि गर्न सकिन्छ । मोवाईल मार्फत फिक्स डिपोजिट गर्दा ०.५ प्रतिशत प्रिमियम पनि प्रदान गरिरहेका छौं । मोबाइल बैकिङका विशेषताहरु माछापुच्छ्रे बैंकलगायत धेरै बैंकले प्रयोगमा ल्याएका मोबाइल बैकिङबाट आफ्नै र अन्य विभिन्न बैंकहरुमा पैसा पठाउन सकिन्छ । त्यसबाट एनटीसी, एनसेलको मोबाइल रिचार्ज गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न, वालेज टपअप गर्न, आफ्नो खाताको स्टेटमेन्ट हेर्न तथा क्युआरकोड मार्फत मर्चेन्ट पेमेन्ट पनि गर्न सकिन्छ । मैले माथि उल्लेख गरेको माछापुच्छ्रे बैंकको मोवाईल बैंकिगको एउटा विशेषता भनेको हाम्रो मोबाइल बैकिङमार्फत फिक्स डिपोजिट पनि खोल्न सकिन्छ । न्यूनतम ५० हजार रुपैयाँदेखिको रकम ग्राहकले आफ्नो अनुकुल समयमा मुद्दती निक्षेपमा राख्न सक्नुहुन्छ । एक लाखसम्मको कारोबार विभिन्न मिडिया मार्फत, ग्राहकले पैसावाट पनि कोरोनाको संक्रमण हुने थाहा पाएपछि, पैसाको प्रयोग घट्दै गएको मैले पाएको छु । सकेसम्म र सम्भव भएसम्म ग्राहकले क्युआर, पिओएस तथा विभिन्न वालेटको प्रयोग गरिरहेको पाइएको छ । विभिन्न सुपरमार्केट, अनलाईन सप, तथा पसलहरुले पैसाको विकल्पको रुपमा डिजिटल पेमेन्टलाई लिइरहनु भएको छ । हालको लागि अति उपयोगी पेमेन्ट अप्सनको रुपमा क्युआरलाई लिन मिल्छ । सहजै पेमेन्ट गर्न सकिने तथा संक्रमणको डर पनि नहुने भएकाले । अनलाइन डेलिभरी सुरु गर्नुभएको व्यापारीहरुले पनि यसलाई अत्याधिक रुपमा प्रयोग गरिरहनु भएको छ । उहाँहरुले घरमै क्युआर लिएर कारोबार गरिरहनु भएको छ । हामीले ठूलो रकमको कारोबार गर्नेदेखि सानो दैनिक उपभोग्य सामान खरिद विक्री गर्नेसम्मका लागि यो सेवा प्रदान गरिरहेका छौं । मोबाइल बैंकिङ मार्फत ग्राहकहरुले दैनिक उपभोग्य वस्तु खरिद गर्नेदेखि दिनमा एकलाख रुपैयाँ तिर्न सक्ने तथा लोड गर्न सक्ने सुविधा छ । औचित्य, अवसर र जोखिम करिब एक वर्षभन्दा अगाडि, जतिखेर क्युआर आयो, त्यतिखेर मोबाइल बैकिङलाई ट्रान्जेक्सन अलर्ट टूल्सको रुपमा मात्र हेरिन्थ्यो । अहिले विस्तारै पेमेण्टमा पनि मोबाइल बैकिङ हुन सक्छ भनेर मोबाइल बैकिङको प्रयोग राम्रो ग्रोथ रेटमा बढ्दैछ । अहिले पनि लकडाउन भइसकेपछि मानिसहरुलाई मोबाइल बैकिङ चाहिँदो रहेछ र यो क्यासअल्टरनेटिभ रहेछ भनेर सोच्ने फुर्सद भएको छ । यो हिसाबले हेर्दा लकडाउन पश्चात मोवाईल बैंकिग प्रयोगकर्ता अझै बढ्ने सम्भावना छ । मोबाइल बैकिङले मानिसको जीवनलाई सहज बनाइदिएको छ । विभिन्नखालको