मेसिनबाटै यसरी गर्न सकिन्छ सिटिजन्स बैंकमा चेक डिपोजिट
काठमाडौं । तपाई सिटिजन्स बैंकको ग्राहक हुनुहुन्छ ? यदि हुनुहुन्छ भने चेक जम्मा गर्न काउन्टरमै पुगेर लाइन लाग्नुपर्ने झन्झटलाई बैंकले अन्त्य गरेको छ । अब एक/डेढ मिनेटमै चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सुविधा बैंकले गरेको छ । एटीएम मेसिनमार्फत् ग्राहकहरूले चेकमा भएको रकम बैंक खातामा जम्मा गर्न सकिने बैंकले जनाएको छ । बैंकका ट्रान्जिक्सनल बैंकिङ हेड सुयेश कुमार पौडेलका अनुसार बुटवल, वीरगञ्ज, विराटनगर, कलङ्की, दरबारमार्ग, नयाँ बजारमा चेक डिपोजिट मेसिन सञ्चालनमा छन् । जुन शाखामा चेकको कारोबार बढी हुन्छ सो शाखामा चेक डिपोजिट मेसिन सञ्चालनमा छन् । ग्राहकलाई छिटो सेवा दिने उद्देश्यले चेक आफ्नो खातामा जम्मा गर्न सक्ने मेसिन सञ्चालनमा ल्याएको उनले बताए । ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न चेक डिपोजिट मेसिनले सहयोग पुर्याउने उनको भनाइ छ । अब बैंकको शाखा कार्यालयको काउन्टर बन्द भएको समयमा पनि चौविसै घण्टा चेक डिपोजिट गर्न सकिने बैंकले जनाएको छ । यो प्रविधि चेक डिपोजिट मात्रै नभएर सुरक्षाका हिसाबले पनि अत्यन्तै मजबुत रहेको बैंकको भनाइ छ । बैंकका अनुसार यसमा चेक जम्मा गर्न आउने मान्छेको विवरण अनलाइनबाट डिजिटल भेरिफाइ हुन्छ । चेक डिपोजिट गर्दा सबै गतिविधि डिजिटल रेकर्ड हुने भएकाले आगामी दिनमा तथ्याङ्क खोज्न वा रेकर्ड निकाल्न गाह्रो नहुने बैंकको दाबी छ । चेक डिपोजिट मेसिन पूर्णरुपमा पेपरलेस भएकाले वातावरणमैत्री रहेको बैंकले बताएको छ । कसरी डिपोजिट गर्ने ? बैंकका अनुसार एउटा चेक जम्मा गर्न एकदेखि डेढ मिनेट लाग्छ । पहिला काउन्टरमा जम्मा गर्दा चेकमा हस्ताक्षर गरिन्थ्यो भने अब हस्ताक्षर गर्नुपर्दैन । तर, त्यसको सट्टा मोबाइल नम्बर आवश्यक पर्छ । सुरुमा चेक डिपोजिट मेसिनमा दुईवटा भाषा देखिन्छ । दुइटा भाषामध्ये आफूलाई कुन भाषा अनुकुल हुन्छ सोमा छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि जसको खातामा चेक जम्मा गर्नुपर्ने हो सो व्यक्तिको खाता नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि नाम र आफ्नो मोबाइल नम्बर लेख्नुपर्छ । त्यसपछि अमाउन्ट (रकम) लेखेको ठाउँमा चेकमा उल्लेखित रकम भर्नुपर्ने हुन्छ । त्यसपछि बैंक खाता नम्बर राख्नुपर्ने हुन्छ । मिति लेखिएको ठाउँमा चेकमा उल्लेख गरिएको मिति लेख्नुपर्ने हुन्छ । हालसम्मका विवरण सही छन् भने नेक्स्ट (अर्काे) मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि इन्टर्न योर चेक लेखिएको ठाउँमा चेकको पाना छिराउनुपर्ने हुन्छ । त्यसपछि चेक जम्मा भएको रिसिप्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
आज पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बिहीबार पनि बजारबाट ५० अर्ब रुपैयाँ खिचेको थियो । शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने बैंकले जनाएको छ । यसका लागि मध्यान्ह १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति असार २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा डाकेको छ । बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले असार २९ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहानको ११ बजे सभा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ । त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रयोजनका लागि आवश्यक प्रक्रिया अघि बढाउने र सञ्चालक समितिलाई अख्यिारी दिने प्रस्ताव पनि पारित गर्ने जनाएको छ । सभा प्रयाजनार्थ बैंकले असार १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।