लघुवित्तको ब्याजमा लगाइएको १५%को क्याप खुकुलो पार्ने तयारी, आधारदर लागू होला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तको ब्याजमा लगाएको १५ प्रतिशतको क्याप खुकुलो पार्ने तयारी गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै सो क्यापलाई खुकुलो पार्ने गरी तयारी गरिरहेको हो । लघुवित्त संस्थाहरुले सो क्याप हटाएर लघुवित्त संस्थाहरुमा पनि आधारदर कायम गर्न आग्रह गरिहरेको बेला राष्ट्र बैंकले यस पटक भने सो विषयको सम्बोधन गर्ने किसिमले तयारी गरेको हो । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार १५ प्रतिशतको क्याप हटाउने तयारी भइरहेको छ । सो विषयमा अहिले लघुवित्तकर्मी र राष्ट्र बैंकबीच पनि छलफल भइरहेको छ । ‘लघुवित्तले १५ प्रतिशतभन्दा बढीमा ब्याज दिन पाउँदैनन्, मौद्रिक नीतिको प्रथम त्रैमासको समिक्षामा यो संशोधन हुन सक्छ, अहिले समग्र अर्थतन्त्र समस्यामा रहेको छ, वित्तीय क्षेत्रमा तरलताको अभाव छ, लघुवित्तपनि संयमित भएर काम गर्नुपर्छ, लघुविक्तलाई पनि समस्या पार्ने काम राष्ट्र बैंकले गर्दैन्,’ राष्ट्र बैंक स्रोतले भन्यो । बैंकिङ प्रणालीमा लगातार बढ्दो ब्याजदरको प्रभाव लघुवित्तमा देखिन लागेको भन्दै लघुवित्त संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरु राष्ट्र बैंक पुगेर कर्जाको ब्याजमा लगाइएको १५ प्रतिशतको क्याप हटाउन गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेका थिए । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले कर्जामा लिने ब्याजदर १५ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । तर, बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने ब्याजदर नै १५ प्रतिशत भन्दा माथि पुगेपछि लघुवित्तलाई काम गर्न सकस भएको भन्दै उनीहरु राष्ट्र बैंक पुगेर कर्जामा लगाइएको ब्याजको सीमा हटाएर आधारदरको व्यवस्था गर्न आग्रह गरिरहेका छन् । गत साता मात्रै नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीहरु राष्ट्र बैंक पुगेका थिए । उनीहरुले गभर्नर अधिकारीसँग छलफल गरेर उक्त माग राखेका थिए । गभर्नर अधिकारी पनि सो विषयमा सकारात्मक देखिएको बताइएको छ । उनीहरुले बैंकहरुको कर्जाको ब्याजदर १८ प्रतिशत पुगेको बताउँदै लघुवित्त संस्थाहरुले महँगो ब्याजदरमा ल्याएर १५ प्रतिशतमा कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको गभर्नरलाई ब्रिफिङ गभर्नर अधिकारी समक्ष माग गरेका थिए । लघुवित्तको भविष्य नै संकटमा परेकाले सहजीकरण गर्नुपर्ने माग गभर्नर अधिकारी समक्ष राखेको महुलि लघुवित्तका सीईओ गंगाधर पाण्डेले बताए । ‘हामीले १५ प्रतिशतमा लगानी गर्नुपर्छ, वाणिजय बैंकबाट नै विपन्न वर्ग अन्तर्गतको कर्जाको लागत १५ प्रतिशत भन्दा बढी छ, १५ प्रतिशतमा पनि नपाउने अवस्था छ, अहिले स्रोत एकदमै खुम्चिएको छ, स्रोतलाई सही ब्यवस्थापन गर्नुपर्ने माग हो, लघुवित्तको अवस्था चालू आर्थिक वर्षको पहिलो त्रैमासमा स्पष्ट देखिएको छ, अधिकांश संस्था नोक्सानीमा छन्, ऋणात्मक भएका छन्, ईपीएस गत वर्षको तुलनामा सबैको घटेको छ,’ उनले भने, ‘हाम्रो मागप्रति राष्ट्र बैंक सकारात्मक छ ।’ यस्तै, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत रहेका लक्ष्मी लघुवित्तका सीईओ प्रकाश राज शर्मा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशत पुर्याउँदा लघुवित्तको १५ प्रतिशत मात्रै रहेको बताउँछन् । लघुवित्त बैंकर्स संघले राष्ट्र बैंकमा लघुवित्तहरुले खेप्नु परेका विषयमा आफ्ना मागहरु राखेको बताउँदै उनले ब्याजदरलाई बजारमा खुला छोड्न समेत माग गरे । लघुवित्तहरुको अहिले भएको पोर्टफोलियो कायम राख्न गाह्रो भएको उनको भनाइ छ । लघुवित्तका जोखिम न्यूनीकरणमा जोड दिएर लघुवित्तले काम गरिरहेको उनले बताए । वाणिज्य बैंकहरुले लघुवित्तलाई दिनुपर्ने कर्जाको भार मध्ये ५ प्रतिशतबाट ७ प्रतिशत पुर्याउनु पर्ने उनको माग छ । ‘वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई बजारमा जसरी छोडिएको छ, त्यसैगरी लघुवित्तलाई पनि छोड्नुपर्छ, अहिले लघुवित्तको आधारदर १५ प्रतिशतमाथि छ, यस विषयमा राष्ट्र बैंक पनि सकारात्मक छ, ब्याजदरलाई खुला छोड्यो भने बजारले आफै निर्धारण गर्छ, हामीलाई अनियन्त्रित प्रिमियम चाहिएन, आधारदर प्लस ४ प्रतिशत मात्रै भएपनि हुन्छ तर बजारमा प्रभाव परेपनि नपरे पनि १५ प्रतिशतको क्याप छ,’ उनले भने । यस्तै, नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल पनि यस विषयमा राष्ट्र बैंकले केही सोचेको धारणा राख्छन् । राष्ट्र बैंकले बजारलाई अध्ययन गरेर नीति बनाउँछ, हाम्रो नीति अर्थतन्त्रले सघाउ पुग्छ कि पुग्दैन सो विषयमा पनि सोच्छौं,’ उनले भने,‘लघुवित्तको समस्या पनि हामीले बुझेका छौं ।’ चालू मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंकहरुले लघुवित्तलाई दिने थोक कर्जामा आधार ब्याजदर (बेस रेट) मा २ प्रतिशत प्रिमियम थप गरी लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।
एनएमबि बैंकले ऋण चुक्ता नगर्ने जि.सी व्यापार केन्द्रको घरजग्गा बिक्री गर्दै
काठमाडौं । भैरहवामा दर्ता भएको जि.सी व्यापार केन्द्रले बैंकबाट लिएको ऋण चुक्ता नगरेको हुँदा धितो लिलाम गर्ने भएको हो । जि.सी व्यापार केन्द्रले सम्पत्तिहरू धितो सुरक्षण राखी बिभिन्न कर्जा शिर्षक अन्तर्गत कर्जा लिएकोमा तोकिएको म्याद भित्र कर्जा भुक्तानी नगरेको र कर्जा भुक्तानी गर्न बैंकले बारम्बार ताकेता गर्दा पनि ध्यान नदिएको हुँदा धितो सुरक्षणमा राखिएको सम्पत्तिहरू लिलाम बिक्री गर्ने भएको हो । बैंकले यसअघि पनि धितो लिलाममा राखेको भएपनि सम्पत्तिहरू बिक्री हुन नसकेकोले पूनः धितो सुरक्षणमा रहेको सम्पत्तिहरू गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम बिकि गरिने बैंकले जनाएको छ । बैंकको सुरक्षणमा रहेको सम्पतिहरू खरिद गर्न इच्छुकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कर्जा असूली विभागमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । ८ औ दिनका दिन अर्थात मंसिर ८ गते १ बजे बैंकको कर्जा असूली विभागमा गोप्य शिलबन्दी खोलिने छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ बस्ने ओम बहादुर जि.सी.को नाममा रहेको कित्ता नम्बर ३६ र २१९ को क्षेत्रफल क्रमशः ३०५.०७ र ७५३.१० वर्गमीटरको जग्गा र जग्गामा बनेको घरटहरा लगायत सम्पूर्ण सम्पत्ति बिक्रीमा राखेको हो ।
नेपाल बैंकको स्थापना दिनलाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गर्न माग
काठमाडौं । नेपाल बैंकका कर्मचारीहरुले नेपाल बैंकको स्थापना दिनलाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गर्न माग गरेका छन् । बैंकको ८६ औं वार्षिकोत्सवका अवसरमा बोल्दै नेपाल बैंकमा रहेका कर्मचारी संगठनहरुका अध्यक्षहरुले कात्तिक ३० अर्थात् नेपाल बैंक स्थापना भएको दिनलाई ‘राष्ट्रिय बैंक दिवस’ घोषणा गर्न माग गरेका हुन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल बैंकका अध्यक्ष गोबिन्द प्रसाद सुवेदीले नेपाल बैंक स्थापना भएको दिनलाई राष्ट्रिय बैंक दिवस घोषणा गर्न माग गरे । वित्तीय तिक्तताको अवस्थाबाट नेपालमा बैंकिङ सेवा सुरु गरेको नेपाल बैंकको स्थापना