राष्ट्र बैंकका निवृत्तदेखि बीमाका पूर्वसीईओसम्म, कोसँग कस्तो छ अनुभव ?
काठमाडौं । लक्ष्मी सनराइज बैंकले वित्तीय सेवा विस्तारसँगै संस्थागत सुशासन, व्यावसायिक दक्षता र अनुभवी नेतृत्वलाई प्राथमिकता दिँदै आएको छ । कम्पनी ऐन, २०६३ बमोजिम २०५८ असोज ११ गते दर्ता भएको लक्ष्मी बैंकले २०५८ चैत ८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने अनुमति प्राप्त गरेको थियो । ‘क’ वर्गको वाणिज्य बैंकका रूपमा कारोबार गर्दै आएको लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा गाभिएपछि २०८० असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकका नाममा एकीकृत कारोबार सुरु भएको हो । बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ रहेको छ । बैंकमा संस्थापक सेयरधनीको ५१.०५ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४८.९५ प्रतिशत स्वामित्व रहेको छ । अर्थविद्, उद्योगपति तथा व्यावसायिक संस्थापकहरूको लगानीमा स्थापना भएको बैंकको सञ्चालक समितिमा बैंकिङ, बीमा, लगानी, जलविद्युत्, उद्योग तथा अनुसन्धान क्षेत्रका अनुभवी व्यक्ति आबद्ध छन् । रमण नेपाल बैंकका अध्यक्ष रमणसँग नेपाल बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव छ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी निर्देशक पदबाट अवकाश पाएका नेपालले केन्द्रीय बैंकको नियमन, वित्तीय व्यवस्थापन तथा संस्थागत सञ्चालनमा लामो अनुभव हासिल गरेका छन् । तीन दशक लामो सेवा अवधिमा उनले केन्द्रीय बैंकको कार्यप्रणाली, वित्तीय क्षेत्रको नियमन तथा मौद्रिक व्यवस्थापनसम्बन्धी अनुभव प्राप्त गरेका छन् । राष्ट्र बैंकको निर्देशक पदबाट अवकाश भएपछि पनि उनी वित्तीय क्षेत्रको नेतृत्वदायी भूमिकामा सक्रिय रहे । राष्ट्र बैंकबाट अवकाश पाएपछि नेपालले २०७५ देखि २०८१ सम्म नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनले विद्युत् उत्पादक कम्पनी लिमिटेड तथा माथिल्लो तामाकोशी जलविद्युत् लिमिटेडमा सञ्चालकका रूपमा काम गरेका छन् । त्यसैगरी, उनी बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका कोषाध्यक्षसमेत हुन् । दिनेश पौड्याल लक्ष्मी सनराइज बैंकका सञ्चालक दिनेश पौड्यालसँग वित्तीय क्षेत्र, जलविद्युत्, औद्योगिक व्यवसाय तथा संस्थागत व्यवस्थापनमा अनुभव छ । पौड्याल सन् २०१४ फेब्रुअरीदेखि लक्ष्मी सनराइज बैंकको सञ्चालकका रूपमा कार्यरत छन् । उनी सन् २०२५ जनवरीदेखि म्याग्दीस्थित धौलागिरि कालिका हाइड्रोपावर लिमिटेडमा वित्तीय सल्लाहकारका रूपमा कार्यरत छन् । त्यसैगरी, उनी सन् २०२२ जनवरीदेखि कियान केमिकल्स इन्डस्ट्री प्रालिका सञ्चालक छन् । उनी सन् २०१४ जनवरीदेखि डेलिम मोनोरेल नेपालका सञ्चालकका रूपमा पनि कार्यरत छन् । पौड्यालले जलविद्युत् क्षेत्रमा कार्यकारी नेतृत्वको अनुभवसमेत हासिल गरेका छन् । उनले सन् २०१५ फेब्रुअरीदेखि २०२२ जुलाईसम्म भैरवकुण्ड हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनको व्यावसायिक यात्रा लेखा तथा वित्तीय व्यवस्थापनबाट सुरु भएको देखिन्छ । उनले सन् २००० अक्टोबरदेखि २०१४ नोभेम्बरसम्म एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा लेखापालका रूपमा काम गरेका थिए । त्यस्तै, पौड्यालले सन् २०५८ देखि २०७१ सम्म एभरेस्ट इन्स्योरेन्सको वित्तीय विभागमा काम गरेका थिए । उनी सिन्धु इन्भेस्टमेन्ट प्रालिका सञ्चालक तथा २०६७ देखि २०७१ सम्म शुभ टाइम्स सेभिङ एन्ड कोअपरेटिभका अध्यक्षसमेत रहेका थिए । उनले