राष्ट्र बैंकद्वारा ६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ । बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ । सूचनाअनुसार निक्षेप संकलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ । निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ६ खर्ब २६ अर्ब पुग्दा बजार हिस्सा ७.५९ प्रतिशत
काठमाडौं । मुलुकमा सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो ५ वर्षमा व्यावसायिक विस्तार, निक्षेप सङ्कलन, बजार हिस्सा वृद्धि तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । चुनौतीपूर्ण आर्थिक परिवेशका बीच बैंकले वित्तीय अनुशासन, जिम्मेवार बैंकिङ अभ्यास तथा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै व्यावसायिक आधारलाई थप सुदृढ बनाउँदै लगेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बताए । उनका अनुसार अघिल्लो आवमा ५ खर्ब तीन अर्ब रुपैयाँ रहेको निक्षेप यस आवको हालसम्म छ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा करिब १२३ अर्ब रुपैयाँ अर्थात् करिब २४ प्रतिशतले बढी रहेको छ । यस अवधिमा त्यस बैंकको निक्षेप समग्र बैंकिङ उद्योगको हिस्सामा ७.५९ प्रतिशत पुगेको छ । बैंकले यस आवको चैत मसान्तसम्म रु तीन खर्ब ३९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । प्रमुख कार्यकारी अधिकृत खनाललका अनुसार आव २०७८/७९ मा बैंकिङ क्षेत्रको कर्जामा ४.८१ प्रतिशत बजार हिस्सा ओगटेको बैंकले आव २०८२/८३ चैत मसान्तसम्म आइपुग्दा ५.७४ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । बैंकले पछिल्लो समय समग्र बैकिङ बजारमा आफ्नो हिस्सा बढाउँदै गएको छ । समग्र अर्थतन्त्रमा कर्जाको मागमा उत्साह नभएको हालको अवस्थामा पनि बैंकले समग्र बैंकिङ उद्योगको तुलनामा उच्च कर्जा वृद्धि गर्न सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकले वार्षिक १३.२६ प्रतिशतको कर्जा वृद्धि गर्दै कुल तीन खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिए । उनले भने, ‘सोही अवधिमा वाणिज्य बैंकहरुको कर्जा वृद्धि २७७ अर्ब रुपैयाँ भई ७.४३ प्रतिशतको वार्षिक कर्जा वृद्धि गरी कुल ५२ खर्ब ५१ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।’ बैंकको व्यवसाय वृद्धि सँगसँगै शेयर मूल्यमा पनि वाणिज्य बैंकले सुधार गरिरहेको छ । विसं २०८२ चैत मसान्तमा बैंकको किताबी मूल्य बढेर ३५१/९८ प्रति शेयर पुगेको र प्रतिशेयर आम्दानी २३/५५ पुगेको बैंकले जनाएको छ । समयसापेक्ष ग्राहकको मागबमोजिम परिस्कृत रुपमा सेवा प्रवाह र सुविधा प्रदान गर्दै आएको सो बैंकले गत चैत मसान्तसम्म दुई अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । चैत मसान्तसम्म समग्र बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले निष्क्रिय कर्जा कम गर्ने सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले समग्र बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जा ५.२५ प्रतिशत रहेकामा त्यस बैंकको निष्क्रिय कर्जा ४.४८ प्रतिशत रहनु बैंकका लागि सकारात्मक पक्ष रहेको बताए । खराब कर्जालाई निरन्तर घटाउँदै लैजाने बैंक व्यवस्थापनले रणनीतिक योजना बनाई कार्य गरिरहको उनले स्पष्ट पारे । बैंकले सातै प्रदेश, ७७ जिल्लामा ३१६ शाखा कार्यालय, ३३४ एटिएम, एक लाख ४७ हजार क्युआर मर्चेन्ट र २० लाख ६२ हजार रुपैयाँ मोबाइल बैंकिङ प्रयोगकर्तासहित मुलुकको ग्रामीणदेखि सहरी क्षेत्रसम्म ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । वर्तमान आर्थिक परिवेश, न्यून कर्जा माग तथा बैंकिङ क्षेत्रमा विद्यमान चुनौतीकै अवस्थामा पनि रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको साख मूल्याङ्कनले बैंकको संस्थागत साखलाई ‘ए’ प्लसमा पुनःपुष्टि गर्नुले आफूलाई थप हौसला बढाएको प्रमुख कार्यकारी अधिकृत खनालले बताए । देशको सबैभन्दा बढी क्युआर मर्चेन्ट कारोबार गर्ने बैंकका रुपमा सो बैंक राष्ट्रियस्तरमा पुरस्कृत भइसकेको छ ।
सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने बताइएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।