कुमारी बैंकको रणनीति : मर्जरपश्चात् ‘नम्बर वान’ बन्ने, पुसभित्रै एकिकृत कारोबार
काठमाडौं । कुमारी बैंकको वार्षिक साधारणसभाले एनसीसी बैंकसँग मर्जरमा जानका लागि अख्तियारी दिएको छ । बैंकको सोमबार भएको २२औं वार्षिक साधारणसभाले विशेष मर्जरमा जानका लागि अख्तियारी दिएको हो । कुमारी र एनसीसी बैंकले गत असोज ९ गते मर्जर सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार कुमारी बैंकको साधारणसभाले मर्जरको सम्झौता अख्तियारी दिएको हो । दुवै बैंकले मर्जरका लागि राष्ट्र बैंकबाट स्वीकृति पनि पाइसकेका छन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको थियो । दुबै बैंकले पुस १७ गतेभित्र एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । एनसीसी बैंकले पनि मर्जर सम्झौता पारित गर्नका लागि मंसिर २ गते साधारणसभा बोलाएको छ । यस्तै, सोमबार बसेको बैंकको साधारणसभाले लाभांश पनि पारित गरेको छ । साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरिसकेको छ । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा राणाले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताउँदै डीडीए रिपोर्ट पनि छिट्टै आउने धारणा राखे । ‘अहिले मर्जरका लागि सुपर फाष्टमा काम भइरहेको छ, पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकिकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढेको छ, केही दिन भित्र डिडिए रिपोर्ट आउँछ,’ उनले साधारणसभामा उठेका प्रश्नको जवाफ दिँदै भने । यस्तै, उनले कुमारी बैंकले राष्ट्र बैंकले प्राथमिकतामा राखेको क्षेत्रमा फोकस गरेर कर्जा प्रवाह गरिरहेको बताउँदै आजको दिनमा कुमारी बैंक सुरक्षित रहेको पनि धारणा राखे । उनले अब भोलिदेखि नै सेयरधनीकोे खातामा लाभांशको रकम जम्मा गर्ने बताउँदै आगामी दिनमा सकेसम्म बढी लाभांश वितरणमा ध्यान दिने बताए । ‘बैंककाे क्यापिटल एडुकेसी १३ प्रतिशत पुगेको छ, राष्ट्र बैंकको नीति अनुसार ११ प्रतिशत भए पुग्छ, यस पटक तरलता सहज पार्नका लागि नगद लाभांश दिएको हौं, आगामी दिनमा पनि लाभांशको दर बढाउँदै जाने हाम्रो योजना छ,’ अध्यक्ष राणाले भने । उनले ठूला बैंकहरुसँग प्रतिस्पर्धा गर्नैका लागि भएपनि मर्जर सम्झौता गरेको धारणा राखे । उनले अब कुमारी बैंक नम्बर वान बैंक बन्ने रणनीतिका साथ अगाडि बढेको उनको धारणा छ । उनले कुमारी बैंकले दिनप्रतिदिन प्रगति गर्दै गएको धारणा राख्दै एनसीसी बैंकसँग मर्जरपश्चात नम्बर वान बैंक हुने किसिमले काम हुने बताए । ‘विगत दुइ वर्षसम्म कमजोर रहेको बैंक अहिले टप टेनमा छौं, अब नम्बर वान बैंक बन्ने लक्ष्य हो, यसलाई छिट्टै पूरा गर्ने छौं,’ उनले भने । दुई बैंक मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारीका सीईओ रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । यस्तै, गत असारसम्ममा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । यस्तै, कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कूल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । यस्तै, कुमारी बैंकको कर्जा १ खर्ब ५३ अर्ब ३६ करोड ८ं९८ लाख १२ हजार रुपैयाँ र एनसीसी बैंकको कर्जा १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ गरी कूल २ खर्ब ७४ अर्ब ५६ करोड २ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । यस्तै, गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ र खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ गरी कूल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बिजनेसमा बढ्दो ग्राफ बैंकको विगतका वर्षहरुको वित्तीय परिसूचकहरु सकारात्मक, व्यवस्थित तथा प्रगति उन्मुख रहेका छन् । हालका वर्षहरुमा आएर निष्क्रिय सम्पत्तिहरू निक्कै नै व्यवस्थित भएको छ भने बैंकको व्यापार व्यवसायहरु जोखिमको उचित मूल्यांकन गर्दै सीमित दरमा वृद्धि भैरहेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा, निक्षेप तथा लगानी क्रमशः १०.९० प्रतिशत, १६.४० प्रतिशत र १.