वार्षिकोत्सवमा ग्लोबल आइएमईको देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न, २४२ लिटर रगत संकलन

काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १६औं वार्षिकोत्सवकाे अवसरमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडाैं, बाग्मती प्रदेशको भरतपूर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, विरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियाे । देशभर आयोेजित कार्यक्रममा ५१२ रक्तदाताहरुबाट २४२ लिटर रगत संकलन गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

नबिल बैंकका ग्राहकले मिडास एजुकेसनमा विशेष छुट पाउने 

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामा प्राप्त गर्न सकिनेछ भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५% छुट प्राप्त गर्न सकिनेछ । बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ । मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमा विकास गरेका हुन्छन् ।

प्रभु र सेञ्चुरीको मर्जरले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकको मर्जरले अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । प्रभु बैंक र सेञ्चुरी बैंक १ बराबर १ अनुपातमा मर्ज हुन लागेको हो । दुवै बैंकले आफ्नो साधारणसभाबाट एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिसकेका छन् । मर्जरपछि प्रभु बैंकका हालका सिइओ अशोक शेरचन नै सिइओ बन्ने छन् भने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरी बैंकको तर्फबाट तीन जना हुने छन् । हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ ।