हिमालयन बैंकद्वारा मादी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मादी नगरपालिकामा मिति २०७९ साल मंसिर २३ गते शुक्रबार र पाख्रिवास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २४ गते शनिबार सो कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कार्यक्रमको आयोजना बैंकको विराटनगर स्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको जनाइएको छ । बैंकको सो कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी करिब ७० जनाको उपस्थिति रहेको थियो । सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बैंक, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट निति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान जानकारी दिएको बैंकले जनाएको छ । बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका प्रमुख जिवन कुमार लिंग्थेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ्ग प्रमुख अतिथिका रुपमा थिए । यसै गरी कार्यक्रममा बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले दियो नयाँ अधिकृतलाई तालिम
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २०० जना अधिकृतलाई तालिम दिएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका नवनियुक्त अधिकृतहरुलाई दिने दश दिने तालिम काठमाडौंमा सुरु गरेको हो । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक रुपान्तरणको प्रक्रियामा रहेकाले प्रतिस्पर्धी बजारमा बैंकले लिएको रणनीति कार्यन्वयनमा यो ठुलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए । उनले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्र मार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए । उनले अरु छ सयभन्दा बढी सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछी बैंकको उत्पादकत्व बढ्नेमा जोड दिए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नवनियुक्त सहायक प्रबन्धक, तह ६ र उपप्रबन्धक, तह ७ का जम्मा दुईसय जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।
नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले गरिन् शपथ ग्रहण
काठमाडौं । नेपाल एसबिआई बैंककी नवनियुक्त अध्यक्षले पद तथा गोपनियताको शपथ लिएकी छिन् । बन्सालले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । बन्साल मंसिर २६ गते बसेको बैंकको ४९३औं बैठकबाट बैंकको संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट नियुक्त भएकी हुन् । बन्सल एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छिन् । उनले एसबीआईको विदेशी रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरुको संचालन लगायतका मामिला हेर्छिन् ।