प्रभु बैंकले डाक्यो २२औं वार्षिक साधारण सभा, के छन् मुख्य एजेन्डा ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गतेका दिन काठमाडौं बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा बोलाएको हो । । उक्त सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र सञ्चालकहरूको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ । सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।
पैसा, सुन र घरजग्गाले भरिए बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको काम पैसाकाे कारोबार गर्ने हो । बचतकर्ताबाट निक्षेप लिने र सोही निक्षेपलाई ऋणीमा लगानी गरेर बैंकले आफ्नो बिजनेस गर्छन् । निक्षेपकर्तालाई दिएको ब्याजमा थोरै मार्जिन थपेर ऋणीलाई ऋण दिँदा प्राप्त भएको पैसालाई बैंकले आम्दानीका रूपमा गणना गर्छन् । बैंकले ऋणीबाट ऋण असुल गर्न सकेन भने धितोको रूपमा राखेको घरजग्गा, अन्य सम्पत्ति लिलाम वा बिक्री गरेर आफ्नो लगानी असुल गर्छन् । र, बाँकी रहेको पैसा ऋणीलाई नै फिर्ता गर्छन् । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सुनको कारोबार गर्न पाउने व्यवस्था पनि गरेको छ । सोही व्यवस्थाअनुसार बैंकहरूले सुन आयात गरेर व्यवसायीलाई बिक्री पनि गर्ने गरिरहेका छन् । तर, अहिले यो सबै कारोबार ठप्प नै छ भन्दा फरक नपर्ला । कुनै बेला तरलताको अभाव रहेको भन्दै ब्याज बढाउन प्रतिस्पर्धा गर्ने बैंकहरू अहिले तरलता बढी भएर ऋण लिनका लागि उद्योगी व्यवसायीलाई आग्रह गरिरहेका छन् । ब्याजदर घटाउँदा पनि ऋणीहरूबाट ऋणको माग नभएपछि अहिले बैंकर ठूलो तनाबमा छन् । यही तनाब नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले गत बिहीबार प्रस्तुत गरे । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले कर्जाको माग छैन, माग बढाउन निरन्तर ब्याजदर घटाइरहेका छौं, हाउजिङ र इलेक्ट्रिकल भेइकल लगायत क्षेत्रमा कर्जाको ब्याजदर एकल अंकमा झारिसक्यौं । तर, ऋणीबाट ऋणको माग हुन सकेको छैन ।’ उनले विगतमा ब्याज बढी भयो भनेर गुनासो आउने भएपनि अहिले ब्याज घट्दा पनि कर्जाको माग नहुनु बिडम्वना रहेको धारणा राखे । उनले कर्जाको ब्याज घटाए पनि माग नै नभएको गुनासो गरे । कर्जाको माग नबढ्नु बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रका लागि चिन्ताको विषय भएको उनको तर्क छ । अहिले बैंकिङ क्षेत्रमा ५ खर्ब बढी लगानीयोग्य रकम छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ८०.८८ प्रतिशत छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरूको सीडी रेसियो ९० प्रतिशत तल हुनुपर्छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह हुन नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंक तथा वित्तीय क्षेत्रमा कुल ६१ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप छ भने ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने प्रावधानअनुसार बैंकहरूसँग ५ खर्ब बढी कर्जा दिन सक्ने क्षमता छ । अहिले बैंकहरू राष्ट्र बैंकमा पैसा राख्न बाध्य छन् भने अन्तर बैंक कारोबार पनि न्यून ब्याजदरमा गरिरहेका छन् । ग्राहकबाट गुणस्तरीय कर्जाको माग हुन नसकेको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २८ अर्ब १८ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए । पैसाले भरिएका बैंकहरूसँग घरजग्गाको पनि अहिले भण्डारण छ । अहिले बैंकहरूले ऋण नतिर्ने ग्राहकबाट सकारेको घरजग्गा बिक्री गर्न सकेका छैनन् । एक बैंकरकाअनुसार सस्तोमा घरजग्गा बिक्री गर्छु भन्दा पनि ग्राहक पाउन सकिएको छैन । ऋण असुल नहुँदा बैंकको खराब कर्जा अनुपात बढेको बढ्यै छ । त्यसलाई कम गर्नका लागि पनि बैंकहरूले ऋणीले राखेको धितो लिलाम गर्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले लगानी गरेको ऋणलाई जोखिममुक्त पार्नका लागि धितोकारूपमा घरजग्गा राख्ने गरेका छन् । कुनै बेला घरजग्गा धितो राख्दा पनि बैंकलाई ऋण डुबे पनि