नेपाल उद्योग वाणिज्य महासंघको महासचिवका रूपमा पनि काम गरेको अनुभव छ । व्यावसायिक क्षेत्रबाहेक पौड्याल सामाजिक तथा शैक्षिक गतिविधिमा पनि संलग्न छन् । उनी सन् २००६ अक्टोबरदेखि २०२५ अप्रिलसम्म रिडर्स क्लब नेपालका उपाध्यक्ष थिए । शैक्षिक रूपमा पौड्यालले त्रिभुवन विश्वविद्यालयबाट सन् २००२ देखि २००९ सम्म व्यवस्थापन तथा वाणिज्य विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । मनोज कुमार भट्टराई बैंकका सञ्चालक मनोजकुमार भट्टराई भट्टराईले आफ्नो व्यावसायिक यात्रामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा नेतृत्व गरेका थिए । उनले नेपाल लाइफ इन्स्योरेन्समा सन् २००८ मार्चदेखि २०११ जुनसम्म सीईओको जिम्मेवारी सम्हालेका थिए त्यसैगरी, उनले सन् २०११ जुलाईदेखि ग्रान्ड बैंक नेपाल लिमिटेडमा महाप्रबन्धकका रूपमा काम गरेका थिए । भट्टराईले तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सीईओको रूपमा समेत लामो समय नेतृत्व गरेका थिए । वि.सं. २०७१ देखि २०७९ सम्म उक्त संस्थाको नेतृत्व सम्हालेका उनले बीमा व्यवसायको व्यवस्थापन, संस्थागत विस्तार तथा सञ्चालनमा अनुभव हासिल गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट सन् १९७९ देखि १९८१ सम्म वित्त तथा वित्तीय व्यवस्थापन विषयमा व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । स्वाती रुङ्गटा स्वाति रुंगटा अग्रवाल नेपालको वित्तीय तथा लगानी क्षेत्रमा सक्रिय महिला व्यावसायिक व्यक्तित्व हुन् । निजी इक्विटी, उद्यम पुँजी, बैंकिङ, बीमा तथा पूर्वाधार क्षेत्रमा लगानी र व्यावसायिक विकासका अवसर पहिचान गर्दै आएकी अग्रवाल ग्लोबल इक्विटी फन्डकी प्रबन्ध साझेदार तथा लक्ष्मी बैंककी सञ्चालक हुन् । अग्रवाल सन् २०२१ मेदेखि ग्लोबल इक्विटी फन्डको प्रबन्ध साझेदारका रूपमा कार्यरत छिन् । यो नेपालमा स्थापना भएको पहिलो संस्थागत निजी इक्विटी तथा उद्यम पुँजी कोषका रूपमा परिचित छ । ग्लोबल इक्विटी फन्डले विभिन्न क्षेत्रमा करिब तीन करोड ५० लाख अमेरिकी डलर बराबरको लगानी पोर्टफोलियोसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ । यस कोषको प्रवर्द्धनमा लक्ष्मी बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स र लक्ष्मी कर्पको संलग्नता रहेको छ । बैंकिङ क्षेत्रमा पनि अग्रवालको लामो अनुभव छ । उनी सन् २०१३ फेब्रुअरीदेखि लक्ष्मी बैंकको सञ्चालकका रूपमा कार्यरत छिन् । बैंकको सञ्चालक समितिमा रहँदा उनले जोखिम व्यवस्थापन समिति, मानव संसाधन समिति तथा गाभ्ने र प्राप्ति गर्ने प्रक्रियासम्बन्धी समितिमा रहेर जिम्मेवारी निर्वाह गरेकी छन् । बैंकको रणनीतिक व्यवस्थापन र संस्थागत निर्णय प्रक्रियामा उनको सहभागिता रहँदै आएको छ । बैंकिङ र लगानीबाहेक अग्रवाल उद्यमशीलता तथा व्यापार क्षेत्रमा पनि सक्रिय छिन् । उनी सन् २०१३ मार्चदेखि साना इम्पेक्सकी संस्थापक सञ्चालक हुन् । उक्त संस्थाले नेपालमा विभिन्न उपभोग्य वस्तुका प्रमुख ब्रान्डको बजारीकरण तथा वितरण गर्दै आएको छ । यसअघि उनले सन् २०१२ जुनदेखि २०१४ जुनसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा स्वतन्त्र सञ्चालकका रूपमा काम गरेकी थिइन् । त्यस्तै, सन् २००९ जुनदेखि २०१० सेप्टेम्बरसम्म अन्तर्राष्ट्रिय वित्तीय संस्था क्रेडिट स्विसमा पनि कार्यानुभव हासिल गरेकी छन् । शैक्षिक रूपमा अग्रवालले भारतको सिम्बायोसिस इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्टबाट सन् २००७ देखि २००९ सम्म वित्त विषयमा व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् । त्यसअघि उनले लेडी श्रीराम कलेज फर विमेनबाट सन् २००४ देखि २००७ सम्म वाणिज्य विषयमा स्नातक अध्ययन पूरा गरेकी थिइन् । उनले भारतको अशोक हल गर्ल्स आवासीय विद्यालयबाट उच्च माध्यमिक तहको शिक्षा हासिल गरेकी छन् । विद्या बस्न्यात स्वतन्त्र सञ्चालक विद्या बस्न्यातले एम.