औचित्यको आधारमा ऋणीलाई राहत आवश्यक- भुवन दाहाल
भुवन दाहाल- अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन नेपाल राष्ट्र ६४ वर्ष पूरा गरेर ६५ वर्षमा प्रवेश गरेको छ । यो अवसरमा नेपालको सबैभन्दा बलियो र भरपर्दाे नियामकको रुपमा रहेको राष्ट्र बैंकलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । अहिलेको परिस्थिति भिन्न छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण विश्वभर आर्थिकमन्दी आउने प्रक्षेपण भएको छ । अन्तराष्ट्रिय मुद्राकोष (आइएमएफ), विश्व बैंक जस्ता संस्था र निकायले विश्वको आर्थिक बृद्धि ऋणात्मक हुने प्रक्षेपण गरिरहेका छन् । लाखौंले रोजगारी गुमाउने, आपूर्ति प्रणालीमा आएको अवरोध र उपभोगमा कमी आउँदा उद्योग कलकारखना तथा बन्द व्यापार चौपट हुने भनिएको छ । यो विश्वव्यापी असर नेपालमा पनि परेको छ । नेपाल सरकारले पनि कोरोना संक्रमण फैलनबाट बच्न देशभर लकडाउन घोषणा गरेको एक महिनाभन्दा लामो समय भइसकेको छ । देशव्यापी लकडाउन र विश्व आर्थिकमन्दीको असर नेपालमा पनि पर्नेछ । कोरोना संक्रमणका बावजुत पनि नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण गरिएको छ । यो परिवेशमा अन्तराष्ट्रिय संस्था र निकायले गरेको प्रक्षेपणको नजरअन्दाज नगरी र बढी हतोत्साही नभइ नेपाल नेपाल राष्ट्र बैंकले आफ्ना नीति निर्णय, योजना तथा कार्यक्रमहरु तर्जुमा र कार्यान्वयन गर्नुपर्छ । कोरोना संक्रमणको कारण धराशायी भएको अर्थतन्त्र उकास्नको लागि विभिन्न देशले विभिन्न प्रकारका राहत कार्यक्रम ल्याएका छन् । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले पनि केही कार्यक्रम ल्याइसकेको छ भने थप बृहत कार्यक्रमको लागि कार्यदल बनाएर अध्ययन भइरहेको समाचार सार्वजनिक भएका छन् । अहिलेको प्रश्न भनेको कस्तो राहत कार्यक्रम ल्याउने भन्ने नै हो । यो विश्वव्याधीको संक्रमण कहिलेसम्म रहन्छ भनेर कसैले पनि यकिन गर्न सकेको छैन । त्यसैकारण राहत कार्यक्रम ल्याउँदा कहिलेसम्मको लागि ल्याउने भन्ने अर्काे समस्या पनि छ । यो महामारीको संकटको बेलामा कुनै उद्योग व्यवसायले राम्रो आम्दानी गरिरहेका पनि छन् । केही उद्योग व्यवसायको अवस्था असाध्यै विग्रिएको पनि छ । विग्रिएका उद्योग व्यवसायमा पनि एउटै लगानीकर्ता वा समुहका विभिन्न प्रकारका उद्योग व्यवसाय पनि हुन सक्छन् । यसलाई उदाहरणको रुपमा अझ प्रष्ट पारौं । जस्तो कि अहिले खाद्यान्न, औषधी, स्वास्थ्य उपकरण जस्ता वस्तुको उत्पादन र विक्री गर्ने उद्योग व्यवसायले राम्रो आम्दानी गरिरहेका छन् । अहिले सबैभन्दा धेरै नकारात्मक असर परेको होटल व्यवसायलाई हो । होटल व्यवसायमा पनि एउटै लगानीकर्ता वा व्यवसायिक घरानाको होटल पनि थियो, औषधी उद्योग पनि थियो र खाद्यान्न उद्योग पनि थियो भने त्यस्ता लगानीकर्ता वा व्यवसायिक घरानालाई राहतको आवश्यकता नहुन सक्छ । त्यसकारण जसजसलाई वास्तवमै राहतको आवश्यकता छ, त्यस्ता क्षेत्र वा उद्योगी व्यवसायीलाई केन्द्रीत गरेर राहत कार्यक्रम