लक्ष्मी बैंकद्वारा महिला छात्रवृत्तिका लागि १ करोडको अक्षयकोषको स्थापना
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र काठमाडौं विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्रा. डा. विपिन अधिकारीले हस्ताक्षर गरेका छन् । उक्त छात्रवृत्तिमार्फत लक्ष्मी बैंकले आर्थिकरुपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाईे उच्च शिक्षा हासिल गर्न सहयोग गर्नेछ । छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनोट सम्बन्धी प्रकृया काठमाडौं विश्वविद्यालयकै मातहतमा हुनेछ भने बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रबर्द्धन गर्नेछ । छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले १ करोड रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गर्नेछ । सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययन सम्बन्धी खर्च व्यहोर्न प्रयोग हुनेछ ।
नेपाल इन्भेष्टमेन्ट र मेगाले मर्जरकाे लागि राष्ट्र बैंकबाट पायाे अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकिकृत कारोबारको बाटो खुल्ने छ । दुवै बैंकको पुस ७ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ हुनेछ । मर्जरपछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहने छ ।
ग्लोबल आईएमई बैंकलाई मर्जरको अन्तिम स्वीकृति, नाममा बीओके नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू(बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको १४ पुस बिहीबार बसेको सञ्चालक समितिको बैंठकले दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो । यस्तै, एकिकृत कारोबारको लागि दुवै बैंकको साधारणसभाबाट पारित गरिएको ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ नाम भने परिवर्तन भएको छ । दुवै बैंकले अब ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । यसअघि प्रस्ताव गरिएको बैंकको नाममा बैंक शब्द नभएको भन्दै राष्ट्र बैंकले नयाँ नाममा ल्याउन भनेको थियो ।