काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकले कुल ६४ अर्ब ५६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशत अर्थात् १० अर्ब ५९ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वाणिज्य बैंकहरूले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ वटा बैंकको नाफा बढेको छ भने ६ वटा बैंकको नाफा घटेको छ । ११ महिनाको अवधिमा सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले कमाएको छ । बैंकको नाफा ३२.५१ प्रतिशत बढेर ८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
नाफा वृद्धिदरका आधारमा कुमारी बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकको खुद नाफा १ हजार १६८ प्रतिशत बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा ३७ करोड १० लाख रुपैयाँ मात्र थियो ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ६८ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, सानिमा बैंकको ४४.८४ प्रतिशत बढेर ३ अर्ब १२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ४४.२५ प्रतिशत बढेर २ अर्ब १७ करोड रुपैयाँ, प्राइम बैंकको २९.०६ प्रतिशत बढेर ३ अर्ब ७४ करोड रुपैयाँ, हिमालयन बैंकको २८.५९ प्रतिशत बढेर १ अर्ब १६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २६.३० प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ तथा सिटिजन्स बैंक इन्टरनेसनलको २३.७१ प्रतिशत बढेर १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार एनएमबी बैंकको नाफा १९.७८ प्रतिशत बढेर ३ अर्ब ६३ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको १८.६६ प्रतिशत बढेर १ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १२.१७ प्रतिशत बढेर २ अर्ब ८९ करोड रुपैयाँ, नेपाल बैंकको ८.३७ प्रतिशत बढेर ३ अर्ब ३२ करोड रुपैयाँ र कृषि विकास बैंकको ७.६७ प्रतिशत बढेर १ अर्ब ९५ करोड रुपैयाँ नाफा गरेका हुन् ।
समीक्षा अवधिमा एनआईसी एशिया बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको खुद नाफा घटेको छ । तीमध्ये एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ३८.८१ प्रतिशत घटेर ५० करोड रुपैयाँमा सीमित भएको छ ।
यस्तै, प्रभुको नाफा ३४.९१ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँ, एनआईएमबीको २१ प्रतिशत घटेर ४ अर्ब ४९ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डको ३.७४ प्रतिशत घटेर २ अर्ब ६२ करोड रुपैयाँ, एभरेष्टको २.७६ प्रतिशत घटेर ४ अर्ब १२ करोड रुपैयाँ तथा ग्लोबल आइएमईको ०.९६ प्रतिशत घटेर ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