ल्याउन आवश्यक छ । यो परिस्थितिको नकारात्मक असर परेका उद्योग व्यवसायलाई व्याजमा छुट दिनुपर्ने होला, किस्ता तिर्ने समय सारिदिनुपर्ने होला, थप लगानी गरिदिनु पर्ने होला वा जरिवाना वा शुल्क नलिनु पर्ने होला । त्यस्ता ऋणीलाई गम्भीर अध्ययन गरेर आवश्यकता र औचित्यको आधारमा राहत प्याकेज प्रदान गर्ने पहल राष्ट्र बैंकले गर्न सकोस भन्ने अपेक्षा छ । सरकारले रातह बाड्न लागेको छ भन्ने सुनेपछि हामी सबै राहत लिनको लागि लाइनमा बस्ने गरेका छौं । सबैलाई राहत दिदा नचाहिने वा आवश्यक नपरेको व्यक्ति वा संस्थाले पनि राहत पाउने अबस्था रहन्छ । तर, अर्काेतिर कसैलाई राहतको असाध्यै आवश्यकता परेको हुन सक्छ । सबैलाई राहत दिदा आवश्यकता नपरेकोले पनि पाउने र अतिआवश्यक परेकोले कम पाउने अवस्था रहन्छ । त्यसैले पहिलो कुरा त यो मानवीय संकटको समयमा जसजसलाई राहतको आवश्यकता छैन वा कम असर परेको कारण आफै व्यवस्थापन गर्न सकिने अवस्था छ, उहाँहरु आफैले मलाई राहत आवश्यक छैन भन्नु सक्नुपर्यो । यो संकटमा मानता प्रदर्शन पनि गर्न सक्नुपर्यो । मैले राहत नलिदा पीडामा छटपटाइरहेको अर्काेले राहत लिएर बाँच्ने अवस्था रहन्छ भन्ने भाव प्रदर्शन गर्नुपर्यो । यसो गर्न सकियो भने आवश्यकता परेकाको पीडामा सरकारले मलमपट्टी लगाउन सक्छ । अर्थतन्त्रको स्वभाव फरक खालको हुन्छ । ग्रामीण दूरदराजका साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तु ठूला उद्योगका कच्चा पदार्थ हुन सक्छन् । त्यस्तै ठूला उद्योगले उत्पादन गरेका वस्तु साना तथा मझौला उद्योगले उपभोग गर्न सक्ने अवस्था रहन्छ । अहिले धेरै असर परेको पनि साना तथा मझौला उद्योगहरुलाई नै हो जस्तो देखिन्छ । ठूला उद्योग भएनन् भने साना तथा मझौला उद्योगलाई पनि असर पर्छ र साना तथा मझौला उद्योगका समस्याले ठूला उद्योगलाई असर पुर्याउँछ । त्यसैले राष्ट्र बैंकले मौद्रिक उपायबाट प्रदान गर्ने राहतले यस्ता कुरामा पनि ध्यान दिने छ भन्नेमा म विश्वस्त छु ।
अरुलाई राहत दिने नाउँमा बैंक तथा वित्तीय संस्थाहरु धरासायी हुनु हुँदैन- सरोजकाजी तुलाधर
सरोजकाजी तुलाधर- अध्यक्ष, नेपाल वित्तीय संस्था संघ नेपाल राष्ट्र बैंकले ६५ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा राष्ट्र बैंकले नेपाली बैंक तथा वित्तीय क्षेत्रको विकास र विस्तारमा गर्न सकेका र नगर्न सकेका काम कारबाही तथा योजनाहरु, कोरोनाले नेपाली अर्थतन्त्रमा पारेकाे असर र प्रभावित क्षेत्र तथा वर्गलाई के कस्ता प्याकेज ल्याउन उचित होला ? भन्ने विषयमा वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरसँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । नेपाल राष्ट्र बैंक ६५ वर्षमा प्रवेश गरेको छ । राष्ट्र बैंकको यो यात्रालाई तपाई कसरी लिनु हुन्छ ? सर्वप्रथम, नेपाल राष्ट्र बैंक ६५ वर्षमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना दिन चाहन्छु । राष्ट्र बैंकको यात्रा सुनौलो अक्षरले नै लेख्नु पर्ने खालको छ । राष्ट्र बैंक हरेक