५० प्रतिशतले वृद्धि भई १५९ अर्ब ४४ करोड, १८२ अर्ब ९६ करोड र २३ अर्ब ४२ करोड रुपैयाँ पुग्न गएको छ । यसैगरी खुद ब्याज आम्दानी २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने संचालन खर्च कुल ११.२९ प्रतिशतले वृद्धि भई ३ अर्ब ५५ करोड रुपैयाँ हुन पुगेका छ । आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा २५.५२ प्रतिशतले बृद्धि भई ४ अर्ब ३६ करोड रुपैयाँ हुन पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड रुपैयाँ रहेको खुद नाफा आर्थिक वर्ष २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि राम्रो प्रगति गरेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कुमारी बैंकको कुल कर्जा १ खर्ब ४३ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षको अन्त्यमा १०.९० प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ पुगेको देखिन्छ । बैंकले आफ्नो कर्जा तथा सापटीलाई विविधिकरण गर्दै व्यक्तिगत कर्जा, शिक्षा कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, कृषि तथा उत्पादनशील कर्जा, विपन्न वर्ग कर्जा, संस्थागत कर्जा तथा विकास परियोजना क्षेत्रमा कर्जा प्रदान गर्दै आएको विभिन्न तथ्यांकहरुले देखाउँछ । समीक्षा अवधिमा बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.११ प्रतिशत रहेको छ । समीक्षा वर्षमा कर्जा लगानीमा वृद्धि भएता पनि उल्लेख्य मात्रामा समस्याग्रस्त कर्जाहरुको असुली भएको बैंकले जनाएको छ । बैंक आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा तथा लगानीबाट प्राप्त ब्याज आम्दानी ४३.६६ प्रतिशतले वृद्धि भई १८ अर्ब ३५ करोड रुपैयाँ पुग्न गएको छ भने ब्याज खर्च ५७.६५ प्रतिशतले वृद्धि भई १२ अर्ब १३ करोड रुपैयाँ पुगेको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानी करिब २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको बैंकको संचालन नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५.५२ प्रतिशतले वृद्धि भई ४ अर्ब ३६ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड ७ लाखरुपैयाँ रहेको कमाुरीको खुद नाफा आर्थिक वर्ष. २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यस्ता छन् बैंकको वित्तीय योजना बैंकले आगामी दिनमा थप शसक्त रुपमा अघि बढ्नका लागि विभिन्न वित्तीय योजनाहरु अगाडि सारेको छ । बैंकले चालू आर्थिक वर्षमा बैंकको कर्जा तथा लगानी क्रमशः १३.०९ प्रतिशत र ६०.३४ प्रतिशतले वृद्धि गरि १८० अर्ब ३१ करोड रुपैयाँ र ३७ अर्ब ५५ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । यसैगरि बैंकको कुल निक्षेप ६.३३ प्रतिशतले वृद्धि गरी १९४ अर्ब ५४ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । बैंकको खुद ब्याज आम्दानी १८.४२ प्रतिशत तथा अन्य संचालन खर्च ८.१७ प्रतिशतले वृद्धि भै क्रमशः ७ अर्ब ३६ करोड र ३ अर्ब ८४ करोड रुपैयाँ रुपैयाँ पुग्ने अनुमान बैंकको छ । बैंकको संचालन मुनाफा १७.४३ प्रतिशतले वृद्धि गरी ५ अर्ब १३ करोड पुग्ने अनुमान रहेको छ । यस्तै, समीक्षा वर्षमा बैंकको निष्क्रिय कर्जा अनुपात बिगत वर्षभन्दा केहि वृद्धि भई १.११ प्रतिशतमा रहेको छ । चालू वर्षमा निष्क्रिय कर्जाहरु असुली गराउने तर्फ प्रयास भई रहेको छ । यस प्रकार चालु वर्षमा बैंकको खुद मुनाफा २८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३० करोड २२ लाख पु¥याउने लक्ष्य कुमारी बैंकको छ । यस्तै, बैंकलाई सवल र सुदृढ बनाउन बैंकको सम्पत्तीको गुणस्तर वृद्धि गर्ने र यसलाई कायमै राख्ने, बंैकको कर्मचारीहरुको उत्पादकत्व वृद्धि गर्ने, बैंकलाई नाफामुखी बनाउनुका साथसाथै ग्राहकहरुलाई सर्वसुलभ गुणस्तरीय सेवा पु¥याउने यस बैंकका योजना रहेको अध्यक्ष राणाको भनाइ छ । ग्राहकहरुको जीवन सरल र सुलभ बनाउन आधुनिक सेवा तथा सुविधाको विकास गरी वित्तीय क्षेत्रको सुधारमा योगदान पु¥याउने, वित्तीय पहुँच नभएको जनसंख्यालाई बैकिङ्क परिधिभित्र ल्याउने, साना तथा मझौला व्यवसायहरुलाई ऋण प्रदान गरी देशको समग्र आर्थिक विकासमा टेवा पु¥याउने यस बैंकको कार्य योजना बैंकको छ । देशको परिस्थितिलाई मध्यनजर गर्दै थप शाखाहरु विस्तार गर्दै जाने, बैंकको उपस्थिति नभएका क्षेत्रहरुमा कुमारी मोवाईल बैंकिङ्ग, शाखा रहित बैंकिङ्ग सेवा मार्फत् बैंकिङ्ग सेवा उपलब्ध गराउने, आफ्नो प्रविधि तथा सेवालाई विस्तार गरी प्रतिस्पर्धात्मक बैंकिङ्ग सेवा उपलब्ध गराउने कार्यक्रमहरु तथा योजनाहरु बैंकले अघि सारेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक र दराजबीच दराजको ११ः११ अफरमा बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराज अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म भएका छन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दैआएको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