कष्टहरु घटाइदिएको छ । यो पेमेन्ट सर्भिससँग जोडिएर आउने विभिन्न कम्पनीहरुले बढी अवसर सिर्जना गरिहेका छन्, जस्तै वालेट । मोबाइल बैकिङको प्रयोग हुन्थेन भने नेपालमा धेरै वालेट सर्भिसहरु आउँथेन । उनीहरुको विजनेसले अहिले जसरी एग्रेसिभ रुपमा काम गर्थेन । यसको प्रयोग वाइड स्प्रेड हुने थिएन । तर, अहिलेको अवस्थामा जसरी मोबाइल बैकिङको प्रयोग बढ्दै गएको छ, त्यसरी नै अवसहरु पनि बढ्दै जानेछन् । बैंकलाई पनि ग्राहकहरु बैंकमा नै नआएर विभिन्न सेवा सुविधाहरु दिने अवसर पनि दिएको छ । यसले बैंकलाई कर्मचारी घटाउन अथवा जनशक्तिको कम परिचालन गर्न मद्दत पनि गर्न सक्छ । अर्कोतर्फ बैंकको खर्च कटौती गर्न पनि सहयोग गर्छ । विशेष गरी मोबाइल बैंकिङले बैंकहरुको अपरेशनल खर्च घटाउन ठूलो सहयोग गर्छ । यही अनुपातमा भविष्यमा एक्टिभ युजर बेस बढेको खण्डमा, बैंकहरुले प्रविधिमा ठूलो फड्को मार्ने अवसर प्राप्त गर्नेछन् । हालको विषम परिस्थितिले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ । मोबाइल बैकिङको मुख्य चुनौती यसको सुरक्षाको हो । यसको सेवा सुविधामा कति सुरक्षा हुन्छ भन्ने हो । यो प्रविधि हो, प्रविधिमा सानोतिनो रिक्स जहाँ र जहिले पनि हुन्छ । तर, यसलाइै बैंकहरुले न्युनिकरण तथा कम गरिरहेका छन्। हामी पनि त्यही अनुसार अगाडि बढिरहेका छौं । नेपालमा क्यासलेसको सम्भव सरकारले पनि अहिले क्यासलेस भुक्तानीलाई फोकस गरिरहेको छ । लकडाउनको अवस्थामा, विशेषत सहरी क्षेत्रमा अहिले पनि क्यासलेस जस्तो भइसकेका छौं । अहिले मानिसलाई नगद समाउँदा पनि रिक्स छ । त्यसले पनि मोबाइल बैंकिङको अवसर सिर्जना गरिदिएको छ । हामी यो तीन हप्तासम्म क्यासलेस जसरी नै बसेका छौं, त्यो परिस्थिति मनन् गर्दा क्यासलेस भुक्तानी सम्भव छ । सरकारले क्यासलेसमा जाने निर्णय गरेमा अझ सहज हुनेछ । बानी पर्नको लागि केही समय अप्ठेरो महसुस हुन सक्छ । त्यो समयमा मानिसहरुले आफूलाई अपग्रेट गर्ने मौका पाउँछन् । नेपालमा स्मार्टफोन होल्डरहरुर बढी भएको कारणले पनि यो सम्भव छ । प्रतिशतको आधारमा हेर्ने हो भने बैकिङ प्रणालीमा आवद्ध हुनेहरुको संख्या पनि राम्रो छ । भारतको जति गाह्रो नहोला तर सम्भव अवश्य छ । विश्वसनियता हामीले हाम्रो मोबाइल बैकिङ र इन्टरनेट बैकिङ आफैले उत्पादन गरेको प्रडक्ट नभए पनि किनेको प्रडक्ट हो । तर, ती सबै सेवाहरु हाम्रै बैंकमार्फत नै संचालित हुन्छ । आफ्नो बैंकको डेटाहरु पनि बैंककै अधिनमा र डेटा