दिनलाई बैंकिङ दिवसका रुपमा घोषणा गर्न उनको माग छ । ‘देशको कुनाकन्दरामा बैंकिङ सेवा दिएको नेपाल बैंकको स्थापना भएको १९९४ कात्तिक ३० (आज) को दिनलाई राष्ट्रिय बैंक दिवस घोषणा गर्नुपर्छ, आजको दिनलाई नेपाल बैंकको आगनमा मात्रै नभएर देशभर नै राष्ट्रिय बैंक दिवस मनाउन सकियोस्,’ उनले भने । हिजोका दिनमा बैंक खोज्दै ग्राहकहरु नेपाल बैंक आउने गरेको भएपनि पछिल्लो समय ग्राहक खोज्दै ग्राहकहरु माझ जानू परेको उनको भनाइ छ । बैंकले अहिले हासिल गरेका प्रगति र सूचकलाई यथावत राखी नेपालको नम्बर वान बैंक बनाउनतिर लाग्नु पर्ने उनले बताए । नेपाल बैंक कर्मचारी युनियनका अध्यक्ष अनिल तामाङ योन्जनले दशकौंसम्म पनि प्राप्त गर्न नसकेको सेवा सुविधा यो वर्ष प्राप्त गरेको भएपनि कर्मचारीहरुमा सन्त्रास रहेको बताए । ‘कर्मचारीमा सन्त्रास र दुविधा थपिएको छ, वर्षाैंदेखि खाईपाइ आएको सेवा सुविधा प्रफमेन्स बेस इन्सेटिभ लागू गरिएपछि भोलिका दिनमा कटौती हुने होकी भन्ने डर सबै कर्मचारीमा व्याप्त छ, भोलिका दिनमा उपलब्धिहरु गुमाउनु पर्याे भने कर्मचारीहरु आन्दोलित हुनेछन्, यसमा बैंकका उच्च ब्यवस्थापन समूह र सञ्चालकहरुले सम्बोधन गर्नुपर्छ,’ उनले भने । बैंक ब्यवस्थापन समूहले हरेक नीति निर्देशन लागू गर्दा बैंकभित्र सक्रिय रहेका कर्मचारी संगठनहरुसँग छलफल गर्न उनले आग्रह गरे । बजेट तथा नीति कार्यक्रमले निर्देशित गरिएको लक्ष विपरित बैंकले काम गरेको उनको भनाइ छ । ‘शाखा विस्तारमा केही समय स्थगन गर्नुपर्ने नीतिगत अस्पष्टता र अवरोध आयो, २५० शाखा पुर्याउने लक्ष राख्ने तर बीचमा शाखा विस्तार बन्द गर्ने निर्णय गरियो,’ उनले भने । नीति निर्माण गर्दा कमी कमजोरी भएको उनको बुझाइ छ । बैंकलाई कानुनीसँगै आर्थिक सल्लाहाकार राख्नुपर्ने आवश्यकता परेको होकी भन्ने जिज्ञासा राखे । उनले निर्णय प्रक्रियामा माथिल्लो निकायले हस्तक्षेप गर्दा कार्य सम्पादनमा प्रभाव पर्ने गरेको बताए । नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष जीबराज ढकालले बैंक बिकासका लागि कर्मचारी संघसंस्थाहरुले सहयोग गरिहरेको बताए । बैंकले कर्मचारी विरुद्ध कामबार्वाही गरेमा आन्दोलन गर्ने उनको भनाइ छ । बाजेको पालाको बैंकलाई नातिले पनि पहिलो बैंक नेपाल बैंक भनिरहनु पर्ने अवस्थामा पुर्याउनु पर्ने उनले बताए । नेपाल बैंक कर्मचारी संघका महासचिव बासुदेव भण्डारी लामो संघर्षपछि कर्मचारी विनियमावली आएपनि केही त्रुटी भएको र स्पष्ट नभएको बताउँछन् । विरोधावस कुराहरुलाई हटाउन उनले माग गरे । नियमावलीमा बैंक ब्यवस्थापन र ट्रेड युनियन सहमति विपरितका कुराहरु उल्लेख भएकाले संसोधन गर्नुपर्ने उनले बताए । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले कात्तिक ३० गतेको दिनलाई बैंकिङ्ग दिवसको रुपमा ग्रहण गर्न आग्रह गरे । बैंकिङ्ग दिवसको रुपमा ग्रहण गरेपछि बैंकिङ्ग उजागर हुने उनको बुझाइ छ । ‘सबै मिलेर यो दिनलाई दिवसका रुपमा मनाउने प्रयास गरौं, केन्द्रिय बैंकको रुपमा काम गरेको अनुभव पनि छ, सरकारी र निजी क्षेत्रको साझेदारीमा स्थापना भइ सञ्चालन भएको थियो, सरकारी ढुकुटी, सर्वसाधारण, साहु महर्जनको रकम राखेर बैंक स्थापना भएको थिया,’ उनले भने । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक स्थापना भएको दिनलाई राष्ट्रि बैंक दिवस घोषणा गर्ने पहलमा राष्ट्र बैंकको सकारात्मक रहेको बताए । नेपाल बैंकले पहल गर्याे भने आफूले सहयोग गर्ने उनले बताए । ‘तपाइहरुले पहल गर्नुहोस् नेपाल राष्ट्र बैंक र मेरो तर्फबाट हुन सक्ने पहल, सकारात्मक सोच हामी राख्ने छौं,’ उनले भने ।