कडाइका बीच पनि बैंकहरुले घरजग्गा कर्जा बढाउँदै, ब्याज पनि सस्तो
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् घरजग्गा क्षेत्र केही कडाइ गरेपनि बैंक तथा वित्तीय संस्थाहरुले भने घरजग्गा कर्जा बढाउँदै लगेका छन् । सरकार र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पनि घरजग्गा कर्जामा कडाइ गरेपनि बैंकहरुले पनि मासिक रुपमा कर्जा बढाउँदै लगेका हुन् । घरजग्गा व्यवसायीहरुले तरलताको अभाव देखाउँदै बैंकहरुले कर्जा नदिएको र घरजग्गा कारोबार सुस्ताएको भनेपनि बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा व्यवसायमा मासिक रुपमा लगानी बढाउँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकका अनुसार भदौमा नै बैंकहरुले घरजग्गा व्यवसायमा सबैभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यसअघि साढे १ खर्बको हाराहारीमा घरकर्जा लगानी गर्ने बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा २ खर्ब बढी लगानी गरेका हुन् । यसले पनि घरजग्गा व्यवसायीहरुले कर्जा पाइरहेको र खासै समस्या पनि नभएको देखिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले भदौमा २ खर्ब २७ अर्ब २५ करोड ९० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका छन् । गत वर्षको भदौको तुलनामा यो कर्जा ३७.२० प्रतिशत बढी हो । गत वर्षको भदौमा बैंकहरुले १ खर्ब ६५ अर्ब ६४ करोड १० लाख रुपैयाँ घरजग्गा कर्जा लगानी गरेका थिए । यस्तै, साउन महिनामा पनि बैंकहरुले २ खर्ब ११ अर्ब ५४ करोड २० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका थिए । गत वर्षको साउनको तुलनामा चालु आवको साउनमा बैंकहरुले २८ प्रतिशतले कर्जा बढाएको देखिएको छ । गत वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जामा १ खर्ब ६५ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कर्जा लगानीको बढाएसँगै भदौमा बैंकहरुले ब्याजदर पनि घटाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको साउनको तुलनामा भदौमा बैंकहरुले घरजग्गा कर्जाको ब्याज घटाएको देखिन्छ । साउन महिनामा बैंकहरुले औसत १२.४१ प्रतिशत ब्याजमा कर्जा दिएकोमा भदौमा भने औसतमा ११.८५ प्रतिशतमै कर्जा लगानी गरेको देखिएको छ । सरकारले गत जेठमा भूउपयोग नियामवली जारी गर्दै जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने नीतिले घरजग्गा कारोबारमा सुस्ताता आएको व्यवसायीहरुले बताउँदै आएका छन् । सरकारले हालका लागि कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा अनिवार्य वर्गीकरण गरेर मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा जाने कर्जामा केही कडाइ गरेको छ । यी नीतिगत व्यवस्थाले आफुहरुलाई बैंकको ऋण पाउनेदेखि घरजग्गा खरिदबिक्रीमा समस्या भएको उनीहरुको भनाइ छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा कारोबारको कुल मूल्याांकनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत धितोमा कर्जा पाइने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले जग्गा धितोमा राखेर कर्जा लगानी गर्न बन्द गरेसँगै कारोबार ठप्प भएको गुनासो उनीहरुको छ । तर, तथ्यांकले कर्जा बढी नै लगानी भएको देखिन्छ । नेपाल जग्गा तथा आवास विकास संघका महासचिव पुरुषोत्तम पौड्याल भने घरजग्गा व्यवसायीले ऋण नपाएको बताउँछन् । उनले राष्ट्र बैंकको तथ्यांकमा कर्जा लगानी बढेको भएपनि आफुहरुले कर्जा नपाएको उनको भनाइ छ । एक वर्षको अवधिमा बैंकहरुले २५ खर्ब ९६ अर्ब १८ करोड ९० लाख रुपैयाँ घरजग्गा कर्जा लगानी गरेका छन् ।