बि.ए गरेकी छिन् । उनी २०६० सालदेखि बैंकमा आबद्ध रहँदै आएकी छिन् । उनी नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट (कार्यकारी समिति सदस्य) पनि हुन् ।
मुक्तिनाथ विकास बैंकमा व्यवसाय कर्जा स्वाप गर्दा आधार दरमै ऋण पाइने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ । बैंकले लक्ष्मीपूजाको अवसर पारेर २०८३ कात्तिक २२ गतेदेखि सुरु गरेको यो अभियान पुस मसान्तसम्म सञ्चालन हुनेछ । महोत्सवअन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीलाई आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने सुविधा उपलब्ध गराएको छ । यस योजनाअनुसार अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको व्यवसाय कर्जा मुक्तिनाथ विकास बैंकमा स्वाप गर्दा आधार दरमा शून्य प्रतिशत प्रिमियम अर्थात् आधार दरमै कर्जा प्राप्त गर्न सकिनेछ । बैंकका अनुसार यस योजनाले व्यवसायीलाई सहज र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउनुका साथै वित्तीय व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ । विशेषगरी साना तथा मझौला उद्यमीलाई व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक वित्तीय स्रोतको पहुँच सहज बनाउने बैंकको उद्देश्य छ । बैंकले ग्राहकको आवश्यकता, व्यवसायको सम्भावना र उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न वित्तीय सेवा तथा सुविधा प्रदान गर्दै आएको जनाएको छ । एसएमई महोत्सव पनि उद्यमशीलता प्रवर्द्धन र व्यवसायीलाई थप वित्तीय अवसर उपलब्ध गराउने प्रयासको हिस्सा रहेको बैंकले जनाएको छ । यस योजनाबाट लाभ लिन इच्छुक व्यवसायी तथा उद्यमीले मुक्तिनाथ विकास बैंकका नजिकका शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् ।
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । तिहारको सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्थाले बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भन्सार कार्यालयमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाबाट सार्वजनिक बिदाका दिनसमेत आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले व्यापार सहजीकरण, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न तिहार बिदामा समेत बैंकिङ सेवा सञ्चालन गर्न अनुरोध गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो । भन्सार विभागको कात्तिक १८ गतेको पत्रका आधारमा राष्ट्र बैंकले कात्तिक २२ गतेदेखि २६ गतेसम्म सार्वजनिक बिदाका दिन भन्सार कार्यालयमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवश्यक बैंकिङ सेवा सुचारु राख्न भनेको छ । तिहारको लामो सार्वजनिक बिदाका कारण मालवस्तुको भन्सार जाँचपास प्रक्रिया प्रभावित हुन नदिन तथा आयात–निर्यातसँग सम्बन्धित कारोबारमा अवरोध हुन नदिन यस्तो व्यवस्था गरिएको हो । राष्ट्र बैंकको निर्देशन बमोजिम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले भन्सार कार्यालयमा रहेका आफ्ना शाखाबाट आवश्यक बैंकिङ सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ ।