६ महिनामा २७ प्रतिशत घट्यो बैंकको ब्याजदर, बैंकरको भद्र सहमतिको प्रभाव

काठमाडौं । गत असारमा बैंकरहरूले एउटा निर्णय गरे, ‘ब्याजदर निर्धारणमा भइरहेको भद्र सहमति खारेज गर्ने ।’ वाणिज्य बैंकहरूबीच ब्याजदरमा हुँदै आएको भद्र सहमति साउनदेखि खारेज भयो । साउनदेखि बैंकले तरलताको स्थिति हेरेर आफैं ब्याजदर निर्धारण गर्न थाले । भद्र सहमति टुटेसँगै कुन बैंकले कति ब्याजदर निर्धारण गर्ने भन्ने निर्णय  बैंकहरूकै हातमा पुग्यो । त्यसअघिसम्म बैंकरहरूबीच सहमति भएर ब्याजदर निर्धारण हुन्थ्याे । भद्र सहमति गर्दा बैंकरहरू मिलेर ब्याज बढाएकाे  आरोप पटक-पटक सुन्नु परेपछि बैंकहरू यस्ताे निर्णय गर्न बाध्य भएका हुन् । बैंकरहरूबीच भद्र सहमति टुटेपछि भने ब्याजदर घटेको छ । भद्र सहमति तोडेको ६ महिनामा बैंकहरूको ब्याजदर २७ प्रतिशतसम्म घटेको तथ्यांकले देखाउँछ । ६ महिना अघि बैंकहरूको व्यक्तिगतको निक्षपतर्फको ब्याजदर औसत  १०.०४ प्रतिशत र संस्थागतको ८ प्रतिशत थियो । तर, सहमति टुटेपछि भने ब्याजदर घटेर व्यक्तिगतको औसत ८.९६ प्रतिशत र संस्थागतको ६.८५ प्रशितमा झरेको छ । ६ महिनाको तुलना गर्दा नेपाल बैंकले सबैभन्दा धेरै ब्याज घटाएको छ । बैंकको व्यक्तिगततर्फ २२.२१ प्रतिशत र संस्थागततर्फ २७.१५ प्रतिशत ब्याजदर घटाएको हो । यस्तै, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको करिब २५ प्रतिशत ब्याजदर घटाएको तथ्याङ्कले देखाएको छ । तर, यस अवधिमा प्राइम कमर्सियल बैंकको ब्याजदर भने बढेको देखिन्छ । बैंकको ०.१० प्रतिशत ब्याजदर बढाएको देखिन्छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता उच्च हुँदै गएपछि ब्याजदर पनि स्वतः घट्न थालेको हो । साथै, बैंकहरूमा निक्षेप थपिने क्रम जारी छ । सरकारले पनि बैंकको ब्याजदर घटाउन र कर्जा लगानी बढाउन प्रयास गरिरहेको छ । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल बैंकहरूसँग प्रयाप्त तरलता भएपछि ब्याजदर घट्न पुगेको बताउँछन् । बैंकहरू जहिले पनि प्रतिस्पर्धा गर्न चाहने भएकाले भद्र सहमतिको पक्षमा नरहेको उनको भनाइ छ । ‘साउनदेखि भद्र सहमति नगर्ने निर्णय भयो । तर, साउन भदौमा ब्याजदर बढाए, कतिपय बैंकले घटाए । तर, पछिल्लो तीन महिनादेखि निरन्तर घटिरहेको छ,’ उनले भने, ‘बैंकसँग प्रशस्त पैसा भएपछि ब्याजदर घटेको हो, बैंकहरूलाई भद्र सहमति गर्ने कहिले पनि इच्छा थिएन, बैंकहरू सधैं प्रतिस्पर्धाको पक्षमा छन् ।’ ब्याजदर उच्च भयो भने उद्योग व्यवसायमा असर गर्ने भएकाले त्यसैले नियन्त्रण गर्न भद्र सहमति गर्न भनेर राष्ट्र बैंकबाट निर्देशन आउने भएकाले भद्र सहमति हुने गरेको थियो । तर, बैंकहरू खुला छाडेर प्रतिस्पर्धा गर्न चाहने उनले बताए । बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले मौद्रिक नीतिको समीक्षामा नीतिगत दर घटाउँदा निक्षेपको ब्यादर घटाउनुपर्ने बैंकहरुलाई दबाब सिर्जना भएको बताउँदै कर्जाको ब्याजदर पनि घट्दै जाने बताए । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पनि बैंकको ब्याजदर थप घट्न मद्दत गरेको उनको भनाइ छ । ‘मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउन दबाब परेको छ, त्यसले कर्जाको ब्याजदर पनि घट्दै जान्छ, अब ऋणीलाई पनि सहज हुन्छ,’ उनले भने, ‘बैंकहरूले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजान्छन्, बैंकहरुले हेरक महिनामा ब्याजदर परिवर्तन गर्न पाउने नयाँ नियमले सहज गराएको छ, यसले बेस रेट घट्छ, माघमा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्ने देखिन्छ ।’

यी हुन् लक्ष्मी सनराइज बैंकका ३६ ठूला सेयरधनी, मोतिलाल दुगड र राजेन्द्र खेतानको कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकमा ३६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ३६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा लक्ष्मी कर्पको बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व छ । लक्ष्मी कर्प नेपाल प्रालिको ७.७८ प्रतिशत अर्थात् १ करोड ६८ लाख ६२ हजार ४६८ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, नागरिक लगानी कोषको ४.६३ प्रतिशत अर्थात् १ करोड २ लाख ८ हजार २ कित्ता, सारिका खेतानको ४.१७ प्रतिशत अर्थात् ९० लाख ३६ हजार ७२८ कित्ता, स्नेहा खेतानको ३.९१ प्रतिशत अर्थात् ८४ लाख ६४ हजार ३९६ कित्ता, मोतिलाल दुगडको २.७७ प्रतिशत अर्थात् ६० लाख १० हजार ७४६ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, मालचन्द्र दुगडको २.४० प्रतिशत अर्थात् ५२ लाख ३ हजार ६९९ कित्ता, रतन लाल संघईको २.३९ प्रतिशत अर्थात् ५१ लाख ८० हजार २८२, गोपि कृष्ण सिकरियाको २.३५ प्रतिशत अर्थात् ५१ लाख २ हजार ३०६ कित्ता, राजेन्द्र कुमार खेतानको २.३५ प्रतिशत अर्थात् ५० लाख ९९ हजार १४ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै हिमालयन एक्जीम प्रालिको १.९७ प्रतिशत अर्थात् ४२ लाख ६३ हजार ५५, कैलाश चन्द्र गोयलको १.८९ प्रतिशत अर्थात् ४० लाख ९२ हजार २६४ कित्ता, श्रवण कुमार गोयलको १.६१ प्रतिशत अर्थात् ३४ लाख ९६ हजार ८९७ कित्ता, सुरेन्द्रा दुगडको १.४१ प्रतिशत अर्थात् ३० लाख ५२ हजार ५९९ कित्ता, विवेक दुगडको १.३३ प्रतिशत अर्थात् २८ लाख ९१ हजार ३३३ कित्ता सेयर स्वामित्व छ । यस्तै, एमटीसी इन्भेष्टमेन्ट प्रालिको १.२८ प्रतिशत अर्थात् २७ लाख ७३ हजार ७४२ कित्ता, बच्छराज तातेडको १.१५ प्रतिशत अर्थात् २४ लाख ९२ हजार ६५८ कित्ता, राष्ट्रिय जीवन बीमा कम्पनीको ०.९९ प्रतिशत अर्थात् २१ लाख ५२ हजार ९८६ कित्ता, पुजा अग्रवाल खेतानको ०.८६ प्रतिशत अर्थात् १८ लाख ५८ हजार ५१९ कित्ता सेयर स्वामित्व छ । यस्तै, निधि दुगडको ०.८४ प्रतिशत अर्थात् १८ लाख ११ हजार २१४ कित्ता, पुजा दुगडको ०.७९ प्रतिशत अर्थात् १७ लाख १२ हजार ८०६ कित्ता, श्रद्धा दुगडको ०.७८ प्रतिशत अर्थात् १६ लाख ८३ हजार ७५० कित्ता, विवेक तातेडको ०.