धितोपत्र बोर्डले पनि दियो मेगा र इन्भेष्टमेन्ट बैंकलाई मर्जरको अन्तिम स्वीकृती

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डले मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरकाे अन्तिम स्वीकृती दिएकाे छ । बाेर्डले धिताेपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ काे दफा ८ काे उपदफ (४) बमाेजिम अन्तिम स्वीकृती दिएकाे हाे । मेगा र नेपाल इन्भेष्टमेन्टले मर्जरको अन्तिम स्वीकृतीको लागि धितोपत्र बोर्डलाई संयुक्त रुपमा पुस ११ गते पत्र पठाएको थियो । राष्ट्र बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेदेखि हुँदैछ ।

‘बैंकको ब्याजदर घटाउनुस्, मौद्रिक नीतिमा गरिएका कडाइ सहज गर्नुस्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा गर्भनर र अर्थमन्त्रीसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् । उनले अर्थतन्त्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए । छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताएका थिए । निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पूँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका छन् ।

एनआईसी एशिया बैंकले १ लाख ६२ हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकबाट २ संस्थापक सेयरधनी आफ्नो सेय बिक्री गेर बाहिरिने भएका छन् । बैंकका संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न र प्रमिला देवी अग्रवालले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको स्वामित्वमा रहेको १ लाख १२ हजार ४०७ कित्ता र प्रमिला देवी अग्रवालको स्वामित्वमा रहेको ५० हजार गरी कूल १ लाख ६२ हजा ४०७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । उक्त सेयर खरिद गर्नका लागि बैंकका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिएको हुँदा के कति सेयर खरिद गर्ने हो, सो को मूल्य समेत तोकि ३५ दिन भित्र निवदेन पेश गर्नुपर्ने छ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले निवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।