सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, १० प्रतिशत ब्याज दिने
काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।
१४.७० प्रतिशत लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सानिमा बैंकले १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न कात्तिक २ गते कुण्डलिनी दरबार ब्यान्केट चण्डोल काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
नेपाल बैंकबाट बाहिरिँदै सीईओ अधिकारी, नयाँ सीईओ छनोट गर्न समिति गठन
काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी बैंकबाट बाहिरिने भएका छन् । सीईओको रुपमा ४ वर्षको कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन् । स्रोतका अनुसार अधिकारीको सीईओको रुपमा दोहोरिने सम्भावना न्यून छ । वि.सं. २०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका उनी असोज १४ गते बैंकबाट बाहिरिन लागेका हुन् । बैंक सञ्चालक समितिले उनलाई दोस्रो कार्यकालका रुपमा नियुक्त गर्न आनाकानी गरेपछि अधिकारीले बैंकबाट बाहिरिने निर्णय गरेको बुझिएको छ । बैंकको सञ्चालक समितिले नयाँ सीईओ नियुक्तिको प्रक्रिया पनि अगाडि बढाइसकेको छ । बैंकका सञ्चालक समिति सदस्य आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट समिति गठन गरिएको छ । बैंक स्रोतका अनुसार आगामी बिहीबार बस्ने सञ्चालक समितिको बैठकले नयाँ सीईओका लागि आवेदन आह्वान गर्नेछ । २०७६ मा खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका अधिकारीले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै बैंकको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकालमा नेपाल बैंकले फड्को मारेको छ । कुनै समय ठूलो नोक्सानी व्यहोरेको नेपाल बैंक पछिल्लो समय वाणिज्य बैंकहरुबीच एक अब्बल बैंकका रुपमा स्थापित भएको छ ।