नबिल बैंकको सम्पत्ति ७.१८ खर्ब, उत्पादनशील क्षेत्रमा १.६१ खर्ब लगानी

काठमाडौं । नबिल बैंकको कुल सम्पत्ति ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंकको ४२औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म बैंकले आफ्नो सम्पत्ति ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुर्याएको हो ।

प्रमुख वित्तीय सूचकांकमा उल्लेखनीय वृद्धि हासिल गर्नुका साथै उत्पादनशील क्षेत्रमा कर्जा लगानीलाई तीव्र रूपमा विस्तार गरेको बैंकले जनाएको छ ।

बैंकले कृषि, ऊर्जा, पर्यटन तथा लघु, घरेलु, साना एवं मझौला उद्यम (एमएसएमई) लगायत उत्पादनशील क्षेत्रमा मात्रै करिब १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ र कुल कर्जा प्रवाह ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । 

बैंकको नेटवर्थ ७० अर्ब ८३ करोड रुपैयाँ र खुद नाफा ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

स्थापनाको सुरुआती वर्ष आर्थिक वर्ष २०४१/४२ मा बैंकको नेटवर्थ केवल २ करोड ८० लाख रुपैयाँ, खुद नाफा १० लाख रुपैयाँ, निक्षेप १४ करोड ६० लाख रुपैयाँ र कर्जा १३ करोड ३० लाख रुपैयाँ रहेको थियो । 

चार दशकको अवधिमा यी सबै सूचकांकमा उल्लेखनीय विस्तार भएको बैंकले जनाएको छ ।

उत्पादनशील क्षेत्रको लगानीलाई प्राथमिकतामा राख्दै नबिल बैंकले कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । यी चार क्षेत्रमा मात्रै बैंकको कुल लगानी करिब १ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।

सेवा विस्तारतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको जनाएको छ । दुई शाखा र १४४ कर्मचारीबाट सुरु भएको बैंकको सेवा अहिले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २ हजार ४६९ कर्मचारीसम्म पुगेको छ । 

बैंकले हाल २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

बैंकले आगामी दिनमा कृषि, ऊर्जा, पर्यटन तथा साना–मझौला उद्यमजस्ता उत्पादनशील क्षेत्रमा लगानी थप विस्तार गर्दै डिजिटल बैंकिङ र कृत्रिम बौद्धिकता (एआई)मा आधारित सेवा विकासलाई पनि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News