७७ प्रतिशत अर्थात् १६ लाख ७४ हजार ४३८ कित्ता, विशाल तातेडको ०.७७ प्रतिशत अर्थात् १६ लाख ६१ हजार ७७३ कित्ता, शौरभ तातेडको ०.७७ प्रतिशत अर्थात् १६ लाख ६१ हजार ७७३ कित्ता सेयर स्वामित्व छ । यस्तै, श्री निवास शारडाको ०.७७ प्रतिशत अर्थात् १६ लाख ६१ हजार ७७० कित्ता, ओम प्रकाश सिकारियाको ०.७६ प्रतिशत अर्थात् १६ लाख ४९ हजार ३९७ कित्ता, प्रियंका अग्रवालको ०.६४ प्रतिशत अर्थात् १३ लाख ७८ हजार ७१२ कित्ता, सरोज दुगडको ०.६० प्रतिशत अर्थात् १३ लाख २ हजार ७४६ कित्ता, जमुना पौड्यालको ०.५५ प्रतिशत अर्थात् ११ लाख ९८ हजार ८२१ कित्ता सेयर स्वामित्व छ । यस्तै, राधेश्याम शारडाको ०.५५ प्रतिशत अर्थात् ११ लाख ८५ हजार ५१० कित्ता, पवन कुमार शारडाको ०.५५ प्रतिशत अर्थात् ११ लाख ८५ हजार ५०९ कित्ता, शिवरतन शारडाको ०.५५ प्रतिशत अर्थात् ११ लाख ८५ हजार ५०९ कित्ता, सुभम दुगडको ०.५४ प्रतिशत अर्थात् ११ लाख ६७ हजार १६४ कित्ता, भोगेन्द्र कुमार गुरागाईंको ०.५२ प्रतिशत अर्थात् ११ लाख ३४ हजार ४७९ कित्ता, कविता लोहियाको ०.५१ प्रतिशत अर्थात् ११ लाख १३ हजार ७३७ कित्ता र मानव अग्रवालको ०.५१ प्रतिशत अर्थात् ११ लाख ६३ कित्ता सेयर स्वामित्व छ ।

पुस २९ गतेपछि दोहोरो खाता र कार्ड प्रयोग गर्न नपाईने, शून्य मौज्दातका खाता बन्द

काठमाडौं । प्राइम कमर्सियल बैंकले एक भन्दा बढी डेबिट र क्रेडिट कार्ड एवं खाता भएका ग्राहकहरूलाई एउटै खाताबाट मात्र कारोबार गर्न आग्रह गरेको छ । स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोलि वा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट तथा क्रेडिट) प्राप्त गरी कारोबार गरिरहेका ग्राहकहरूले एउटा खाता वा कार्ड मात्रै प्रयोग गर्न बैंकले आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाईने अर्थात् एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट र क्रेडिट) जारी गर्न नपाईने व्यवस्था गरेको छ । जसकारण बैंकको अभिलेखमा भएको मोबाइल नम्बर र अन्य सूचनाबाट दोहोरो खाता भएका ग्राहकलाई जानकारी गराइसकेको छ । पुस २९ गतेभित्र आफ्नो खाता रहेका शाखा कार्यालयमा गई एक भन्दा बढी कायम रहेको कार्ड (डेबिट र क्रेडिट) बुझाउन र दोहोरो भएको खाता बन्द गरि दिन बैंकले अनुरोध गरेको हो । सो समय पश्चात त्यस्ता खाताहरूमध्ये एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरू बैंकको निर्णयअनुसार बन्द गरिने, रोक्का राखिने वा कारोबारमा बन्देज गरिने बैंकले जनाएको छ । यसबाट भविष्यमा ग्राहकहरूलाई पर्न जाने हानि नोक्सानीप्रति बैंक जिम्मेवार नरहने बताइएको छ । साथै, १० वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाताहरू ग्राहकहरूले पायक पर्ने नजिकको शाखा कार्यालयमा गई खाताको विवरण अद्यावधिक गरी खाता सञ्चालन गर्न समेत अनुरोध गरेको छ । अन्यथा, सो प्रकारका खाता बैंकले बन्द गर्न सक्ने जनाएको छ ।