काठमाडौं । आज (शुक्रबार) नवरात्रको पाँचौँ दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । राजधानी काठमाडौंबाट दशैं मनाउनका लागि गाउँ फर्किनेहरुको पनि बसपार्क र विमानस्थलमा भीड लागेको छ ।योसँगै विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु पनि गाउँ फर्किन थालेका छन् । नयाँ आर्थिक वर्षको पहिलो त्रैमासको चटारोमा रहेका धेरै बैंकरहरु दशैं मनाएर चाँडै अफिस फर्किने योजनामा छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि विदाको सूचना सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुका लागि दशैं तथा तिहारमा कुल १६ दिन घर बस्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ क्यालेण्डर अनुसार दशैंमा ७ दिन, तिहारमा ५ दिन र एक दिन छठका लागि विदा दिइएको छ । तर, त्यसबिचमा तीन दिन शनिबार परेकोले बैंकरले कुल १६ दिन विदा मनाउन पाउने भएका हुन् । दशैंको घटस्थापनामा एक दिन र त्यसपछि १६ गते अर्थात् आगामी आइतबारदेखि २१ गतेसम्मका लागि सार्वजनिक विदा निर्धारण गरेको छ । १६ गतेदेखि दशैं विदा भएपनि १६ गतेको अघिल्लो दिन अर्थात् भोलि (१५ गते) शनिबार छ । त्यसैले पनि उनीहरु भोलिदेखि विदा मनाउन पाउनेछन् ।
यस्तै, दशैं सकिएपछि तिहारमा पनि बैंकर्सले पाँच दिन विदा पाउनेछन् । कात्तिक १० गते भाइटिका छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्म राष्ट्र बैंकले बैंकका तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि विदा निर्धारण गरेको छ । तर, कात्तिक १२ गते शनिबार परेको छ । १२ गतेपछि अर्थात् कात्तिक १३ गते छठ पर्व छ । सो दिन पनि राष्ट्र बैंकले सार्वजनिक विदा दिएको छ ।