नबिल बैंक ४२ वर्षमा : ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणासहित एआई नेतृत्वको नयाँ यात्रामा
काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणासहित कृत्रिम बौद्धिकता (एआई) मा आधारित भविष्यको बैंकिङ प्रणालीको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर प्रविधिमैत्री, समावेशी र ग्राहककेन्द्रित वित्तीय सेवा विस्तार गर्ने लक्ष्य सार्वजनिक गरेको हो । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले ‘विश्वास हाम्रो सम्पत्ति, नवप्रवर्तन हाम्रो डीएनए’ रहेको उल्लेख गर्दै नबिलले परिवर्तनको प्रतीक्षा नगरी सधैं त्यसको नेतृत्व गरेको बताए । उनले एआईको प्रयोगमार्फत बैंकिङ सेवालाई अझ स्मार्ट, व्यक्तिगत र सुरक्षित बनाइने तथा यसले द्रुत कर्जा प्रवाह, प्रभावकारी जोखिम व्यवस्थापन, उत्कृष्ट ग्राहक अनुभव र वित्तीय समावेशीकरणमा टेवा पुग्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले नबिल केवल बैंकिङ सेवा दिने संस्था नभई ग्राहकका सपना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार रहेको बताए । उनले बदलिँदो बैंकिङ आवश्यकता र दिगो विकासलाई ध्यानमा राख्दै नबिललाई ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बनाउने लक्ष्य दोहोर्याए । बैंकले कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड, लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) मा ४५ अर्ब ९२ करोड तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । ४२ वर्षको अवधिमा बैंकको वित्तीय आकार उल्लेखनीय रूपमा विस्तार भएको छ । आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने खुद नाफा १० लाखबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । त्यस्तै, निक्षेप ५ खर्ब ८८ अर्ब ८५ करोड, कर्जा प्रवाह ४ खर्ब ६४ अर्ब १० करोड र कुल सम्पत्ति ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर तथा २,४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विशेष ग्राहकमुखी योजना पनि सार्वजनिक गरेको छ। यसअन्तर्गत सडक विस्तारबाट प्रभावित हेटौंडा र वीरगञ्जका सेवाग्राहीका लागि पुनःनिर्माण घर कर्जा योजना, लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, ई–पेमेन्ट गेटवेमा ५० प्रतिशतसम्म छुट तथा क्रेडिट–डेबिट कार्ड सेवामा विशेष सहुलियत प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकहरूको नाफा ६४.५६ अर्ब, कुमारीले १ हजार १६८ प्रतिशत बढाउँदा नबिलको सबैभन्दा धेरै
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकले कुल ६४ अर्ब ५६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशत अर्थात् १० अर्ब ५९ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वाणिज्य बैंकहरूले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ वटा बैंकको नाफा बढेको छ भने ६ वटा बैंकको नाफा घटेको छ । ११ महिनाको अवधिमा सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले कमाएको छ । बैंकको नाफा ३२.५१ प्रतिशत बढेर ८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । नाफा वृद्धिदरका आधारमा कुमारी बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकको खुद नाफा १ हजार १६८ प्रतिशत बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा ३७ करोड १० लाख रुपैयाँ मात्र थियो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ६८ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, सानिमा बैंकको ४४.८४ प्रतिशत बढेर ३ अर्ब १२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ४४.२५ प्रतिशत बढेर २ अर्ब १७ करोड रुपैयाँ, प्राइम बैंकको २९.०६ प्रतिशत बढेर ३ अर्ब ७४ करोड रुपैयाँ, हिमालयन बैंकको २८.५९ प्रतिशत बढेर १ अर्ब १६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २६.३० प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ तथा सिटिजन्स बैंक इन्टरनेसनलको २३.७१ प्रतिशत बढेर १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका हुन् । राष्ट्र बैंकका अनुसार एनएमबी बैंकको नाफा १९.७८ प्रतिशत बढेर ३ अर्ब ६३ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको १८.६६ प्रतिशत बढेर १ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १२.१७ प्रतिशत बढेर २ अर्ब ८९ करोड रुपैयाँ, नेपाल बैंकको ८.३७ प्रतिशत बढेर ३ अर्ब ३२ करोड रुपैयाँ र कृषि विकास बैंकको ७.६७ प्रतिशत बढेर १ अर्ब ९५ करोड रुपैयाँ नाफा गरेका हुन् । समीक्षा अवधिमा एनआईसी एशिया बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको खुद नाफा घटेको छ । तीमध्ये एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ३८.८१ प्रतिशत घटेर ५० करोड रुपैयाँमा सीमित भएको छ । यस्तै, प्रभुको नाफा ३४.९१ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँ, एनआईएमबीको २१ प्रतिशत घटेर ४ अर्ब ४९ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डको ३.७४ प्रतिशत घटेर २ अर्ब ६२ करोड रुपैयाँ, एभरेष्टको २.७६ प्रतिशत घटेर ४ अर्ब १२ करोड रुपैयाँ तथा ग्लोबल आइएमईको ०.९६ प्रतिशत घटेर ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन, पुसभित्र कार्ययोजना लागू गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाअनुसार, बैंक तथा वित्तीय संस्थाले खाता निष्क्रिय हुनुअघि नै फोन, एसएमएस, इमेललगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ । यस्तै, निष्क्रिय खाता पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा एकपटक फोन, एसएमएस, इमेल वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित ग्राहकलाई अनुरोध गर्नुपर्ने तथा त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाले ग्राहकलाई नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत सहज रूपमा खाता बन्द गर्न सक्ने व्यवस्था गर्न पनि बैंकहरूलाई निर्देशन दिएको छ । ग्राहकले स्वयं उपस्थित भई वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत खाता बन्द गर्न अनुरोध गरेमा, उक्त खातामा रहेको मौज्दात ग्राहकले तोकेको अर्को बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नै खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले नेपालभरका जुनसुकै शाखाबाट ग्राहकको पहिचान गरी निष्क्रिय खाता सहज रूपमा पुनः सक्रिय गर्न सक्ने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ । यसका साथै, निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न प्रभावकारी प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।