कुमारी बैंकले डाक्यो २३औं साधारण सभा, मुख्य एजेण्डा के-के छन् ?

काठमाडौं । कुमारी बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले २३औं वार्षिक साधारण सभा माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७/८०को वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्नेछ । बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि माघ ९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ ८ गतेसम्म कायम सेयरधनीहरू मात्रै बैंकको साधारणसभामा सहभागी हुन सक्ने छन् ।

बैंकहरूले घटाएको ब्याजदर आजदेखि लागू, १८ बैंकले घटाउँदा कुनको कति ?

काठमाडौं । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर आज माघ १ गतेदेखि लागू भएको छ । माघ महिनाका लागि बैंकहरूले पुस मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । पुसको तुलनामा माघमा सबै बैंकहरूले ब्याजदर घटाएका छन् । माघमा १८ बैंकले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाउँदा एभरेष्ट बैंक र एनएमबि बैंकले भने स्थिर राखेका छन् । एभरेष्ट बैंकले माघमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तोकेको छ । लक्ष्मी सनराइज बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत, कृषि विकास बैंकले संस्थागततर्फ ५.२६० प्रतिशत र व्यक्तिगततर्फ ७.२६० प्रतिशत, प्रभु बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र नेपाल बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यस्तै, कुमारी बैंकले व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत, एनआईसी एशिया बैंकले संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत, प्राइम बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेका छन् । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत, कनेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेका छन । हिमालयन बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.१५ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

गरिमा विकास बैंकको लाभांश पारित, चुक्ता पुँजी ५ अर्ब ६८ करोडमाथि

काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले प्रस्तावित ९.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश पारित गरेको हो । उक्त लाभांश पुस १६ गतेसम्म कायम सेयरधनीले पाउने भएका छन् । हाल ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर वितरणपश्चात ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ पुगेको छ । सभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ बनाउने, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । हाल बैंकको १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।