सहसचिवदेखि विश्वविद्यालयका सहायक डीनसम्मले हाँकेको बैंक

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा सरकारी प्रशासन, कृषि वित्त, लघुवित्त, अर्थशास्त्र, बैंकिङ तथा व्यवस्थापन शिक्षासम्मका अनुभवी व्यक्तित्वहरू छन् । सरकारी निकायमा सहसचिवको जिम्मेवारी सम्हालिरहेका व्यक्तिदेखि विश्वविद्यालयका सहायक डिन र सहप्राध्यापकसम्मको प्रतिनिधित्व रहेको समितिमा बैंकिङ क्षेत्रका अनुभवी व्यक्तिहरू पनि समेटिएका छन् ।

वि.सं. २०२२ माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले ६ दशकभन्दा लामो समयदेखि देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकमा नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारण सेयरधनीको ०.०३ प्रतिशत स्वामित्व छ । सरकारी बहुमत स्वामित्व रहेको यस बैंकले वित्तीय स्रोत परिचालन, आर्थिक गतिविधि विस्तार तथा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाहमार्फत अर्थतन्त्रमा भूमिका निर्वाह गर्दै आएको छ ।

बैंकको सञ्चालक समिति सात सदस्यीय छ । समितिमा अध्यक्षसहित सरकारी प्रतिनिधि, वित्तीय क्षेत्रका अनुभवी व्यक्ति तथा शैक्षिक क्षेत्रका विज्ञहरू छन् । बैंकको अध्यक्ष डा. समुन दाहाल छन् भने सञ्चालकमा आस्था भट्ट, घुरन ठाकुर, गंगाप्रसाद ज्ञवाली, डा. रोशी लामिछाने, डा. गोविन्द तामाङ र लक्ष्मण घिमिरे रहेका छन् ।

बैंकका अध्यक्ष दाहाल अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा सहसचिवका रूपमा कार्यरत छन् । सार्वजनिक वित्त र सरकारी प्रशासनसँग सम्बन्धित जिम्मेवारीमा रहेका दाहालले संस्थागत नीति तथा व्यवस्थापनसम्बन्धी विषयमा काम गर्दै आएका छन् । 

सञ्चालक गंगाप्रसाद ज्ञवाली सरकारी सेवाबाट सहसचिव पदमा रहेर अवकाश भएका व्यक्ति हुन् । उनले यसअघि नेपाल बैंकको अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । 

त्यस्तै, सञ्चालक लक्ष्मण घिमिरेसँग बैंकिङ क्षेत्रमा तीन दशकको अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । घिमिरेले कृषि विकास बैंकमा करिब ३० वर्ष काम गर्दै विभिन्न जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा पाँच वर्ष काम गरे । वाणिज्य बैंकिङदेखि लघुवित्त संस्थाको नेतृत्वसम्मको अनुभव भएका घिमिरे वित्तीय व्यवस्थापन, संस्थागत सञ्चालन तथा रणनीतिक नेतृत्वसँग सम्बन्धित विषयमा अनुभवी छन् । 

सञ्चालक घुरन ठाकुर कृषि वित्त, लघुवित्त तथा सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई) कर्जाका अनुभवी विज्ञ हुन् । कृषि वित्त, कृषि मूल्य शृंखला वित्त, ग्रामीण वित्तीय संस्था विकास, बैंक पुनर्संरचना तथा क्षमता अभिवृद्धिमा उनले लामो समय काम गरेका छन् । ठाकुरले कृषि विकास बैंकमा करिब २७ वर्ष बिताएका थिए । बैंकमा रहँदा उनले कर्जा अधिकृत, क्षेत्रीय तालिम प्रमुख, व्यवस्थापक, एमएसएमई प्रमुख तथा कर्जा, योजना र परियोजना विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालमा करिब ३० महिना ग्रामीण वित्त विशेषज्ञका रूपमा काम गरे । 

हाल ठाकुर एमएसएमई तथा कृषि कर्जा परामर्शदाताका रूपमा कार्यरत छन् । ग्रामीण वित्तीय सेवा, कृषि मूल्य शृंखला वित्त, लघुवित्त, लघुबीमा, वित्तीय संस्था विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी परामर्श र अनुसन्धानमा पनि उनी संलग्न छन् । गाउँस्तरमा बचत तथा ऋण प्रणालीको विकास, वित्तीय पहुँच विस्तार, महिला सशक्तीकरण तथा विपन्न समुदायको जीविकोपार्जन सुधार उनका चासोका क्षेत्र हुन् । उनले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्रामीण ऋण, परियोजना योजना तथा व्यवस्थापन, कृषि अर्थशास्त्र र कृषि क्षेत्र विश्लेषणलगायत विषयमा स्नातकोत्तर गरेका छन् । 

सञ्चालक आस्था भट्ट इन्स्टिच्युट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) की कार्यक्रम विशेषज्ञ हुन् । उनले दिल्ली स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन् । सन् २०२२ देखि आईआईडीएसमा आबद्ध भट्टले यसअघि पीडब्लूसीमा समेत काम गरेकी थिइन् । अर्थशास्त्र, विकास अध्ययन र व्यावसायिक परामर्शको पृष्ठभूमि भएकी भट्टको अनुभवले बैंकको सञ्चालक समितिमा आर्थिक विश्लेषण तथा विकाससम्बन्धी दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ । 

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा उच्च शिक्षा र व्यवस्थापन शिक्षाको अनुभव भएका व्यक्तिहरू पनि छन् । सञ्चालक डा. रोशी लामिछाने काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टकी सहायक डिन हुन् । शैक्षिक क्षेत्रमा लामो समयदेखि सक्रिय लामिछानेको उपस्थितिले समितिमा उच्च शिक्षा तथा व्यवस्थापन क्षेत्रको अनुभव समेटेको छ ।

त्यस्तै, सञ्चालक डा. गोविन्द तामाङ त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा सहप्राध्यापकका रूपमा कार्यरत छन् । उनी व्यवस्थापनसम्बन्धी शिक्षण तथा विश्वविद्यालयस्तरीय शैक्षिक गतिविधिमा संलग्न रहँदै आएका छन् । उनको शैक्षिक पृष्ठभूमिले बैंकको सञ्चालक समितिमा व्यवस्थापन र उच्च शिक्षाको दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ ।

Share News