समयमा राम्रै किसिमले अगाडि बढिरहेको छ । देशको अर्थतन्त्रलाई मजबुद बनाउनको लागि राष्ट्र बैंकको भूमिका महत्वपूर्ण छ । हेरक वर्षको बजेटलाई कार्यान्वयन तथा सफल बनाउनको लागि केन्द्रिय बैंकले ठूलो भूमिका खेल्छ । यो काम राष्ट्र बैंकले अहिले पनि गर्दै आएको छ र भविष्यमा पनि गरिरहने छ भन्ने आशा छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुको अभिभावक पनि हो । यसले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गरेको छ ? अवश्य नै छ । राष्ट्र बैंकले राम्रै भूमिका निर्वाह गरेकै कारणले देशका विभिन्न क्षेत्र तथा ठाउँहरुमा बैंकिङ पहँच पुगेको छ । नागरिकमा बैंकिङ साक्षरता बढेको छ । हामी पेपरलेस मनितर्फ अगाडि बढिरहेका छौं । पहिला–पहिला चेक क्लियर गर्नका लागि २/३ दिन अर्थात एक हप्ता नै लाग्थ्यो । तर, अहिले एकछिनमै हुन्छ । यी सबै राष्ट्र बैंकको उचित कदमकै कारण सम्भव भएको हो । बैंकिङ क्षेत्र प्रभावकारी र आम नागरिकले गुणस्तरीय सेवा पाउनका लागि राष्ट्र बैंकले कसरी अगाडि बढ्नु पर्थ्यो, अर्थात कस्ता खालका योजना रणनिती ल्याउनु पर्थ्यो जस्तो लाग्छ । तपाईको अपेक्षा के हो ? हुन त राष्ट्र बैंकले हालसम्म राम्रै भूमिका खेलेर अगाडि बढिरहेको छ । सबैका आ-आफ्नै चाहना र अपेक्षा हुन्छन् नै । प्रमुख कुरा त राष्ट्र बैंकबाट दिगो विकास लक्ष्य र फाइनान्सिङ सेक्टर स्टाविलिटीको कुरा हो । यसलाई निरन्तरता देओस् भन्ने मेरो चाहना हो । अर्को वर्ष वार्षिकोत्सव आउने बेलासम्म कोरोना भाइरसले पार्ने असरको सुक्ष्म अध्ययन गरेर त्यसलाई आवश्यक किसिमको ट्रिटमेन्ट बैंकिङ क्षेत्रलाई दिनु पर्छ । हाम्रो चाहना त्यति नै हो । अहिले कोरोनाको कारण देश मात्र नभएर विश्वलाई असर परिरहेको अवस्था छ । राष्ट्र बैंकले यो समयमा समस्यामा परेकाहरुको मल्हम लगाउने काम गर्न सक्छ । कोरोनाको कारण भएको लकडाउनले धेरै असर परेको क्षेत्रलाई अध्ययन गरेर उचित किसिमको प्याकेजहरु ल्याउनु पर्छ नै । निक्षेपकर्ताहरुको निक्षेपलाई चलायमान बनाउनका लागि त्यसको ब्याक पनि पाउनु पर्छ । सबैलाई उचित किसिमको राहत दिनु पर्छ । तर, अरुलाई राहत दिने नाउँमा बैंक तथा वित्तीय संस्थाहरु धरासायी हुनु हुँदैन । अब राष्ट्र बैंकले झन प्रभावकारी भूमिका खेल्न के कसरी अगाडि बढ्नु पर्ला । कसरी अगाडि बढ्दा देशको अर्थतन्त्र मजबुद र नागरिकले गुणस्तरीय सेवा पाउन सक्छन ? यसमा एउटा मात्र कुरा छ । जसको आवाज बुलन्द रुपमा सरकार र नियामकहरु सम्म पुग्दैन । उनीहरुको मध्यस्तकर्ताका रुपमा राष्ट्र बैंकले अगाडि बढ्नु पर्छ । हाम्रोमा सानो-सानो ऋण लिने जमात ठूलो छ । उनीहरुको आवश्यकता हेर्दै तिनीहरुको प्रतिनिधित्व गर्ने र मर्का बुझिदिने काम राष्ट्र बैंकले गर्नु पर्छ । तपाईले अगाडि पनि भन्नुभयो कि राष्ट्र बैंकले बैंकिङ पहुँच बढाउन धेरै भूमिका खेलेको छ । तर, अझैं पनि ६/७ स्थानीय तहमा बैंकिङ सेवा पुग्न सकेको छैन । ती स्थानीय तहमा वित्तीय पहुँच र वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकले कसरी अगाडि बढ्नु पर्छ ? बैंकिङ पहुँच विस्तारै अगाडि बढ्ने कुरा हो । सबै काम एकै पटक हुन पनि सम्भव हुँदैन । अहिले जारी रहेको लकडाउनले डिजिटाइजेसनमा जानु पर्छ भन्ने पाठ पनि सिकाएको छ । हामीले पेपरलेस कारोबार गर्नु पर्छ त भनेका छौं । तर, अझै पनि त्यो हामीलाई पुगेको रहेनछ । अझ धेरै नै गर्नु पर्छ भन्ने सिकाई यसले सिकाएको छ । डिजिटल बैंकिङमा सबैले बढी ध्यान दिनु पर्छ । विकास भन्ने कुरा विस्तारै हुने हो । देखा परेका चुनौतीहरुलाई समाधान गर्दै अगाडि जानु पर्छ भन्ने मलाई लाग्छ । अहिले विश्वभर कोरोना भाइरसको सन्त्रास छ । यसले धेरै क्षेत्रलाई उत्तिकै प्रभाव परेको छ । विशेष गरेर उद्योग व्यवसायी धेरै समस्यामा परेका छाैं भनेर आवाज उठाइरहेका छन् । उनीहरुका लागि राष्ट्र बैंकले कस्ता प्याकेज ल्याउँदा उचित होला ? अहिले राष्ट्र बैंकमा कोरोना भाइरसको असर तथा प्रभाव अध्ययन गर्ने एउटा समिति नै बनेको छ । उद्योगी व्यवसायी वा बैंकका ग्राहकका लागि के कस्ता राहतका प्याकेज ल्याउने भन्ने बारे समितिले नै काम गरिरहेका छन् । कोरोना भाइरसको कारण एउटा क्षेत्रभन्दा पनि धेरै क्षेत्रलाई असर पारेको अवस्था छ । दैनिक ज्यालादारी काम गरेर खाने मजदुरलाई पनि निकै असर पारेको छ । सबैलाई राहत दिन्छु भनेर सरकारले काम गर्न पनि सक्दैन । यसमा सबैको भूमिका र जिम्मेवारी उत्तिकै आवश्यक हुन्छ । बैंक तथा वित्तीय संस्थाहरु, श्रमिकहरु काम गर्ने सम्बन्धित कम्पनी वा संस्थाको पनि महत्वपूर्ण भूमिका हुन्छ । अहिले राष्ट्र बैंकले एकै पटक असारमा व्याज तिर्न पाउने भनेको छ । तर, एकपटक तिर्दा उनीहरुलाई नै बढी समस्या पर्न सक्छ । तिर्नै पर्ने भएपछि तीन महिना थपिएर आउँदा फेरि गाह्रो हुन्छ । समयावधि थपिएरै जाँदा झन तिर्न नसक्ने अवस्था आयो भने के गर्न सकिन्छ ? कसरी व्यवस्थापन गर्ने ? त्यो पनि सोच्नु पर्छ । अहिले पनि धेरै कामदारलाई, कतिलाई ५० प्रतिशत तलब दिने कतिको तलब कटौती गर्ने, कतिपयको बेतलबी बस्ने भन्ने पनि सुनिएको छ । त्यसले सोसियल अन्रेष्ट (सामाजिक अशान्ती) आउन सक्छ । त्यो आउन नदिनको लागि सबैले सोच्नु पर्ने हुन्छ । अर्थमन्त्रालयले पनि के कसरी योजना लिएर आउने भन्ने बारे सोच्नु पर्छ । अहिले ५९ अर्बको रिफाइनान्सिङ फण्ड छ । त्यसलाई ठूलो बनाउन सकिन्छ । बाहिरी फण्ड अर्थात ऋण ल्याएर केही प्याकेज दिएर कामदारहरुले जागिरबाट हात धुनु नपर्ने खालको वातावरण सिर्जना गर्न सकिन्छ कि भनेर पनि सोच्नु पर्छ । अर्को लकडाउनको कारण विदेशमा रहेका धेरै युवाहरु स्वदेश फर्कने अवस्था आयो् भने उनीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? कमसेकम कोरोना भाइरसको कारण खाना नपाएर मर्ने अवस्था नआउन दिनको लागि हामी सबैले चनाखो हुनु पर्छ । अहिले साना तथा मझौला उद्यमीहरुले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर छुट अर्थात घटाउन माग पनि गरिरहेका छन् । यो सम्भव छ कि छैन ? व्याजदर घटाउनु पर्छ तर व्याजदर घटाउनका लागि सबैभन्दा पहिले बैंक तथा वित्तीय संस्थाले आफ्नो कष्ट अर्थात निक्षेप घटाउनु पर्ने भयो । त्यसको सबैभन्दा उत्तम विकल्प भनेको निक्षेपको व्याजदर घटाउनु पर्यो । निक्षेपकर्ताहरुलाई व्याजदर भन्दा अलि माथिको प्रिमियम नपाइकन त्यो डिपोजिटको वा कर्जामा कसरी घटाउने हो ? व्यापारीहरुले तिर्नु पर्नेलाई समायावधि सार्दै जाने हो भने डिपोजिटरलाई तिर्नु पर्ने पैसा त घट्दैन । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको हो । उद्योगी व्यवसायीहरुले दुई महिना दश दिन त काम गरेरै कमाएकै हो नी । भनेपछि चैत सम्मको पैसा तिर्न त गाह्रो नहुनु पर्ने हो । तर त्यसको म्याद असार सम्म लिएर जाँदा अब तिनीहरुको आम्दानी नभएको कारणले असारको तिर्न गाह्रो हुन सक्छ । मिल्छ भने अहिले नै तिर्नु पर्ने हो । कोरोनाले सबैलाई असर गरेको छ । सबैलाई त्यो घटाएको व्याजदरको फाइदा दिनु पर्छ । आजको दिनमा कसैले आधारदर प्लस ६ प्रतिशतमा पनि ऋण लिएका छन् भने कसैले आधारदर प्लस प्वाइन्ट फाइभ मा पनि ऋण लिएका छन् । तर, अब यो असारसम्ममा सबैलाई एकै किसिमबाट व्याज दियो भने एउटा समाधान हुन सक्छ । यो सँगै ऋण लिएको कम्पनीले आफ्नो कामदार निकाल्न नपाउने नीति हुनु पर्छ । यो कोरोना महामारीको समयमा देशमा आर्थिक संकट कम गर्न राष्ट्र बैंकको भूमिका के हुन सक्छ ? पहिलो त असरलाई कसरी कम गर्ने भन्ने हो । लकडाउनमा जुन किसिमको र्यापिड टेष्ट हुनु पर्ने हो त्यो भएको छैन । यो समय भनेको व्यक्तिले सुरक्षित रहनु हो । अर्थतन्त्र हेरेर लकडाउन तुरुन्तै नै छोडिहाल्यो भने पनि जापानको जस्तो अवस्था आउन सक्छ । त्यो जोखिम हाम्रो स्वास्थ्य क्षेत्रले धान्न सक्दैन । लकडाउन बढाउँदै लग्यो भने पनि हाम्रो अर्थतन्त्रलाई ठूलो असर पर्न सक्छ । आम्दानी पनि साँघुरो हुँदै जाने अवस्था आउँछ । व्यक्तिको मात्र होइन,देशमा नै सप्लाई चेन बिग्रिन सक्छ । घर-घरमा खाद्यान्नको अभाव हुन सक्ने भएको कारणले विस्तारै खुला चाहिँ गरेर जानु पर्छ । तर, यो खुला गरेर जाँदा खेरि सामाजिक दुरी पालना गर्ने क्षेत्रहरुलाई पहिचान गरेर जान सकिन्छ । यसरी नै विस्तारै अर्थतन्त्रमा पनि क्रमिक सुधार गर्दै जाने हो । यो अभ्यासले हाम्रो अर्थतन्त्रमा असर कम पर्छ । एकछिन स्मरण गरौं, तपाईको विचारमा राष्ट्र बैंक कहाँ चुक्यो ? कुन अवस्थामा राम्रो गर्न सक्थ्यो । केही सुझाव सल्लाह छन् ? सबै काममा पूर्ण कोही पनि हुँदैन् । काम गर्दै जाँदा कुनै न कुनै काम गलत र कुनै काम छुटी नै रहेको हुन्छ । त्यो गलतलाई समयमै सिकाइका रुपमा लिएर सुधार गर्दै जाने हो । अहिले राष्ट्र बैंकले नयाँ नेतृत्व पनि पाएको छ । नयाँ आउनु भएका गभर्नर आफैमा सक्षम व्यक्ति पनि हुनुहुन्छ । अहिलेको सिनारियोलाई कसरी सामान्यिकरण गरेर सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सँगै लिएर समन्वय भूमिका गरेर अगाडि बढ्यो भने उहाँको कार्यकाल झन फलदायी हुन्छ जस्तो मलाई लाग्छ ।
‘स्टार्टअप्’ हरुलाई अहिलेको अवस्था – निराश हुनेकि अवसरमा परिणत गर्ने !
