नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डबाट सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंक ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ अवार्डबाट सम्मानित भएको हो । अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ २०२१ जितेकाे थियाे । नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएको कारण आएएफसी र एसएमइद्वारा सम्मान प्राप्त गर्न सफल भएको हो । विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमईले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आएको छ । तीन दिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकका तर्फबाट सहभागी भएका बैंकका एसएमइ एण्ड एमएफका प्रमुख नीरजकुमार बस्नेत (दनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिङ्गो राष्ट्रका लागि गौरवको क्षण भएको बताए । देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उनले बताए । अन्तर्राष्ट्रिय सहभागीहरूबाट सिकेका कुराहरू र सफलताका कथाहरूले हामीलाई आगामी दिनमा अवसरहरू सिर्जना गर्न बाटो देखाएको उनको भनाई छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताए । उनले भने, ‘एसएमईको लागि लगानी कोष बढाउँदै जाने र अहिले एसएमई क्षेत्रले भोगिरहेको तरलता सङ्कटको समस्यालाई पहिचान गरी त्यसमा काम गर्नु नै नबिल बैंकको प्रमुख प्राथमिकता हो ।’ नवौँ ग्लोबल फाइनान्स फोरम असोज ३ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१) सम्म कम्बोडियाको नोप पेन्हमा आयोजना भएको थियो । यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो । विश्व अर्थतन्त्रको मेरूदण्ड एमएसएमइएस तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवद्र्धन, आपूर्ति श्रृङ्खला, दक्षता, डाटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवद्र्धन गर्न सकिन्छ भनेर खोजी गरेको थियो । कार्यक्रममा एसएमइको हरित वित्त क्षेत्रको प्रवद्र्धनमा आफ्नो दृष्टिकोण, विचारधार, अन्तरदृष्टि र अनुभवहरू प्रस्तुत गर्न विश्वव्यापी विचारधारा भएका नेताहरू, जलवायु वित्त अधिवक्ताहरू, प्रमुख विशेषज्ञहरू अभ्यासकर्ताहरूलाई निमन्त्रणा गरिएको थियो । यो अवार्ड असाधारण उपलब्धि हासिल गर्न सफल वित्तीय संस्थाहरू र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उत्पादन तथा सेवा दिने कम्पनीलाई प्रदान गरिदैँ आएको छ । त्यस्तै, एसएमई फाइनान्स फोरमका सिइयो म्याथ्यूु गम्सरले हरित एसएमई वित्तीय क्षेत्रमा पाचौँ अवार्ड विस्तार गरेको जानकारी दिए । उनले भने,’हामीले हरित वित्तीय लगानी ग्रिन फाइनान्सिङको क्षेत्रमा पाँचौँ अवार्ड पनि विस्तार गरेका छौँ, त्यसकारण पनि हुनसक्छ यस वर्ष ठूलो सङ्ख्यामा आवेदन पर्यो, हामीसँग पहिलेभन्दा धेरै वित्तीय उत्पादन र दृष्टिकोण भएका देशहरू छन्, यस अवार्डमा लगभग १०० निर्णायक मण्डलहरूले निष्पक्ष निर्णय गरेको थियो ।’ बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभवसँगै उच्च सर्मपित रहेको नबिल बैंकले देशभर २३३ शाखा र २६९ एटिएममार्पत सेवा प्रदान गरिरहेको छ ।

ग्लोबलको चलाखीले बैंकहरु तनाबमा, धमाधम ब्याज परिवर्तन गर्न थालेपछि स्पष्टिकरण सोध्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं । गत भदौ ३१ गते २६ वटा वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरे । सो दिन अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर निर्धारण गरेका थिए । तर, सोही दिन ग्लोबल आइएमई बैंकले १२.१३३ प्रतिशत ब्याजदर सार्वजिनक गर्यो । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले ३० गते असोजका लागि ब्याजदर खुला गर्ने निर्णय गर्यो । नेपाल राष्ट्र बैंकको नीति अनुसार १० प्रतिशतले मात्रै ब्याजदर बढाउन पाइने व्यवस्था छ । सोही व्यवस्था अनुसार कायम रहेको ११.०३ प्रतिशत ब्याजदरलाई १० प्रतिशतले बढाउँदै १२.१३ प्रतिशत कायम गरे । तर, ग्लोबल आइएमई बैंकले भने भदौ ३१ गते १२.१३३ प्रतिशत सार्वजनिक गर्यो । ग्लोबलको सो ब्याजदरपछि सीईओहरुको भाइबर ग्रुपमा तहल्का मच्चियो । सीईओहरुले ग्लोबललाई तत्काल ब्याजदर सच्याउन आग्रह गरिरहे । तर, ग्लोबलले घटाउने आश्वासन दिएपनि दुई/तीन दिनपछि पनि घटाएन । ग्लोबलले अटेर गरेपछि अन्य बैंकहरुले पनि निक्षेप खोसिने डरले तत्काल नयाँ ब्याजदर सार्वजनिक गर्न थाले । असोज ६ गतेसम्म २२ वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । तर, हालसम्म नबिल बैंक, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले भने ३१ गते सार्वजनिक गरेको ब्याजदरलाई यथावत राखे । अहिले बैंकहरुबीच यही विषयमा विवाद बढेको बुझिएको छ । ग्लोबल आइएमई बैंकले ब्याजदरमा चलाखी गरेपछि अन्य बैंकहरुले पनि सोही चलाखीलाई अनुसरण गरेका छन् । ग्लोबल आइएमई बैंकका डेपुटी सीईओ महेश ढकाल भने अन्य बैंकहरुले महिनामा दुई पटक ब्याजदर सार्वजनिक गरेर गलत गरेको धारणा राखे । उनी राष्ट्र बैंकको नियम अनुसार ११.०३ प्रतिशत ब्याजदरमा १० प्रतिशत जोड्दा १२.१३३ प्रतिशत हुने भएकाले दशमलव पछि ३ अंक राखिएको बताउँछन् । एनबिएले संस्थागत डिपोजिटहरुमा बिड राख्दा र कल डिपोजिटमा ३ वटा अंक राख्न पाउने भनेर व्यवस्था गरेको हुँदा निक्षेप खातामा पनि राखिएको उनको भनाइ छ । राष्ट्र बैंकको निर्देशन अनुसार दोस्रो पटक ब्याजदर सार्वजनिक गर्नु गलत भएको उनको तर्क छ । ‘राष्ट्र बैंकको नियम अनुसार अहिले भएको रेटमा १० प्रतिशत ब्याजदर बढाउन/घटाउन पाइन्छ, यसअघि ब्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर तोकिएको थियो, यसमा १० प्रतिशत जोड्दा १२.१३३ प्रतिशत हुने भएकाले दशमलव पछि ३ वटा अंक राखिएको हो, यसअघि पनि बैंकहरुले बिडहरुमा दशमलव पछि ३ वटा अंक राख्ने गरेका थिए, संस्थागत डिपोजिट र कल डिपोजिटमा ३ वटा अंक राख्न पाउने भनेर एनबिएले नै भनेको छ, कल डिपोजिटमा ३ वटा अंक राख्न पाउने भएपछि अन्यमा राख्न नपाउने भन्ने हुँदैन,’ उनले भने, ‘राष्ट बैंकको नियम अनुसार महिनाको एक पटक मात्रै ब्याजदर सार्वजनिक गर्न पाउँछ, अर्काे महिनाको लागि लागू हुने गरी मसान्तको दिन सार्वजनिक गर्ने भनिएको छ, जुनजुन बैंकले दोस्रो पटक सार्वजनिक गरे त्यो नियम संगत होइन ।’ यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले बैंकर्सहरुबीच दशमलव पछि दुइटा अंक मात्रै राख्ने सहमति भएको बताउँछन् । ग्राहकलाई आकर्षण गर्नका लागि अनेक छिद्र खोजेर बैंकिङ्ग क्षेत्रलाई बदनामी गर्न खोजेको उनको भनाइ छ । ग्लोबल आइएमई बैंकलाई सुरुमा सच्याउन भनेपनि नसच्याएपछि अन्य बैंकले पनि दशमलव पछि ३ अंक राखेर सार्वजनिक गर्नु परेको उनको भनाइ छ । ‘दशमलव पछि २ वटा अंक राख्न पर्ने सहमति भएको छ, ब्यक्तिगत खातामा १२.१३ प्रतिशत राख्नु पर्नेमा १२.१३३ प्रतिशत र संस्थागतमा १०.६३३ प्रतिशत राख्यो, यसरी एउटा बैंकले त्यस्तो गर्दा अन्य बैंकको निक्षेप पनि उसैले लग्ने भयो,बैंकलाई सच्याउन भन्दा पनि सच्याएन, बैंकले नसच्याएर बढी ब्याजमा बिड गर्न थाल्यो,’ उनले भने, ‘बैंकले दुइटा डिजिटमा राख्ने भन्ने सहमति तोडेको हो, एउटा बैंकले सच्याएको भए केही हुने थिएन तर अन्य बैंकलाई मुर्ख बनाउन खोजेको जस्तो देखिन्छ, अन्य बैंकले पनि त्यसरी नै सार्वजनिक गर्नु पर्ने भयो ।’ उनले राष्ट्र बैंकको सल्लाह अनुसार नै दोस्रो पटक ब्याजदर सार्वजनिक गरेको उनले बताए । बैंकलाई सच्याउन लगाउँदा फोन स्वीच अफ गरेर बस्दा आफूहरुले पनि दशमलव पछि ३ अंक राख्नु परेको उनले बताए । नियम अनुसार महिनामा २ पटक ब्याजदर बढाएर सार्वजनिक गर्न नपाउने भएपनि राष्ट्र बैंकको अनुमति लिएर नै सार्वजनिक गरेको उनले बताए । एक दुइटा बैंकका कारण समग्र बैंकिङ्ग क्षेत्र बदनाम हुनु परेको उनको भनाइ छ । केही बैंकहरुले ग्राहकलाई दुविधामा पारेर निक्षेप खोस्न खोजेको उनले बताए । ‘बैंकहरुले धमिलो पानीमा माछा मार्ने कोसिस गरिरहेका छन्, एकदुइ वटा बैंकले बैंकिङ्ग क्षेत्र बदनाम गरिरहेका छन्,’ उनले भने । कृषि, विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिभिल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, प्राइम बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक र एनआईसी एशिया बैंकले पनि दोस्रो पटक ब्याजदर बढाएर सार्वजनिक गरेका छन् । राष्ट्र बैंक भन्छन : हेरिरहेका छौं, उचित एक्सन लिन्छौं राष्ट्र बैंकले वाणिज्य बैंकहरुले पछिल्लो समय गरिरहेको अभ्यास नियालिरहेको बताएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिभिजनका प्रमुख देवकुमार ढकाल महिनामा एक पटक मसान्तको दिन मात्रै अर्को महिनाको लागि ब्याजदर सार्वजनिक गर्नु पर्ने व्यवस्था भएपनि बैंकहरुले एक÷दुई दिनको फरकमा दुई पटक ब्याजदर सार्वजनिक गरेकोप्रति राष्ट्र बैंक जानकार भएको बताए । तर, बैंकहरुले कुन आधार र कारणले दोस्रो पटक सार्वजनिक गरेका हुन् भन्ने एकिन हुनु पर्ने उनको धारणा छ । राष्ट्र बैंकको नीति अनुसार महिनाको एक पटक मात्रै ब्याजदर सार्वजनिक गर्नु पर्ने व्यवस्था भएको बताउँदै उनले बैंकहरुले स्पष्ट रुपमा लेखेर ग्राहकलाई जानकारी दिनु पर्ने धारणा राखे । ‘राष्ट्र बैंकको निर्देशन अनुसार महिनामा दुई पटक ब्याजदर सार्वजनिक गर्न मिल्दैन तर के आधार र कारण दोस्रो पटक सार्वजनिक गरेको हो भनेर खोज्नु पर्छ, अहिलेसम्म कम्प्लेन आएको छैन, कम्प्लेन आयो भने हेर्छाै,’ उनले भने, ‘मौखिक रुपमा कुनै पनि अनुमति राष्ट्र बैंकले दिँदैन, राष्ट्र बैंकले निर्देशनमा अनुमति दिने हो, बैंकहरुले दुविधा पारेर ग्राहक तान्न पाउँदैन, स्पष्ट रुपमा नाम तोकेर राख्नु पर्छ ।’ अन्य मुद्दतीभन्दा एक प्रतिशत बढी ब्याजदर दिएको छ भने सामान्य भाषामा रेमिट्यान्स एफडी हो भनेर बुझिने उनले बताए । तर, स्पष्ट रुपमा लेख्नु पर्ने उनको भनाइ छ । कसैले दोस्रो दिन स्पष्ट लेखेर सच्याउन पाउने उनको भनाइ छ । ब्याजदर सार्वजनिक गर्दा तेस्रो अंक राखेको आफूले नदेखेको उनले बताए । ‘सामान्यतःबैंकिङ्ग क्षेत्रमा ब्याजदरमा दशमलवपछि तेस्रो अंक लेख्ने प्रचलन थिएन, दशमलव पछि तेस्रो, चौंथो अंक हुन्छ तर लुकेको हुन्छ, त्यो एप्लिकेवल बनाउने हो भने सिस्टमले क्याल्कुलेशन गर्छ, एप्लिकेबल नबनाउने र राउण्ड अप गरेर सार्वजनिक गर्ने हो भने २ अंक मात्रै कार्यान्वयनमा आउँछ,’ उनले भने ।

वार्षिकोत्सवमा सनराइज बैंकले नेपाल बाल संगठनका बाल बालिकालाई दियो नयाँ लुगा

काठमाडाैं । सनराइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ । बिहिबार नक्साल स्थित नेपाल बाल संगठनमा भएको एक कार्यक्रममा बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपानेलाई उक्त सामानहरु हस्तान्तरण गरेकी हुन् । सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गदै आएकोमा बैकले यस वर्ष आउँदै गरेको दशैंलाई मध्यनजर गरी बालबालिकाको लागि नयाँ कपडा सहयोग गरेको हाे । बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले बताइन् । बैकले १५औ वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा बिभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउँदै छ ।