काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउनका लागि प्राथमिकताका साथ काम गरिरहेको छ । अबको दुई वर्षभित्र सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) सार्वजनिक गर्ने रणनीतिका साथ राष्ट्र बैंकले काम गरिरहेको हो । डिजिटल करेन्सीको विषयमा अध्ययन गर्नका लागि राष्ट्र बैंकले छुट्टै महाशाखा निर्माण गरेर काम गरिरहेको छ ।
विभिन्न देशहरूले डिजिटल करेन्सीलाई प्रयोगमा ल्याइसकेको बेला राष्ट्र बैंक पनि छिट्टै आफ्नै डिजिटल करेन्सी ल्याउनका लागि अध्ययनमा जुटेको बताएको छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डा.डिल्लीराम पोखरेलले अहिले राष्ट्र बैंकले छुट्टै टीम बनाएर भुक्तानी प्रणाली विभागको मातहतमा रहेर काम भइरहेको बताए । उनका अनुसार सन् २०२६ को अन्तिमसम्म डिजिटल करेन्सीको नमुना परीक्षण हुनेछ ।
‘हामी २०२६ भित्रै डिजिटल करेन्सी ल्याउन सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौं, त्यसका लागि छुट्टै टिम अध्ययन गरिरहेको छ, यो बिचमा राष्ट्र बैंकले चाहेअनुसारको ऐन कानुनहरू संशोधन हुन सक्यो भने दुई वर्षभित्रै हामीले नमुना परीक्षण गर्न सक्छौं,’ उनले भने ।
सरकारले गत चैत ५ गते संसदमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३’ संशोधनका लागि पेस गरेको थियो । सो विधेयकमा डिजिटल मुद्राको विषय पनि उल्लेख छ । उक्त विधेयकले डिजिटल मुद्रालाई स्वीकार गर्न तथा झुक्तानी दिइने विषय प्रस्ताव गरिएको छ । नेपालमा हुने डिजिटल कारोबारमा डिजिटल मुद्रालाई पनि स्थान दिने र वित्तीय संस्थाले डिजिटल मुद्राको कारोबार गर्न सक्ने व्यवस्था आवश्यक भएकोले उक्त प्रस्ताव गरिएको विधेयकमा उल्लेख छ ।
डिजिटल करेन्सी ल्याउने नीतिगत व्यवस्था भएको भने लामो समय भएको छैन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् आफ्नै डिजिटल करेन्सी सार्वजनिक गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि राष्ट्र बैंकले अध्ययन थालेको थियो । राष्ट्र बैंकका निर्देशक अनुज दाहालको नेतृत्वमा राष्ट्र बैंकले ६ सदस्यीय डिजिटल करेन्सी अध्ययन समिति पनि बनाएको थियो । सो समितिले अध्ययन गरेर राष्ट्र बैंक समक्ष प्रतिवेदन पनि बुझाइसकेको छ । सो सो बेला सीबीडीसी परियोजनामा लागू गर्न सम्भाव्यता अध्ययन गरेको थियो ।
सो समितिको प्रतिवेदनले नेपालमा डिजिटल करेन्सी सञ्चालनमा ल्याउन नयाँ कानून बनाउनु पर्ने वा हालको ऐन संशोधन गर्नु पर्ने देखाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई संशोधनको कार्य अगाडि बढाएको हो ।
डिजिटल करेनसीको विषयमा राष्ट्र बैंकले अहिले विदेशी अभ्यास पनि अध्ययन गरिरहेको छ । ‘हामीले विदेशी अभ्यास र उनीहरूले डिजिटल करेन्सीमा गरेको प्रगतिको विषयमा पनि अध्ययन गर्दैछौं, उनीहरूको अनुभव पनि हामीलाई चाहिन्छ, सबै अध्ययन भइसकेपछि हामीले डिजिटल करेन्सी सार्वजनिक गर्छौं,’ पोखरेलले भने ।
छिमेकी चीनमा औपचारिकरूपमै ‘डिजिटल युवान’ सञ्चालनमा आइसकेको छ । भारतले समेत आफ्नै डिजिटल करेन्सी ई–रूपे सञ्चालनमा ल्याइसकेको छ । यी दुवै देशले डिजिटल करेन्सीमा प्रभावकारी काम गर्दै आएका छन् ।
स्रोतकाअनुसार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले डिजिटल बैंक स्थापना गर्न सक्ने डिजिटल करेन्सीको विषयमा व्यापक नीति सार्वजनिक गर्न सक्नेछ । अहिले डिजिटल बैंक पनि बहसका रूपमा देखा परेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नै डिजिटल बैंक खोल्न सक्ने गरी नीति बनाउन लागेको पनि बुझिएको छ ।
‘डिजिटल करेन्सी राष्ट्र बैंकले जारी गरेर वाणिज्य बैंकलाई वितरण गर्ने र त्यसबाट साधारणमा पुर्याउने विषयमा अहिले छलफल भइरहेको छ, यो व्यवस्था आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् गर्ने कि भनेर पनि तयारी भइरहेको छ, तयारी सकियो भने नीतिगत व्यवस्था मौद्रिक नीतिबाट आउन सक्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
स्रोतकाअनुसार कहिलेसम्म नगदलाई पूर्णरुपमा विस्थापित गरेर पूर्णरूपमा डिजिटलाइज गर्न सकिन्छ भनेर छलफल हुन्छ, सोही आधारमा डिजिटल बैंक र डिजिटल करेन्सी सम्बन्धि थप नीतिगत व्यवस्था हुन्छ ।
प्रविधिको बढ्दो प्रयोगले डिजिटल करेन्सी प्रयोगमा ल्याउन पनि सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ । डिजिटलरूपमा हुने चोरी–पैठारीको चुनौती थपेसँगै त्यसको समस्या समाधान गर्न राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउने भएको हो । अहिले विश्वका अधिकांश देशले डिजिटल करेन्सीमा खोज तथा अनुसन्धान गरिरहेका छन् ।
कस्तो बन्छ डिजिटल बैंक ?
नेपाल राष्ट्र बैंकले डिजिटल बैंकको अवधारणा अगाडि सार्ने बहस सुरु भएसँगै यो कस्तो बैंक बन्छ भन्ने विषयले पनि प्राथमिकता पाएको छ । बैंकहरू बढी भनेर बिग मर्जरको नीति अगाडि सारेको राष्ट्र बैंकले डिजिटल बैंकको अवधारणा कसरी बनाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
राष्ट्र बैंककाअनुसार डिजिटल बैंकमा बैंकिङ सम्बन्धि सबै कार्य अनलाइनबाट नै हुन्छ । अहिले कायम रहेका बैंकले भौतिकरूपमा र विभिन्न शाखाहरू
स्थापना गरेर सेवा दिइरहेको भए पनि डिजिटल बैंकले भने अनलाइनबाट सेवा दिनेछ । डिजिटल बैंकको कुनै शाखा पनि हुने छैन ।
डिजिटल बैंकको सेवा लिन शाखा कार्यालय धाउन नपर्ने सह-प्रवक्ता पोखरेल बताउँछन् । उनले डिजिटल बैंक र डिजिटल बैंकिङ फरक भएको बताए ।
‘अहिलेका बैंकहरूले डिजिटल बैंकिङ सेवा दिइरहेका छन्, डिजिटल बैंक फरक हो,’ डिजिटल बैंकमा निक्षेप संकलन र ऋण प्रवाहको काम अनलाइनबाट नै हुन्छ,’ उनले भने ।