सुरक्षाको लागि उचित सुरक्षा प्रणाली अपनाइएको हुन्छ । उचित सुरक्षा प्रणाली, व्यवस्थित आन्तरिक नियन्त्रण प्रणाली र समय समयमा हुने ईन्टरनेट सेक्युरीटी अडिटले धेरै हदसम्म विश्वसनियता कायम गरी राख्दछ । त्यसैगरी, बैंकमा आउनसक्ने रिक्सहरुलाई हेर्न, भविष्यमा हुन सक्ने भवितव्यलाई न्यूनीकरण गर्न हामीले इन्भफरमेसन सेक्युरिटी अफिसर पनि राखेका छौं । यसका साथै, हाम्रो मोबाइल बैंकिङको विश्वसनियता के छ भनेर करीव १ बर्ष पहीले नै अन्तराष्ट्रिय मान्यताप्राप्त संस्थामार्फत ईन्टरनेट सेक्युरीटी अडिट गरी उनीहरुको परीक्षण विवरण बमोजिम जोखिम न्यूनिकरणका विधिहरु प्रयोग गरिरहेका छौं । (माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ विभागका नायब प्रमुख रेग्मीसँग सन्ताेष राेकायाले गरेकाे कुराकानीमा आधारित)
कोरोना परिवेश: चुनौतीलाई यसरी बदलौं अवसरमा
आज कोरोना भाइरस महामारीको चपेटामा जसरी हामी परेका छौं, त्यसलाई सहज रुपमा लिन सकिने अवस्था भने अवश्य छैन । जुनसुकै घट्नाको पनि राम्रा नराम्रा दुबै पक्ष हुन्छन् चाहे त्यो सानो होस् या विश्वलाई नै हल्लाउन सक्ने बिकराल परिस्थिती । कोरोनाको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ विश्वका धेरै देशले गरेको लकडाउनका कारण धरासायी बन्दै गएको आर्थिक स्थिती, करोडौंको संख्यामा बेरोजगारहरु बढ्नु, मानवको मस्तिष्कमा नराम्रोसँग डरले जरा गाड्नु लगायतलाई यसको नराम्रो पक्षका रुपमा लिन सकिन्छ भने परिवारका सदस्य लगायत आफन्त तथा चिनेजानेका सबैसँग व्यवहारिक तथा भावनात्मक रुपमा सम्बन्ध बलियो बनाउने अवसर प्राप्त हुनु र त्यसैगरी मनपरेको विषयमा पढ्ने, सिक्ने अवसर प्राप्त हुनु लगायतलाई चाहिँ यसको राम्रो पक्षका रुपमा लिन सकिन्छ । कोराना नामक विषय अथवा घट्ना जस्तोसुकै भयावह भएता पनि हामिले आफुलाई मानसिक रुपमा सवल बनाइरहनु पर्ने हुन्छ । भनिन्छ नि, रुखको हाँगामा बसेको चरालाई हाँगा भाँचिने डर हुँदैन कारण हो उसले हाँगालाई भन्दा पनि आफ्नो पखेटालाई पूर्ण विश्वास गरेको हुन्छ । ठिक त्यसैगरी तपाईं हामीले पनि आफू माथि पूर्ण विश्वास राख्दै माथि बताइएका राम्रा पक्षतर्फ मात्र आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गर्ने हो भने अहिलेको विकराल अवस्थामा पनि तपाईंमा भएको उर्जा घट्न पाउने छैन । यस लेखमार्फत् केही उपायहरुका बारेमा चर्चा गर्न गइरहेको छु जसको प्रयोगबाट तपाईं कोरोना भाइरसका कारण देखिएका चुनौतीलाई अवसरको रुपमा बदल्नमा सफल हुनुहुनेछ । आफूलाई व्यस्त राख्ने अहिलेको त्रासमय अवस्थामा आफ्नो मनलाई सवल बनाउन एकदम जरुरी छ । होइन भने डिप्रेसन, उच्च रक्तचाप, मुटुको रोग, मधुमेह जस्ता रोगहरु लाग्न सक्ने वा बढ्न सक्ने संभावना प्रवल रहन्छ । मानसिक रुपमा सवल भइरहनका लागि सवैभन्दा राम्रो उपाय हो आफूलाई व्यस्त राख्नु । तपाईं पनि आफूलाई घरभित्रै विभिन्न किसिमका काममा व्यस्त बनाइरहनुहोस् । घर सफा गर्ने, कोठाका सामान तथा लुगाफाटाहरु मिलाउने, गमला तथा बगैंचाका फूलहरुको हेरचाहमा समय दिने लगायतका कामबाट तपाईं आफूलाई व्यस्त राख्न सक्नुहुन्छ । ध्यान, योग अथवा व्यायाम गर्ने अहिलेको फुर्सदको समयलाई भरपूर सदुपयोग गर्दै ध्यान, योग अथवा व्यायाम गर्ने बानी बसाउनुहोस् र साथै परिवारलाई पनि यसका लागि आग्रह गर्नुहोस् । महिलाहरुको सवालमा भन्नुपर्दा चाहिँ उनिहरुले रुपलाई जति ध्यान दिन्छन् शरीरलाई चाहिँ त्यति माया गर्ने गरेको पाइँदैन । सुन्नमा जति नमिठो लागे पनि यो सत्य हो कि शरीर स्वस्थ नभैकन रुपमा मात्र चमक पटक्कै आउँदैन । त्यसैगरी आज कोरोना भाइरसले स्वास्थ्यमा निम्त्याएको संकटबाट पनि हामिले स्वास्थ्य प्रती दायित्वको बोध गरिसकेको अवस्था छ । आफ्ना रहर तथा इच्छा पूरा गर्ने हाम्रो समाजमा प्रायःजसो महिला दिदीबहिनीहरुले (केहि पुरुषहरुले पनि) विभिन्न किमिका सामाजिक मर्यादामा बस्नुपर्ने कारणबाट आफू भित्र पलाएका रहर वा धोकोलाई मनभित्रै दबाउनुपर्ने बाध्यता छ । तर अहिले भने घर भित्रनै बसिरहनु पर्ने भएकोले र बाहिरका कोहि पनि घरभित्र नआउने भएकाले यो समयलाई सदुपयोग गर्दै आफुलाई मनपर्ने संगीत सुन्ने, मनोरञ्जनात्मक फिल्म हेर्ने, ज्ञानबद्र्धक पुस्तकहरु पढ्ने, खुलेर नाच्ने, उपयोगी कुराहरु इन्टरनेटबाट सिक्ने, परिवारसँगै बसेर रमाउने लगायतका कामहरु गर्न सक्नुहुन्छ । पर्याप्त मात्रामा घाम ताप्ने लामो समय लक डाउनमा बस्नुपर्दा हामीले आफ्नो शरीरलाई नजिकबाट नियाल्ने मौका पाएका छौं । यो वेलामा आफ्ना शारीरिक कमी कमजोरीलाई मनन गरी के कस्ता पोषण तत्व बढि या कमी भएको छ इन्टरनेटको सहायताबाट सो आँकलन गर्दै आहार तालिका बनाई अवलम्वन गर्न सकिन्छ । पानी प्रशस्त पिउनाले शरीरलाई फाइदा त पुग्छ नै त्यसैगरी पर्याप्त मात्रामा घाममा बस्ने गर्नाले पनि शरीरले भिटामिन डि प्राप्त गर्न सक्छ । व्यवसाय वा जागिरमा प्रयोग हुने कुरा सिक्ने व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा वा जागीर खाइरहेको अवस्थामा दिनभरी हामिलाई भ्याइनभ्याइ भै रहेको हुन्छ । समय अभावका कारण व्यवसाय वृद्धि गर्न वा आफूलाई योग्य बनाउनका लागि चाहिने कतिपय नयाँ कामहरु सिक्न सकिँदैन । तर अहिलेको समयमा चाहिँ हामी ढुक्क भएर आफ्ना व्यवसायिक उपयोगीमूलक कृयाकलापहरु सिक्न सक्छौं । घरघरमा इन्टरनेट जोडिएको अवस्था छ । यसलाई सहि उपयोग गर्ने बेला पनि यहि नै हो । भावानात्मक सम्बन्धलाई प्रगाढ बनाउने यो समयमा श्रीमान-श्रीमती दुवैले घर व्यवहार सम्बन्धी काम मिलेर गर्ने, बच्चाहरुको पढाई लेखाइमा ध्यान दिने र त्यसैगरी राम्रो अभिभावकत्व निभाउन भरपूर प्रयास गर्ने तर्फ ध्यान दिनुहोस् । साना नानीहरुलाई परिचारिकाले जस्तो हेरचाह गर्ने, असल साथी झैं बनेर उनीहरुको रुची तथा आवश्यकताका कुरामा ध्यान दिने गर्नुहोस् । यदि आफ्ना सन्तान अलि ठूला उमेरका छन् भने एउटा सच्चा प्रेमी झैं उनीहरुसँग मनका कुरा सुन्ने सुनाउने वातावरण सृजना गर्नुहोस् । त्यसैगरी यदी घरमा ज्येष्ठ नागरिकहरु हुनुहुन्छ भने उहाँहरुको कुरा सुन्ने, उहाँहरुको भोगाइलाई मनन गर्दै जीवनमा पाठ सिक्ने लगायतका काम गर्ने गर्नुहोस् । माथि बताइएका उपायहरुका अलावा व्यस्तताका कारण नजिक हुन नसकेका साथीभाई, नातागोता, व्यवसायिक सम्पर्कका ब्यक्तिहरु लगायतसँग सामाजिक सञ्जाल मार्फत् सम्पर्क कायम राखी सम्बन्धलाई अझ दिगो बनाउने प्रयास गर्नुभयो भने पनि तपाईं हाल कोरोना संक्रमणका कारण देखिएको चुनौतीलाई सहि रुपमा अवसरमा बदल्नमा सफल हुनुुहुन्छ । (लेखिका अर्लि चाइल्ड डेभलपमेन्टकी प्रशिक्षक हुनुहुन्छ)
लकडाउन नभएको संसार
काठमाडौं । ‘सबैतिर लकडाउन छ । बजार पुरै बन्द छ । घरमा बस्दा बस्दा वाक्कदिक्क भईयो । जीउ दुखेर हैरान भयो’ धेरै नेपालीहरुले सुनाउने गनगन हो यो । तर लकडाउन नभएको संसार धेरै ठूलो छ । मानिसलाई सबैभन्दा प्यारो आफू र आफ्नो परिवार हो । श्रीमान–श्रीमती, छोरा–छोरी, बुबाआमा र, अन्य सदस्यहरु । तपाई स्वस्थ्य रहनुहोस् । परिवारसँगै रमाउनुहोस् । एकले अर्कालाई माया गर्नुहोस् । प्रेममा लकडाउन छैन । मायामा लकडाउन छैन । फूर्सद छ । सक्दो प्रयास गर्नुहोस् । हिजो बुझाउन नसकेको कुरा आज बुझाउनुहोस् । विगतमा असफल भईरहेको प्रेम पनि यहि बेला सफल हुन सक्छ । संसारमा सबैभन्दा महँगो बन्दै गएको विषय ज्ञान हो । नयाँ सोच हो । तपाई अध्ययन गर्नुहोस् । लेखपढ गर्न लकडाउन भएको छैन । कल्पना गर्नुहोस् । अवचेतन मष्तिस्कलाई ब्यूँझाएर