कर्मा रेसिडेन्सिजका ग्राहकलाई मुक्तिनाथ विकास बैंकले सहज आवास कर्जा दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । यस समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्ड बमोजिम आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थपेर अधिकतम ३० वर्षको अवधिका लागि आवास कर्जा प्राप्त गर्न सक्नेछन् । यस सहकार्यबाट कर्मा रेसिडेन्सिजका परियोजनामा घर तथा अपार्टमेन्ट खरिदकर्तालाई वित्तीय स्रोत जुटाउन थप सहज हुने अपेक्षा गरिएको छ । कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको कानूनी तथा प्राविधिक परीक्षण र बैंकको नीति अनुसार उपलब्ध गराइने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।
नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमा सम्झौता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंकमा कार्यरत कर्मचारीको जीवन बीमा गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई जीवन बीमा सुविधा उपलब्ध गराइनेछ । यसबाट कर्मचारीको जीवन तथा आर्थिक सुरक्षालाई थप मजबुत बनाउन सहयोग पुग्ने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् । सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले कर्मचारीको सुरक्षा, कल्याण र दीर्घकालीन हितका लागि जीवन बीमाको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । नेशनल लाइफले ग्राहक तथा संस्थागत साझेदारको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सिटिजन्स बैंकले सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको ५२१औँ सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । बैंकले २०८३ असार मसान्तको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशत अर्थात् ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशत अर्थात् ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ । बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकका अनुसार २०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै सेयरधनीलाई निरन्तर लाभांश दिँदै आएको छ । बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ । प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत पुग्ने बैंकले जनाएको छ ।