कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१८ प्रतिशत बढ्यो
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा २ करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको चैतमा १ करोड ७३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ६६.१८ प्रतिशत बढी हो । चैत मसान्तसम्ममा बैंकले ८ करोड ३१ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १० करोड १९ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८ करोड ९२ लाख रुपैयाँ, सञ्चालन नाफा २ करोड ८८ लाख रुपैयाँ, नेट पि एण्ड कमिसन आम्दानी६१ लख ८७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा भने२ करोड ५१ लाख ३४ हजार रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ र जगेडा कोष ५ करोड ३५ लाख रुपैयाँ रहेको छ । साथै, बैंकले ४ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४० करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ । यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ७१.५६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०५.७५ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.२६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । यस्तै, बैंकको आधार दर ११.४७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७२.६३ प्रतिशतमा झरेको छ ।
२० प्रतिशतसम्म घट्यो बैंकको कर्जाको ब्याज
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपतर्फको ब्याजदर घट्दा ऋणीहरूलाई राहत भएको छ । पछिल्लो एक वर्षको अवधिमा बैंकहरूको निक्षेपको लागत घटेपछि कर्जातर्फको ब्याजदर औसत २० प्रतिशतसम्म घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको तथ्याङ्क अनुसार कर्जाको आधारदर वाणिज्य बैंकको औसत १७.६४ प्रतिशत र विकास बैंकको १९.७३ प्रतिशत घटेको हाे । बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि आधारदर पनि घट्न गई कर्जातर्फको ब्याजदर पनि स्वतः घट्छ । बैंकहरूको आधारदर घट्नु नै कर्जाको ब्याजदर घट्नु हो । जसआधारमा गत वर्ष चैतको तुलनामा बैंकहरूको कर्जाको लागत पनि घटेको हो । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । बैंकहरूले आधारदरमा प्रिमियम थपेर ब्याजदर तोक्छन् । आधारदर जति नै कम भयो बैंकको ब्याजदर पनि त्यतिनै कम हुँदै जान्छ । चैत मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जाको आधादर औसत ८.६४ प्रतिशतमा झरेको छ । जबकी गत आर्थिक वर्षको चैतमा १०.४९ प्रतिशत आधार दर थियो । एक वर्षको अवधिमा वाणिज्य बैंकको आधार दर १७.६४ प्रतिशत अर्थात् १.८५ प्रतिशत बिन्दु घटेको देखिन्छ । समीक्षा अवधिमा सबैभन्दा कम आधार दर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकले आधार दर २९.५५ प्रतिशत घटाएर ६.५३ प्रतिशत बिन्दुमा झरेको छ । यस्तै, सानिमा बैंकले २१.४४ प्रतिशत घटाएर ८.३५ प्रतिशत बिन्दु, प्रभु बैंकले २१.१७ प्रतिशत घटाएर ८.७५ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकले २०.६८ प्रतिशत ८.९७ प्रतिशत बिन्दुमा आधार दर झारेका छन् । नेपाल बैंकले १९.४५ प्रतिशत घटाएर ७.९९ प्रतिशत बिन्दु, सिटिजन्स बैंकले १९.२९ प्रतिशत घटाएर ८.९९ प्रतिशत बिन्दु, नेपाल एसबिआई बैंकले १९.२२ प्रतिशत घटाएर ८.९५ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकले १९.०४ प्रतिशत घटाएर ८.४६ प्रतिशत बिन्दुमा आधार दर झारेको छ । एभरेष्ट बैंकले १८.२० प्रतिशत घटाएर ८.१३ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकले १७.७६ प्रतिशत घटाएर ९.१२ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकले १७.३० प्रतिशत घटाएर ८.८४ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकले १६.९५ प्रतिशत घटाएर ८.५२ प्रतिशत बिन्दु छ । नबिल बैंकले १६.३१ प्रतिशत घटाएर ८.३६ प्रतिशत बिन्दु, प्राइम बैंकले १५.८० घटाएर ९.२७ प्रतिशत बिन्दु, कृषि विकास बैंकले १५.४८ प्रतिशत घटाएर ८.६८ प्रतिशत बिन्दु, एनआइसी एशिया बैंकले १५.४५ प्रतिशत घटाएर ८.८६ प्रतिशत बिन्दु, एनएमबि बैंकले १३.७६ प्रतिशत घटाएर ९.१५ प्रतिशत बिन्दुमा आधार दर झारेको छ । राष्ट्रिय वाणिज्य बैंकले १३.७२ प्रतिशत घटाएर ७.४२ प्रतिशत बिन्दु, कुमारी बैंकले ११.८९ प्रतिशत घटाएर ९.६३ प्रतिशत बिन्दु र हिमालयन बैंकले ११.०३ प्रतिशत घटाएर ९.८४ प्रतिशत बिन्दुमा आधार दर छ । समीक्षा अवधिमा विकास बैंकहरूको आधार दर औसत १९.७३ प्रतिशत घटेर १०.४३ प्रतिशतमा झारेका छन् । गत आर्थिक वर्षको चैतमा विकास बैंकहरूको औसत आधार दर १२.०४ प्रतिशत थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २६ प्रतिशत घटेर ९.०४ प्रतिशत बिन्दुमा सीमित भएको छ । यस्तै, गरिमा विकास बैंकले २३.७१ प्रतिशत घटाएर ९.४९ प्रतिशत बिन्दु, एक्सल डेभलपमेन्ट बैंकले २३.३३ प्रतिशत घटाएर ९.२० प्रतिशत बिन्दु, ज्योति विकास बैंकले २१.१६ प्रतिशत घटाएर ९.९८ प्रतिशत बिन्दु, कर्पाेरेट डेभलपमेन्ट बैंकले २०.२२ प्रतिशत घटाएर १०.५३ प्रतिशत बिन्दुमा आधार दर कायम राखेका छन् । ग्रीन डेभलपमेन्ट बैंकले २०.२० प्रतिशत घटाएर १०.८२ प्रतिशत बिन्दु, सप्तकोशी डेभलपमेन्ट बैंकले १९.९६ प्रतिशत घटाएर १०.४६ प्रतिशत बिन्दु, महालक्ष्मी विकास बैंकले १९.९५ प्रतिशत घटाएर ९.८७ प्रतिशत बिन्दु, कामना सेवा विकास बैंकले १९.६६ प्रतिशत घटाएर १०.०९ प्रतिशत बिन्दु, मुक्तिनाथ विकास बैंकले १८.९६ प्रतिशत घटाएर १०.०४ प्रतिशत बिन्दु आधार दरमा प्रिमियम थप गरी कर्जा प्रदान गर्ने छन् । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले १८.९२ प्रतिशत घटाएर १०.०७ प्रतिशत बिन्दु, मितेरी डेभलपमेन्ट बैंकले १ड.२२ प्रतिशत घटाएर १०.१४ प्रतिशत बिन्दु, सिन्धु विकास बैंकले १७.८३ प्रतिशत घटाएर १०.९२ प्रतिशत बिन्दु, लुम्बिनी विकास बैंकले १४.२४ प्रतिशत घटाएर १०.७२ प्रतिशत बिन्दु, नारायणी डेभलपमेन्ट बैंकले ११.२८ प्रतिशत घटाएर १५.०९ प्रतिशत बिन्दु आधार दरमा प्रिमियम थपेर कर्जा प्रदान गर्ने छन् ।
सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको हो । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका हुन् । भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार देखी २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् । भर्चुअल क्रेडिट कार्ड क्यूआरकोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ई.एम.आइ को सुविधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधि भित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशत देखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।