सिद्धार्थ बैंकको लाभांश घोषणा, नगद ४ प्रतिशत मात्र

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्छ : अर्थमन्त्री डा. महत

मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्नेमा जोड दिएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा बोल्दै उनले सो बताएका हुन् । सो अवसरमा नेपालका अर्थमन्त्री तथा विश्वबैंक समूहका गभर्नर डा. महतले हामी बसोबास गरिरहेको धर्तीलाई बस्नयोग्य बनाउनु पर्ने बिश्व बैकको थिमलाई समर्थन जनाउँदै जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने विचार व्यक्त गरे । विश्वबैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमशः विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंदै उनले सो बताएका हुन् । खासगरी विश्व बैंकले तयार गरेको ‘प्लेबुक’ मा सहुलियत दर बढाँउदै जाने कुराको प्रतिवद्धता ठोस रुपमा प्रतिविम्वित हुनुपर्ने बताए । डा. महतले निजी क्षेत्रसंग सम्बन्धित उपकरणहरु समेत साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा पुर्याउने र ब्यालेन्सिट अप्टिमाईजेसन मार्फत बैंकको आयको महत्वपूर्ण हिस्सा विश्वबैंकको सहुलियतपूर्ण ऋण लगानी गर्ने संरचनाको रुपमा चिनिने ‘आइडीए’ मा समावेश गरेर जान सकेमा कम आय भएका देशमा सहुलियत दर बढाउनु पर्ने चासोको सम्बोधन हुन सक्ने विचार व्यक्त गरे । त्यसैगरी, अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिकृया दिदै अर्थमन्त्री डा। महतले कोषको वित्तीय सुविधाहरु परम्परागत कोटाको आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मलुकको आवश्यकता प्रतिविम्वित हुन नसकेकोले जारी कोटा पुनरावोलकन प्रकृयामा पुनर्विचार हुनुपर्ने विचार समेत सशक्त रुपमा प्रस्तुत गरे । अर्थमन्त्री डा. महतले राखेको विचारको सराहना गर्दै कार्यकारी निर्देशकले सहुलियतपूर्ण ऋणको अंश बढाउने तर्फ काम शुरु भैसकेको र यसलाई यथाशीघ्र सम्पन्न गरिने जवाफ दिए । आजै अर्थमन्त्रीको कोरियाका उपप्रधानमन्त्री तथा युरोपियन युनियनका कमिस्नरसँग छुट्टाछुट्टै द्विपक्षीय भेटघाट हुने कार्यक्रम तय भएको छ ।

हिमालयन बैंकले प्रहरीलाई दियो ५ थान गोप्रो क्यामेरा

काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई २ लाख ६७ हजार ५ सय रुपैयाँबराबरको इन्स्टा ३६० चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो ९ क्यामेरा हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा काठमाडौं जिल्लामा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिको निगरानी तथा रोकथाम गर्न बैंकले सो सहयोग प्रदान गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सहयोग स्वरुप क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुंगेललाई हस्तान्तरण गरे । सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति थियो ।