महालक्ष्मी विकास बैंकका सीईओ देवकोटाले दिए राजीनामा

काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटालो राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पुरा नगरी उनी बैंकको सीईओबाट बाहिरिएका हुन् । वि.सं.२०७७ चैत २ गते बैंकको सीईओमा नियुक्त भएका उनले १४ महिना अगाडि नै राजीनामा दिएका हुन् । व्यक्तिगत कारणले बैंकको सीईओ पदबाट राजीनामा दिएको देवकोटाले विकासन्युजसँग बताए । साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका देवकोटा महालक्ष्मीमा प्रवेश गर्नुअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए । उनले सिटिजन्स बैंकमा १४ वर्ष र नेपाल बैंकमा १० वर्ष काम गरेका थिए । साथै, सिटिजन्स बैंकमा हुँदा उनी सिटिजन्स क्यापिटलको अध्यक्ष समेत भएका थिए ।

मुक्तिनाथ विकास बैंकको १० प्रतिशत लाभांश पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १०.२६ प्रतिशत लाभांश पारित भएको छ । बैंकको सत्रौं वार्षिक साधारण सभाले १०.२६ प्रतिशत लाभांश पारित गरेको हो । उक्त लाभांश मध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ ।  यसै सभा बाट आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए । सोही समारोहमा बैंकका पूर्व अध्यक्ष मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए । वार्षिक साधारण सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल , विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

महालक्ष्मी विकास बैंकको ६ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंकको ६.४० प्रतिशत लाभांश पारित भएको छ । बैंकको बाईसौं वार्षिक साधारण सभाले ६.४० प्रतिशत लाभांश पारित गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ ।