एउटा बचत खाता खोल्दा सिटिजन्स बैंकले एक रूख रोप्ने
काठमाडौं । पैसाको कारोबार गर्ने संस्थाका रूपमा बैंकलाई लिइन्छ । बैंकहरूले पैसाको नै कारोबार गर्छन् । बैंकहरूले पैसाबाहेक अन्य केही काम गर्दैनन् भन्ने सोच आम मानिसको छ । तर, सिटिजन्स बैंक पैसाको कारोबारका साथै वनजंगलको संरक्षणमा समेत जुटेको छ । पछिल्लो समय बढ्दो जनसंख्याका कारण वन विनाश भइरहेका बेला सिटिजन्स बैंक भने जंगल जोगाउने अभियानमा जुटेको हाे । कुनै ग्राहकले सिटिजन्स बैंकमा खाता खोल्यो भने उक्त ग्राहकको नाममा बैंकले एउटा रूख रोपिदिने भएको छ । बैंकले नयाँ वर्ष सन् २०२४ को अवसरमा वातावरणमैत्री बनाउन ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । ‘हजुरको नयाँ स्मार्ट बचत खाता, सिटिजन्स बैंकद्वारा एक वृक्षारोपण’ नाराका साथ ‘एक खाता, एक वृक्ष’ स्मार्ट खाता सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ । सन् २०२४ मा ‘एक खाता एक वृक्ष’ स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूका लागि बैंकले एक खाताबराबर एक वृक्षारोपण गर्नेछ । ‘एक खाता एक वृक्ष’ स्मार्ट खाता शून्य ब्यालेन्समा खोल्न सकिने बैंककी कर्पाेरेट कम्युनिकेसन हेड स्मारिका तिवारीले बताइन् । स्मार्ट बचत खातामा रकम जम्मा गर्दा ग्राहकहरूले ४.१५ प्रतिशत ब्याजदर पाउने उनले बताइन् । बैंकका अनुसार स्मार्ट बचत खाता खोल्न ग्राहकहरूको निःशुल्क डिम्याट खाता र एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा उपभोग गर्न सक्ने छन् । साथै, ग्राहकहरूले निःशुल्क ‘थ्री–डी सेक्युर ई–कमर्स’ कारोबार गर्न सक्ने तिवारीको भनाइ छ । पहिलो एक वर्षसम्म निःशुल्क इन्टरनेट बैंकिङ, डेबिट कार्ड, सी–आश्वा रजिस्ट्रेसन सर्भिस स्मार्ट खाता खोल्ने ग्राहकहरूलाई प्रदान गरिनेछ । यसका साथै बैंकका डिजिटल प्रडक्टहरूमा हरेक वर्ष स्मार्ट बचत खाता खोल्ने ग्राहकहरूले ५० प्रतिशत छुट पाउनेछन् । स्मार्ट बचत खाता खोल्न कुनै पनि डकुमेन्ट आवश्यक नपर्ने उनको भनाइ छ । खाता खोल्नेदेखि कारोबार पनि सबै डिजिटल माध्यमबाट हुने व्यवस्था गरिएको उनले बताइ । जंगल जोगाउन यस किसिमको प्रडक्ट ल्याइएको उनले बताइन् । ‘यस खाता खोलेपछि ग्राहकहरूले सबै कारोबार डिजिटल्ली गर्नुपर्ने छ, बैंकले कागजरहित सेवालाई जोड दिएकाले चेक पनि दिँदैनौं,’ उनले भनिन्, ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिड कार्डलगायत सबै डिजिटल सेवामात्रै यस खातामा उपलब्ध छन् ।’ सन् २०२४ मा एक वर्षको अवधिभर जति खाता खुल्छन् सोही आधारमा बैंकले रूख रोप्ने उनको भनाइ छ । साथै, बैंकले रोपेका ति रूखहरू ग्राहकहरूको नाममा रोपण गर्ने उनले बताइन् । ‘एक वर्षसम्म कति खाता खुल्छन्, ती सबैका खातावालाहरूको नाममा बैंकले रूख रोप्नेछ, अहिलेसम्म बैंकले कुन ठाउँमा वृक्षारोपण गर्ने भनेर स्थान तोकेको छैन, यो वर्षमा कति वटा खाता खोलिन्छन्, खाता संख्याको आधारमा हामी ठाउँ तोक्ने छौं,’ उनले भनिन् । साथै, वृक्षारोपण गर्ने समयमा सबै खातावाल ग्राहकहरूलाई बोलाउने योजना रहेको उनको भनाइ छ । रोपिएका रूखहरूको सबै लागत बैंकले बेहोर्ने उनले बताइन् । ‘ज-जसले खाता खोल्नु भएको छ, उहाँहरूलाई बोलाएर वृक्षारोपण गर्छाैं, रोपिएका रूखहरूको सबै लागत बैंकले बेहोर्छ,’ उनले भनिन्, ‘यसबाट बैंकको व्यवसायसँगै वातावरणलाई समेत जोगाउन खोजेका हौं, यसअघि बैंकले गत वर्ष ३ सय रूख रोपेको थियो, त्यसरी आफैं रोप्नुभन्दा ग्राहकहरूको नाममा रोप्न पायौं भने उहाँहरूमा पनि सकारात्मक सन्देश प्रवाह हुन्छ ।’ उनका अनुसार यस प्रडक्टअन्तर्गत बैंकले एक वर्षमा १ हजारभन्दा बढी खाता खोल्ने लक्ष्य राखेको छ । सोही आधारमा बैंकले ग्राहकहरूको नाममा रूख रोपिदिनेछ ।
२२.८५ प्रतिशतसम्म घट्यो बैंकहरूको आधारदर, कर्जाको ब्याज पनि घट्दै
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको आधारदर औसत २.२१ प्रतिशत बिन्दुले घटेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार पुस मसान्तमा बैंकहरूको औसत आधारदर ९.४६ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतका आधारमा गत वर्षको तुलनामा बैंकहरूको आधादर औसत ११.८६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकहरूको औसत आधारदर १०.७३ प्रतिशत बिन्दु थियो । बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि आधारदर पनि घट्न गई कर्जातर्फको ब्याजदर पनि स्वतः घट्छ । बैंकहरूको आधारदर घट्नु नै कर्जाको ब्याजदर घट्नु हो । जसआधारमा गत वर्षको तुलनामा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत ११.८६ प्रतिशत घटेको देखिन्छ । दोस्रो त्रैमासमा सबैभन्दा धेरै घटाउने र कम आधारदर भएको बैंक स्ट्यान्डर्ड चार्टड देखिएको छ । चालु आवको पुसमा यस बैंकको आधारदर घटेर २.२१ प्रतिशत बिन्दु घटेर ७.४६ प्रतिशत बिन्दुमा झरेको हो । प्रतिशतमा बैंकको आधारदर २२.८५ प्रतिशत घटेको हो । यस्तै, प्रभु बैंकको १७.६५ प्रतिशत घटेर ९.४२ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १४.५५ प्रतिशत घटेर ८.६९ प्रतिशत बिन्दु, सानिमा बैंकको १४.४५ प्रतिशत घटेर ९.२९ प्रतिशत, माछापुच्छ्रे बैंकको १४.१३ प्रतिशत घटेर ९.७८ प्रतिशत बिन्दु र सिटिजन्स बैंकको १३.८७ प्रतिशत घटेर ९.८१ प्रतिशत बिन्दुमा आधार दर झारेका हुन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ११.१९ प्रतिशत घटेर ८.२५ प्रतिशत बिन्दु, नेपाल बैंकको १३.६३ प्रतिशत घटेर ८.५५ प्रतिशत बिन्दु, नबिल बैंकको १०.१९ प्रतिशत घटेर ९.०७ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.६९ प्रतिशत घटेर ९.४१ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको ८.६२ प्रतिशत घटेर ९.५३ प्रतिशत बिन्दुमा आधारदर झरेको छ । ग्लोबल आइएमई बैंकको ११.११ प्रतिशत घटेर ९.६ प्रतिशत बिन्दु, नेपाल एसबिआई बैंकको १०.१३ प्रतिशत घटेर ९.६६ प्रतिशत बिन्दु, एनआईसी एशिया बैंकको १२.१५ प्रतिशत घटेर ९.६८ प्रतिशत बिन्दु, कृषि विकास बैंकको ११.२१ प्रतिशत घटेर ९.९२ प्रतिशत बिन्दु, एनएमबि बैंकको ६.८३ प्रतिशत घटेर ९.९५ प्रतिशत बिन्दु र लक्ष्मी सनराइज बैंकको १२.१२ प्रतिशत घटेर ९.९९ प्रतिशत बिन्दुमा आधारदर झरेको छ । समीक्षा अवधिमा हिमालयन बैंक, प्राइम बैंक र कुमारी बैंकको आधारदर दोहोरो अंकमा छ । सबैभन्दा धेरै आधारदर भएको बैंकका रुपमा हिमालय बैंक देखिन्छ । हिमालयन बैंकको आधारदर २.४८ प्रतिशत घटेर १०.५९ प्रतिशत बिन्दुमा छ । यस्तै, प्राइम बैंकको ८.४६ प्रतिशत घटेर १०.३८ प्रतिशत बिन्दु र कुमारी बैंकको १२.३६ प्रतिशत घटेर १०.२९ प्रतिशत बिन्दु छ । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । बैंकहरूले आधारदरमा प्रिमियम थपेर ब्याजदर तोक्छन् । आधारदर जति नै कम भयो बैंकको ब्याजदर पनि त्यतिनै कम हुँदै जान्छ । दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेकाले कर्जाको ब्याजदर पनि कम हुन्छ ।
सिटिजन्स बैंकद्वारा विद्यालय र आश्रमलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको छ। विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ। यसका साथै बैंकले श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । विद्यालय र सेवाश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोह लाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिक र बालबालिका समाजका एक अभिन्न अंग भएका र उनीहरुलाई सहयोग प्रदान गर्न पाँउदा धेरै ठूलो सहयोग नभए पनि सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको व्यक्त गरे। आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ। बैंकले १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।