शाइन रेसुङ्गा डेभलपमेन्टको साधारण सभा असोज २८ मा, १६ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १८औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते आयोजना गर्ने भएको छ । बैंकको सञ्चालक समितिको असोज २ गते बसेको ३३९औँ बैठकले वार्षिक साधारण सभाको मिति, स्थान र लाभांश प्रस्ताव स्वीकृत गरेको हो । सभा बुटवलस्थित होटल सेफ्रन सीके प्रालि (हायात प्लेस) मा बिहान ११ः३० बजे सुरु हुनेछ । बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ । बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने तथा त्यसअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ । वार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश प्रयोजनका लागि बैंकले असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असोज १२ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्रै सभा सहभागिता र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छलफल हुनेछ । यस्तै, सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधा वृद्धि गर्ने, आवश्यक परे नियामक निकायको निर्देशनअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट बिदा भए ५ जना उपनिर्देशक
काठमाडौं । भदौ महिनामा नेपाल राष्ट्र बैंकका विभिन्न विभाग तथा कार्यालयमा कार्यरत पाँच जना उपनिर्देशकले बैंक सेवाबाट अवकाश पाएका छन् । राष्ट्र बैंकका अनुसार नेपालगञ्ज कार्यालयका प्रकाशकुमार धितालले भदौ १ गते, मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक हरिगोविन्द महर्जनले भदौ १४ गते, बैंकिङ विभागका देवराज घिमिरेले भदौ १५ गते, टक्सार महाशाखाका धनबहादुर श्रेष्ठले भदौ १६ गते र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका इन्द्रप्रसाद शर्माले भदौ ३० गतेदेखि बैंक सेवाबाट अवकाश पाएका हुन् । मानव संसाधन व्यवस्थापन विभागका अनुसार उनीहरूले ५८ वर्षे उमेरहदका आधारमा बैंक सेवाबाट अवकाश पाएका हुन् ।
हिमालयन बैंकबाट बाहिरिँदै ४ संस्थापक सेयरधनी
काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका छन् । बैंकका संस्थापक सेयरधनी अमिर रत्न डंगोल, मिना महर्जन, त्रिरत्न महर्जन र विश्वेश श्रेष्ठले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार अमिर रत्न डंगोलले १ लाख कित्ता, मिना महर्जनले ३ लाख ९३ हजार ६६९ कित्ता, त्रिरत्न महर्जनले ३ लाख १७ हजार ४७३ कित्ता र विश्वेश श्रेष्ठले ३८ हजार ९८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर खरिद गर्न ३५ दिनको समय दिएको थियो । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नआएपछि अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार आवश्यक योग्यता पूरा गरेको हुनुपर्नेछ । इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र निवेदन दिनुपर्नेछ ।