बैंकरले दशैंतिहारमा १६ दिन घर बस्न पाउने, यी हुन् विदा हुने दिन

काठमाडौं । आज (शुक्रबार) नवरात्रको पाँचौँ दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । राजधानी काठमाडौंबाट दशैं मनाउनका लागि गाउँ फर्किनेहरुको पनि बसपार्क र विमानस्थलमा भीड लागेको छ । योसँगै विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु पनि गाउँ फर्किन थालेका छन् । नयाँ आर्थिक वर्षको पहिलो त्रैमासको चटारोमा रहेका धेरै बैंकरहरु दशैं मनाएर चाँडै अफिस फर्किने योजनामा छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि विदाको सूचना सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुका लागि दशैं तथा तिहारमा कुल १६ दिन घर बस्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ क्यालेण्डर अनुसार दशैंमा ७ दिन, तिहारमा ५ दिन र एक दिन छठका लागि विदा दिइएको छ । तर, त्यसबिचमा तीन दिन शनिबार परेकोले बैंकरले कुल १६ दिन विदा मनाउन पाउने भएका हुन् । दशैंको घटस्थापनामा एक दिन र त्यसपछि १६ गते अर्थात् आगामी आइतबारदेखि २१ गतेसम्मका लागि सार्वजनिक विदा निर्धारण गरेको छ । १६ गतेदेखि दशैं विदा भएपनि १६ गतेको अघिल्लो दिन अर्थात् भोलि (१५ गते) शनिबार छ । त्यसैले पनि उनीहरु भोलिदेखि विदा मनाउन पाउनेछन् । यस्तै, दशैं सकिएपछि तिहारमा पनि बैंकर्सले पाँच दिन विदा पाउनेछन् । कात्तिक १० गते भाइटिका छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्म राष्ट्र बैंकले बैंकका तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि विदा निर्धारण गरेको छ । तर, कात्तिक १२ गते शनिबार परेको छ । १२ गतेपछि अर्थात् कात्तिक १३ गते छठ पर्व छ । सो दिन पनि राष्ट्र बैंकले सार्वजनिक विदा दिएको छ ।

हिमालयन बैंकका कार्डबाहकलाई विशेष सुविधा दिँदै भिस्तारा एयरलाइन्स

काठमाडौं । भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका कार्डबाहकलाई विशेष सुविधा दिने भएको छ । सो सम्बन्धमा हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच असोज १३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रायोरिटि चेक इन सुबिधा प्रदान गर्ने भएको छ । यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जवल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका हुन् । बैंकले हाल कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६ हजारभन्दा बढी पीओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकाड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो । यसैगरी, भिस्तारा एयरलाइन्स भारत भित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा वायुयानहरु बाट दैनिक २५० भन्दा बढी उडानहरु संचालन गर्दै आएको छ ।

जग्गाको कित्ताकाट नक्सा बोकेर बैंक जानु नपर्ने, अब डिजिटल प्रणालीबाटै काम हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुको जग्गाको कित्ताकाटसम्बन्धी विवरणका लागि डिजिटल प्रणाली प्रयोगमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै अनलाइन प्रणाली ‘मेरो कित्ता प्रणाली’मार्फत् सेवा लिन निर्देशन दिएको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स , लघुवित्त र पूर्वाधार विकास बैंकलाई एक निर्देशन जारी गर्दै बैंकिङ्ग प्रयोजनका लागि नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा लिने कार्यलाई डिजिटल प्रणालीमार्फत सम्पन्न गर्न निर्देशन दिएको हो । ‘कुनै वित्तीय संस्थाबाट जग्गाको पूर्ण विवरणसहितको आधिकारिक पत्रसाथ आधिकारिक व्यक्ति नापी कार्यालयमा उपस्थित भइ नियमानुसार राजश्व बुझाई नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा उपलब्ध गराउँदै आएको थियो, नापी विभागबाट हालै सञ्चालनमा ल्याइएको अनलाईन प्रविधिमा आधारित मेरो कित्ता प्रणालीमार्फत् सेवा लिन सक्ने व्यवस्था मिलाइएकाले उक्त प्रणालीमार्फत् सेवा लिन सम्बन्धित संस्थाहरुले यूजर एकाउन्ट लिई ‘डिजिटल प्रणालीमार्फत् जग्गाको नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ को अनुसूची ४ बमोजिमको ढाँचामा निवेदन अपलोड गरी अनलाइन प्रणालीमार्फत् कित्ता नापी नक्सा, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानीलगायतका सेवाहरु नापी कार्यालयमा उपस्थित नभइ प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको छ,’ परिपत्रमा भनिएको छ ।