चेतनयुक्त बनाउनुहोस् । नयाँ सोचका साथ नयाँ योजना बनाउनुहोस् । नयाँ आइडिया अगाडि बढाउनुहोस् । आफ्नो क्षमताको विकास गर्नुहोस् । क्षमता विकासका कार्य गर्न लकडाउन गरिएको छैन । विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं मानिसहरु विभिन्न विषयका प्यासी हुन्छन्, भोका हुन्छन् । साथी सर्कल बढाउने धेरै मान्छेकाे चाहाना हुन्छ । पुरानो सम्बन्ध नविकरण गर्ने समय यहि हाे । पुराना फोटो एल्वम खोल्नुहोस् । पारिवारिक सम्बन्धका सदस्यहरुलाई सम्झनुहोस् । तपाईका स्कूलका साथी कहाँ छन् ? कलेजका साथी कहाँ छन् ? पुराना प्रेमि/प्रेमिका कहाँ छन् ? के गर्दैछन् । खोजी गर्नुहोस् । फोन गर्नुहोस् । भिडियो कल गर्नुहोस् । च्याट गर्नुहोस् । इमेल गर्नुहोस् । टेलिफोन सेवा बन्द भएको छैन । इन्टरनेट सेवा बन्द भएको छैन । म्यासेन्जर, भाइवर, ह्वाट्स्एप, जुम लगायत सित्तैमा घण्टौं कुरा गर्न मिल्ने माध्यमहरु छन् । प्रयोग गर्नुहोस् । फाइदा लिनुहोस् । चिनजान, सम्बन्ध, सम्पर्कले धेरै काम गर्छ । अझ राम्रो जागिरको अवसर मिल्न सक्छ । विजनेश विस्तारको लागि नयाँ नेटवर्क बन्न सक्छ । अरुबाट नयाँ आइडिया लिएर तपाईं आफैंले नयाँ काम शुरु गर्न सक्नुहुन्छ । कुराकानी गर्न र सम्बन्ध विस्तार गर्न लकडाउन भएको छैन । तपाईले धेरै तिर सुन्नुभएको छ–योग, ध्यान, मेडिटेशन आदि इत्यादि । यी सबै कुरा सिक्ने समय अहिले नै हो । योग अभ्यास गर्नुहोस् । मेडिटेशन गर्नुहोस् । घर भित्र गर्न सकिन्छ । कोठाभित्र गर्न सकिन्छ । कौसीमा गर्न सकिन्छ । तपाईं स्वस्थ्य बन्नुहुन्छ । पहिलाभन्दा उर्जासिल बन्न सक्नुहुन्छ । नजाने यूट्युव हेर्नुहोस् । मम बनाउने विधिदेखि बम बनाउने सुत्र समेत यूट्युव वा गुगल हेरेर सिक्न सक्नुहुनेछ । जहाँ लकडाउन भएको छैन । याद गर्नुहोस्, लकडाउन त घरबाहिर ननिस्कन मात्र हो । तर तपाईं घरभित्रै बसेर विश्व जान्न र बुझ्न सक्नु हुनेछ । नेपालभित्रै कुन जिल्ला कुन एरियामा पर्छ । विश्वमान चित्रमा कुन देश कहाँ पर्छ ? कसको छिमेकी को रहेछ ? कुन देशको भूगोल कति रहेछ ? गुगल म्याप हेर्नुहोस् । संसारका रमणिय क्षेत्रका डकुमेन्ट्रीहरु हेर्नुहोस् । तपाईंले कल्पना गरेको भन्दा नयाँ संसार देख्न सक्नुहुनेछ । एयरपोर्ट बन्द भएकोमा के चिन्ता ? तपाईंलाई संसार देख्नुछ, जान्नु छ र बुझ्नु छ भने लकडाउन भएकाे छैन । तपाईंले नजानेको कुरा धेरै हुन सक्छ । आर्ट बनाउने रहर छ, प्रयास गर्नुहोस् । बोल्ने, लेख्ने भाषा