कुमारी बैंकको ६ लाख ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी संस्थापक सेयरधनीहरूको नाममा रहेको ६ लाख ९८ हजार ५ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । इच्छुक संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

१० बैंकको २० अर्ब वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार चैत मसान्तसम्म वितरणयोग्य नाफा १० वाणिज्य बैंकको ऋणात्मक छ भने ७ बैंकको घटेको छ । चैत मसान्तसम्म १० वाणिज्य बैंकको वितरणयोग्य नाफा करिब २० अर्ब रुपैयाँले ऋणात्मक छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैतसम्म १० बैंकको १९ अर्ब ९७ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा हिमालयन बैंकको सबैभन्दा धेरै ५ अर्ब २४ करोड रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ५ अर्ब ८ करोड रुपैयाँ, कुमारी बैंकको ४ अर्ब २० करोड रुपैयाँ, एनआइसी एशिया बैंकको १ अर्ब ७२ करोड रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै, लक्ष्मी सनराइज बैंकको १ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकको १ अर्ब ६ करोड रुपैयाँ, एनएमबि बैंकको ४२ करोड ९२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ४२ करोड ३१ लाख रुपैयाँ, सिद्धार्थ बैंकको २७ करोड १२ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ३० करोड ५६ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । समीक्षा अवधिमा कृषि विकास, प्राइम बैंक, प्रभु, नबिल, एभरेष्ट बैंक, नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा सिटिजन्स, राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा धनात्मक छ । कृषि विकासको ९३.१३ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ र प्राइमको ३.९२ प्रतिशत बढेर ३१ करोड ३३ लाख रुपैयाँ वितरणयोग्य नाफा छ । गत वर्ष ऋणात्मक रहेको प्रभुको वितरणयोग्य नाफा यसपटक भने १६ करोड ६५ लाख रुपैयाँ धनात्मक छ । नबिल, एभरेष्ट बैंक, नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा सिटिजन्स, राष्ट्रिय वाणिज्यको वितरणयोग्य नाफा गत वर्ष चैत मसान्तको तुलनामा घटेको छ । नबिलको १२.६९ प्रतिशत घटेर १ अर्ब ५४ करोड रुपैयाँ, एभरेष्टको १८.२० प्रतिशत घटेर २ अर्ब ७५ करोड रुपैयाँ, नेपाल एसबिआईको २८.५३ प्रतिशत घटेर ८३ करोड ४३ लाख रुपैयाँ वितरण योग्य नाफा छ । स्ट्याण्डर्ड चार्टर्डको २९.१८ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँ, सानिमाको ३७.१८ प्रतिशत घटेर ७५ करोड ६८ लाख रुपैयाँ, सिटिजन्सको ८६.८१ प्रतिशत घटेर १ करोड ८९ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्यको ८९.१४ प्रतिशत घटेर २४ करोड ६२ लाख रुपैयाँ रहेको तथ्याङ्क छ ।

महालक्ष्मी विकास बैंकले गर्यो महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ । हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरुलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको थियो । पर्यावरणीय मैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न अन्य स्थानीय तहहरुमा समेत बैंकले हरित कर्जा अन्तर्गत यस्तो अभियान थप विस्तार गर्दै जानेछ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।