फरक पर्थेन । किनकी घरजग्गाको मूल्य बढिरहेको थियो भने खरिद गर्ने ग्राहक पनि सजिलै पाउन सकिन्थ्यो । मन परेको घरजग्गा बैंक आफैंले सकार्थे । यसरी बैंक आफैंले स्वीकार गरेको सम्पत्तिलाई गैर-बैंकिङ सम्पत्ति भन्निछ । अहिले बैंकहरूलाई सोही गैर-बैंकिङ सम्पत्तिले पिरोलिरहेको छ । ‘पहिले बैंकले प्रकाशित गर्ने लिलामीका सूचनाहरू व्यवसायी या खरिदकर्ताले नियालिरहन्थे, सूचना आउने बित्तिकै बैंकमा आइहाल्थे । तर, अहिले केही सस्तोमा बिक्री गर्छौं भन्दा पनि ग्राहक पाइँदैनन्, बैंकका लागि गैर-बैंकिङ सम्पत्ति चिन्ताको विषय छ,’ एक बैंकका सीईओले भने । कुन बैंकको गैर-बैंकिङ सम्पत्ति कति ? हाल वाणिज्य बैंकसँग १९ अर्ब ९१ करोड ५० लाख रुपैयाँबराबरको गैर–बैंकिङ सम्पत्ति छ । सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति एनआइसी एसिया बैंकको छ । चालु आर्थिक वर्षको पुससम्म यस्तो सम्पत्ति ३ अर्ब ४० करोड नाघेको छ । चालु आर्थिक वर्षको पुससम्म ग्लोबलको २ अर्ब १८ करोड २० लाख, प्राइम कमर्सियल बैंकको २ अर्ब ७ करोड ९० लाख, नेपाल इन्भेष्टमेन्ट मेगाको १ अर्ब ९७ करोड ८० लाख, कुमारीको १ अर्ब ७६ करोड ४० लाख, नबिलको १ अर्ब ४९ करोड ६० लाख, माछापुच्छ्रेको १ अर्ब ४५ करोड १० लाख, लक्ष्मी सनराइजको १ अर्ब ४१ करोड १० लाख र हिमालयनको ८२ करोड ८० लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ । यस्तै, एनएमबि बैंकको ७९ करोड २० लाख, सिद्धार्थको ६४ करोड ४० लाख, प्रभुको ५४ करोड ६० लाख, सिटिजन्सको ३० करोड १० लाख, सानिमाको २५ करोड ८० लाख, कृषि विकासको २५ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकको १८ करोड ७० लाख, नेपाल बैंकको १८ करोड ५० लाख, एभरेष्टको १५ करोड ५० लाख र नेपाल एसबिआई बैंकको ७ करोड ७० लाखको गैर बैंकिङ सम्पत्ति रहेको छ । सुन पनि थुप्रियो बैंकमा पैसा र घरजग्गा मात्रै होइन सुन पनि थुप्रिएको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सोमबार तोलामा ६ सय रुपैयाँले सुनकाे मूल्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बढे पनि सुनको माग भने बजारमा एकदमै कम रहेको बुझिएको छ । सोही कारण पनि बैंकले आयात गरेको सुन बैंकमै थुप्रिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिले सुनको माग न्यून रहेको बताएको छ । नेपाल राष्ट्र बैंकले सुनको दैनिक कोटा २० किलो तोकेको भएपनि बजारमा दैनिक पाँच केजी सुन पनि बिक्री हुन सकेको छैन । अहिले कोटाअनुसार सुन खरिदबिक्री नभएको महासंघका अध्यक्ष माणिकरत्न श्रेष्ठले बताए । अहिले बैंकमा एक सय केजी बढी सुन मौज्दात रहेको बुझिएको छ । फागुन मसान्तसम्म करिब २ सय केजी सुन मौज्दात रहेकोमा चैत अन्त्यसम्म भने एक सय केजीको हाराहारीमा सुन छ । रुस र युक्रेनबीच जारी द्वन्द्व र डलरको भाउ उकालो लागेपछि सुनको भाउले कीर्तिमानी बनाएको छ । अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर सुनेकाे मूल्य निर्धारण गरिन्छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको १८ लाख ५ सय किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ ।
कामना सेवा विकास बैंकको केएसबीबीएल फाइनान्सियल फुटस्टेप्स भिडियो सार्वजनिक
काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज केएसबीबीएल फाइनान्सियल फुटस्टेप्सको टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ । १३ वटा श्रृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौतीहरु र माईलस्टोनहरु पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जिवनलाई पछ्याउँछ । प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ । भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले जनाएको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतबार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकले जनाएको छ । बैंकले बचत, ऋण तथा बैंकिङ कारोबार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।