सुधार गर्नु पर्नेछ, मौका यहि हो । टाइप गर्न आउँदैन, अभ्यास गर्नुहोस् । डिजिटल पेमेन्ट गर्न आउँदैन, मोवाइल बैकिङ चलाउन आउँदैन, सिक्नुहोस् । नयाँ सिकाइकाे लकडाउन भएकाे छैन । अँ । इन्टरनेट नभएको ठाउँमा नि ? पढ्न, लेख्न रुची नभएको मान्छेले के गर्ने नि ? तपाईंकाे मनमा लाग्न सक्छ । बाँसुरी बजाउन सिक्ने चाहना छ, उत्तम सयम हो । गाउन, नाच्न सिक्ने रहर छ, सहि समय यहि हो । घरभित्र खेलिने खेलहरु सिक्न मन छ, मज्जाले सकिन्छ । तपाईं किसान ? मकै छोडाउनुहोस् । बारीको नियालो काट्न लकडाउन भएको छैन । डोको डालो बनाउनुहोस् । गोठमा पराल छ, गुन्द्री बनाउनुहोस् । ऊल हुनेले गलबन्दी बनाउनुहोस्, ढुंगा हुनेले मूर्ति बनाउनुहोस् । बालमत्लव, इन्टरनेट किन चाहियो ? चैत ११ गते मेरो घर अगाडिको रुखमा भर्खरै पालुवा पलाउँदै थिए । रुख नाङ्गो थियो । अहिले पातले ढकमक्क भएको छ । लकडाउन हुनुपूर्व मेरी छोरीलाई उमेर सोध्दा १५ वर्षको भएँ भन्थिन । अहिले १६ वर्षकी भएँ भन्छिन् । हामी सबैको उमेरमा लकडाउन भएको छैन । हरेक दिन विहान घाम उदाएकै छ । राती तारा झकमक्क चम्किएकै छन् । यहि बीचमा अलिअलि पानी पनि परेकै छ । चैते हुरी चलेकै छ । मलाई लाग्छ संसारमा धेरै कुरा खुला छ । लकडाउन हुनुपूर्व तरकारी, दाल चामल किन्न बजार जानु पर्थ्याे, अहिले अनलाईनबाट अडर गर्दा घर मै आईपुग्छ । बैंक, बीमा कम्पनीहरु ग्राहकलाई अनलाईन कारोबार सिकाईरहेका छन् । हिजो फरक बैंकको एटिएमबाट पैसा निकाल्दा पैसा काट्थ्यो । लकडाउनसँगै निःशुल्क भएको छ । लकडाउनलाई छिचोल्दै डाक्टर, वकिल, पत्रकार लगायतका पेशाकर्मी अनलाईनबाट सेवा दिन शुरु गर्दैछन् । मनोरञ्जनकर्मी त लकडाउन हुनुपूर्व नै यूट्युवमा हावी भईसकेका छन् । पानी, विजुली, फोन, इन्टरनेट, स्कूल फी सबै अनलाईनबाट तिर्न प्रणालीको विकास भएको धेरै भयो । धुलो खान र लाइन बस्न बानी परेकाहरु मात्र हो, भौंतारिँदै हिँड्ने । स्कूल कलेजहरुले पनि अनलाईनबाट पढाउने अभ्यास हुँदैछ । सिटिङ मिटिङ डिजिटल मिटिङमा रुपान्तरण भईसक्यो । यस्ता अनेकाै परिवर्तन हाम्रा अगाडि छन्, मात्र हामीले अनुसरण गर्न बाँकी छ । हो, केही अप्ठ्याराहरु पक्कै छन् । अप्ठ्यारालाई सप्ठ्यारो बनाउने प्रयास गर्नुहोस् । सोच्नुहोस्, तपाईले आफ्नो इलमशैलीमा पनि परिवर्तन गर्न सकिन्छ कि ? भुल्नै नहुने सत्य के हो भने, हामीले चाहे जस्तो संसार हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि हुनेवाला छैन ।