मूल्यवृद्धिसँगै १२.३९ प्रतिशतले बढ्यो तलब

काठमाडौं । २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८.०८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको चार महिने तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनामा ६.०४ प्रतिशत रहेको यस्तो मुद्रास्फीति बढेर ८.०८ प्रतिशतमा पुगेको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्य सूचकाङ्क १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ । गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप-समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ कात्तिक महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मुद्रास्फीति रहेको थियो । थोक मुद्रास्फीति २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.६८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ५.६२ प्रतिशत, १३.४९ प्रतिशत र ४.६९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ११.८९ प्रतिशत रहेको छ । १२.३९ प्रतिशतले बढ्यो तलब २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.४७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.०३ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.१९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७९ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । सन् २०२२ नोभेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.८८ प्रतिशत रहेको छ ।

विदेशी मुद्राको सञ्चिति बढ्यो, चार महिनामै भित्रियो पौने ४ खर्ब बढी रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २.५ प्रतिशतले बढेर ०७९ कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको हो । जुन गत असारसम्ममा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । त्यस्तै, अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असारमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ । यस्तै, समीक्षा अवधिमा रेमिट्यान्समा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १,९५,१९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७,४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब १७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका सञ्चालकलाई २ करोड भत्ता, गभर्नर अधिकारीले बुझे ५० लाख

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नरसहित सञ्चालक समितिलाई झण्डै २ करोड रुपैयाँ बराबरको भत्ता वितरण गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समिति सदस्यहरुलाई ३९ लाख ५७ हजार ६ सय रुपैयाँ तलव, १८ लाख ९५ हजार रुपैयाँ बैठक भत्ता र १ करोड १३ लाख १ हजार ३११ रुपैयाँ अन्य सेवा सुविधा गरी कूल १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ । राष्ट्र बैंकका गभर्नरले गत वर्ष अवधिमा झण्डै ५० लाख रुपैयाँ पारिश्रमिक तथा तलव भत्ता बुझेका छन् । राष्ट्र बैंकको महाप्रसाद अधिकारीले गत आर्थिक वर्ष २०७८/७९ मा तलवभत्ता वापत ४९ लाख ५ हजार २५५ रुपैयाँ पारिश्रमिक बुझेका हुन् । गभर्नर अधिकारीले गत वर्ष तलव वापत १४ लाख १८ हजार ४ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता ३ लाख ५ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३१ लाख ८१ हजार ८५५ रुपैयाँ गरी कूल ४९ लाख ५ हजार रुपैयाँ बुझेका हुन् । गत वर्ष डेपुटी गभर्नरको तलव १२ लाद ६९ हजार ६ सय रुपैयाँ रहेको छ । डेपुटी गभर्नर डा. निलम ढुंगाना (तिम्सिना)ले ४२ लाख ६० हजार ११३ रुपैयाँ र डेपुटी गभर्नर बम बहादुर मिश्रले ४२ लाख २ हजार १७ रुपैयाँ राष्ट्र बैंकबाट बुझेका छन् । राष्ट्र बैंकले डेपुटी गभर्नर ढुंगानाले तलव वापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता २ लाख ७३ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत २७ लाख १७ हजार ५१३ रुपैयाँ भुक्तान गरेको छ । यसैगरी डेपुटी गभर्नर मिश्रलाई तलव वापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बोर्ड बैठक वापतको भत्ता २ लाख ९६ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत २६ लाख ३६ हजार ४१७ रुपैयाँ भुक्तानी गरेको हो । यस्तै, चिन्तामणी शिवाकोटीलाई बैठक भत्ता ९० हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३५ हजार ५६४ रुपैयाँ, डा. शंकर प्रसाद आचार्यलाई ९० हजार रुपैयाँ बैठक भत्ता र २३ हजार ४१२ रुपैयाँ र डा. सवोध कुमार कर्णलाई बैठक भत्ता वापत १ लाख ५२ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ६ लाख ९५ हजार ५१६ रुपैयाँ भुक्तानी गरेको अन्य सेवा सुविधा वापत भुक्तानी राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पूर्व सञ्चालक समिति सदस्य मधु कुमार मरासिनीलाई बैठक भत्ता भत्ता वापत २ लाख ५८ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ४ लाख ८५ हजार ४२५ रुपैयाँ गरी कूल ७ लाख ४३ हजार ४२५ रुपैयाँ, शिशिर कुमार ढुंगानालाई बैठक भत्ता वापत १० हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३१ हजार २३८ रुपैयाँ, श्री राम पौडेललाई बैठक भत्ता वापत २ लाख ६ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ११ लाख ३२ हजार ३५४ रुपैयाँ र रामजी रेग्मीलाई बैठक भत्ता वापत २ लाख १५ हजार रुपैयाँ र सेवा सुविधा वापत ३ लाख ६२ हजार १९ रुपैयाँ भुक्तानी गरेको छ ।