बैंकबाट बाहिरियो बिनाधितो ३ अर्ब ऋण, १ लाख बढीले लिए साढे २ खर्ब सहुलियतपूर्ण कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट डेढ १ लाख बढी ऋणीले साढे २ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १ लाख ४५ हजार ७७८ जना ऋणीले २ खर्ब ५४ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् । ४ हजार ७३९ जना ऋणीले करिब ३ अर्ब ऋण बिनाधितो प्रयोग गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका अनुसार व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, विनाधितो कर्जा, धितोसहितको कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजनना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा र उच्च प्राविधिक तथा व्यवसायायिक कर्जा अन्तर्गत सो कर्जा प्रवाह भएको छ । यस्तै, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि कर्जा, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थालाई दिइने कर्जा र युवा स्वरोजगार कर्जा अन्तर्गत सो कर्जा प्रवाह भएको हो । बैंक तथा वित्तीय संस्थाहरुले कृषितर्फ १ खर्ब ६२ अर्ब ६५ करोड ७१ लाख, बिनाधितो कर्जा अन्तर्गत २ अर्ब ९८ करोड ३९ लाख, कपडा उद्योग सञ्चालनका लागि २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, परियोजना धितो अन्तर्गत १ अर्ब ५९ करोड ६७ लाख, महिला उद्यम अन्तर्गत ८७ अर्ब १८ करोड ७५ लाख रुपैयाँ र दलित समुदाय व्यवसाय विकास तर्फ ७० करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै, विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ३३ करोड ७५ लाख, शिक्षित यूवा स्वरोजगारतर्फ ७ करोड ९५ लाख, भुकम्प पीडिततर्फ ५ करोड ३ लाख रुपैयाँ र उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा तर्फ ४ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यूवा स्वरोजगार अन्तर्गत १ करोड ४० लाख र सिटीईभीटी तालिम अन्तर्गत ४ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, २२ अर्ब ३९ करोड रुपैयाँ भने ब्याज अनुदानका लागि प्रवाह भएको छ ।

माछापुच्छ्रे बैंकलाई प्रायोरिटी पास सुविधा

काठमाडौं । डिजिटल इकोनोमी प्रवर्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् । प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जसअन्तर्गत बेलायतको कोलिन्सन ग्रुपले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० सहरका १४ सयभन्दा बढी विमानस्थलमा रहेका एयरपोर्ट लाउन्जमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ । प्रायोरिटी पासले उडान गर्नुअघि एयरपोर्ट लाउन्ज अनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाईफाई प्रयोग गर्नलगायत अन्य अतिरिक्त सुविधासहित लाउन्जको अनुभव प्रदान गर्छ ।

ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । ज्योति विकास बैंकले महाकाली स्वास्थ्य चौकी,नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पतालका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै, सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो । नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं.५, शेरावगरस्थित महाकाली स्वास्थ्य चौकी र तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं.३ स्थित आँबुखैरेनी अस्पतालमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् । बैंकले डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा ‘न्यानो नानी परियोजना’ अन्तर्गत पछिल्लो ३ वर्षमा देशका ३५ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।