कुमारी बैंकको १२.५० प्रतिशत लाभांश आज पारित हुँदै
काठमाडौं । कुमारी बैंकको २२औं वार्षिक साधारण सभा आज कात्तिक २१ गते सोमबार हुँदैछ । बैंकको असोज ३० गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको थियो । सोही निर्णय अनुसार आज बैंकको साधारण सभा बस्ने भएको हो । बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्न लागेको हो । यस्तै, बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको यस बैंकले सभामार्फत मर्जरसम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तिायारी प्रदान गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १४ गते एक दिन बुक क्लोज गरेको थियो । मर्जर प्रयोजनार्थ असोज ११ गतेदेखि बैंकको सेयर कारोबार भने रोक्का रहेको छ । असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त सेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
यी हुन् लाभांश घोषणा गर्ने ९ बैंक, कुनको कति ?
काठमाडौं । आइतबर एभरेष्ट बैंकको सेयर लाभांश घोषणा भएसँगै लाभांश घोषणा गर्ने बैंकको संख्या ९ पुगेको छ । कात्तिक २० गतेसम्ममा लाभांश घोषणा गर्नेमा एक पूर्वाधार बैंकसहित ८ वटा वाणिज्य बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । स्ट्याण्डर्ड चार्टर्ड, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, ग्लोबल आइएमई, कुमारी, एनसीसी, सानिमा र नेपाल इन्फ्रास्ट्रकचर बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण गर्ने प्रकृया अघि बढाएका हुन् जसमा सिटिजन्स बैंकको भने पारित भइसकेको छ । हालसम्म लाभांश घोषणा गर्नमा अफ काठमाण्डू सबैभन्दा धेरै लाभांश घोषणा गर्ने बैंकमा परेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यद्यपि यो लाभांश गत वर्षकोभन्दा कम हो । बैंकले गत वर्ष १२.५ प्रतिशत बोनश सेयर र १२.५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश घोषणा गरको थियो । बढी लाभांश घोषणा गर्ने दोस्रो बैंकमा एभरेष्ट बैंक देखिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको शुक्रबार, कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सर्वाधिक लाभांश घोषणा गर्ने बैंकको तेश्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको यो लाभांश दुई वर्ष यताकै उच्च हो । बैंकले यसअघि १० प्रतिशत बोनश सेयर र ३.६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, चौथो स्थानमा ग्लोबल आइएमई बैंक छ । यस बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३।६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र करसहित १०.६ प्रतिशत नगद लाभांश) घोषणा गरेको हो । सर्वाधिक लाभांश घोषणा गर्ने पाँचाैं बैंकमा कुमारी रहेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले कार्त्तिक २१ गते साधारण सभा बोलाएको छ । यस्तै, एनसीसी बैंकले पनि हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो । सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो जुन बैंकको १६ औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि आफ्ना सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर १० गते शनिबार काठमाडौं अनुपम फुडल्यान्ड काठमाडौंमा बिहान ९ बजे साधारण सभा बोलाएको छ । सभाले ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्दै छ ।
कुमारी बैंकका सीईओले बुझे ४ करोड रुपैयाँ तलब
काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एक वर्षको अवधिमा ४ करोड रुपैयाँ तलब भत्ता बुझेका छन् । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा सीईओलाई ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्तामा वापत भुक्तानी गरेको हो । उक्त रकममध्ये बैंकका पूर्व कायमुकायम सीईओ अनुजमणी तिमिल्सेनाले ३ करोड ६४ लाख ९८ हजार रुपैयाँ र बैंकका सीईओ रामचन्द्र खनालले ४९ लाख ७३ हजार रुपैयाँ बुझेका हुन् । बैंकले तलब बापत ९५ लाख ४८ हजार १८८ रुपैयाँ, भत्ता बापत १६ लाख ८७ हजार ७११ रुपैयाँ, संचय कोष बापत ९ लाख ५४ हजार ८१८ रुपैयाँ, दशैं भत्ता बापत १० लाख ६५ हजार ६८० रुपैयाँ, बिदा बापत ४० लाख ६३ हजार ७३६ रुपैयाँ, उपदान बापत २ लाख ४३ हजार ३६२ रुपैयाँ, बोनस बापत ३९ लाख ९२ हजार ४८१ रुपैयाँ र अन्य (स्वेच्छिक अवकाश भुक्तानी) बापत १ करोड ८३ लाख ५९ हजार ५८८ रुपैयाँ भुक्तानी गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा सीईओलाई २ करोड ३५ लाख ४५ हजार ९६८ रुपैयाँ तलब भत्ता वापत भुक्तानी गरेको थियो । यस्तै बैंकले व्यवस्थापकहरुलाई ४ करोड ५४ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । जसमा तलब बापत १ करोड १४ लाख ७६ हजार ६९४ रुपैयाँ, भत्ता बापत ३५ लाख ३९ हजार ३५३ रुपैयाँ, संचयकोष बापत ११ लाख ४७ हजार ६६९ रुपैयाँ, गाडी मर्मतका लागि ५६ लाख २७ हजार १८ रुपैयाँ, औषधी उपचारबापत ७ लाख २७ हजार ७८३ रुपैयाँ, दशैं भत्ता बापत १४ लाख ३४ हजार ९८६ रुपैयाँ, बिदाका लागि २८ लाख ४५ हजार ३२१ रुपैयाँ, उपदान बापत २६ लाख ५७ हजार ३४४ रुपैयाँ, कर्मचारी बोनस बापत ५० लाख ९८ हजार ७७३ रुपैयाँ र अन्य (स्वेच्छिक अवकाश भुक्तानी) बापत १ करोड ८ लाख ८३ हजार ५९ रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकले तलब तथा भत्ता कार्यकारी अधिकृत तहदेखि सहायक महाप्रवन्धक तह सम्मका लागि प्रदान गरेको बताएको छ । जसमा आर्थिक वर्ष २०७८/७९ मा बैंक छोडेर जाने तथा नयाँ भर्ति भइ आउने कर्मचारीहरुले आफ्नो कार्यकालमा प्राप्त गरेको तलब तथा भत्ता समेत समावेस गरिएको बैंकले जनाएको छ । गत माघ २४ गतेसम्म अनुज मणि तिमिल्सिना कायमुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए । त्यसपछि बैंकले गत बैशाख १३ गते रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । गत वर्षको माघ २४ गतेदेखि गत बैशाख १३ गतेसम्म खनाल कायमुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।