उत्सब भट्टराई प्रबन्धक, हेरचार डटकम काठमाडाैं । विश्वभरी महामारीको स्वरुपलिदै फैलिएको कोरोना भाइरस (कोभिड –१९) ले जसरी दिनप्रति दिन मानव अस्तित्वलाई समाप्त पार्न खोज्दैछ । त्यसैगरी विश्वभरीका वैज्ञानिकहरु पनि यो महामारीबाट कसरी बच्न सकिन्छ भन्ने कोसिसमा लागी परेका छन् । यसले अहिले वैज्ञानिकहरुलाई ठूलै चुनौतीसँगै अवसर पनि दिएको छ । भोलिको मानव सभ्यतालाई जोगाई राख्न ! विश्व अर्थतन्त्रमा अहिले यो महामारीले पारेको असर र आगामी दिनमा निम्त्याउन सक्ने अवस्थाबारे सबै विश्वस्थ छन् । जसनुसार सबै आ–आफ्नो तयारीमा समेत लागि सकेका छन् । यस विषय परिस्थिति सबैभन्दा छिटो असर गर्ने र निराश भएर धरासायी हुने अवस्था आउने भनेको नयाँ सोच र जोस लिएर अगाडी बड्न खोज्ने ‘स्टार्ट अप्’ हरु नै हुन् । निराश अनि धरासायी हुन सक्ने अवस्थाहरु ? १. सिमित आर्थिक अवस्थाबाट सुरु गरिएको उद्योग, व्यापार भएको हुनाले धेरै दिनको बन्दले आर्थिक अवस्था नाजुक हुनु । २. बैंकको ऋणमा लाग्ने व्याजदरको भार । ३. दुख अनि धेरै मेहनत पछि जम्मा भएको एक परिवार जस्तै कर्मचारीहरुलाई सही सन्तुलन गर्न नसक्नु । ४. व्यापार विनाको खर्चको भार जस्तै : घर भाडा, बत्ति, इन्टरनेटको शुल्क भुक्तानी, कामदारको उचित ज्याला व्यवस्थापनमा समस्या । ५. दक्ष कामदारको अभाव । ६. शुरुदेखि सुरुवात गर्नुपर्ने अवस्था । यी त केही उदाहरण मात्र हुन् यस्ता धेरै कारण छन् जसले ‘स्टार्ट अप्’ हरुलाई निकै समस्या पर्न सक्ने पक्का छ । अहिले नै यसको बारेमा सोचेर सहि अनि सटिक योजना बनाउ सकिएन भने हामी जस्ता ‘स्टार्ट अप्’ हरुलाई स्टार्ट हुनु अगाडी नै इन्ड हुनलाई समय नलाग्ने पक्का छ । नयाँ जोश अनि जागरका साथ केहि गरौं भन्ने अठोट लिएका युवाहरुलाई अहिलेको अवस्थाले निराशंसँगै अब झन दिगो योजना सहित अगाडी बढ्ने अवसर पनि प्रधान गरेको छ । हामी यस अवस्थामा संयम भएर अगाडी बढ्नु जरुरी छ । यसरी बढौं अगाडी : १. सबैभन्दा पहिले आफुले आफैलाईआत्मविश्वासी बनाई अगाडी बढौं । २.हिजोका योजनाहरुमा हामी कहाँ पुगेका छौं त्यसमा रहेका बाकी कार्यलाई सम्पादनको योजना बनाउ । ३.सफल ब्यस्थापन गर्नको लागि आफ्नो टिमसंग अहिलेको अवस्था अनि आउनसक्ने समस्याको बारेमा छलफल गरौं । ४.आर्थिक अवस्था सबल बनाउन स–सानो तर दिर्घकालिन कार्य योजना बनाइ अगाडी बढौ । ५. आफ्नो कर्मचारीहरुलाई संयम बनाउन अनि आत्मबिश्वास बढाउन उचित योजना सहित प्रशिक्षण तथा तालिमको व्यवस्था गरौं । यसरी संयम अनि दिर्घकालिन योजना नै अबको दिनमा अगाडी बढ्ने एकमात्र उपाय हो । नेपाल सरकारले हामी जस्ता ‘स्टार्ट अप्’ हरुलाई यस्ता विषय परिस्थितिमा अगाडी बढ्न अनि आफ्नो योजना सफल बनाउन ठोस कदम चाल्न जरुरीरहेको अहिलेको बेला केहि दिर्घकालीन योजना ल्याउन सबैले पहल गर्नुपर्ने आवश्यकता रहेको छ ।