ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै, साना व्यवसाय प्रर्वद्धन गरिने

काठमाडौं । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । यो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्वारा सञ्चालित व्यवसायहरुको क्षमता अभिवृद्धि गर्न परिचालन गरिनेछ । लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरुले लगानीको ठूलो अभाव झेलिरहेका छन् । ‘नेपालमा लघु, साना तथा मझौला व्यवसायहरु र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनाहरुलाई सुदृढ बनाउन ग्लोबल आइएमई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यी क्षेत्रहरु दिगो आर्थिक वृद्धि र जलवायु परिर्वतनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्वपूर्ण छन् । हाम्रो यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवद्र्धन गर्नेछ,’ अल्खलिफाले भने । ‘यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्नेछ । साथै, नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरुलाई आर्थिकरुपमा सशक्त बनाउन सहयोग गर्नेछ,’ ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने । यस महत्वपूर्ण सहकार्यको लागि ओपेक फण्डलाई धन्यवाद व्यक्त गर्दै उनले यस सहकार्यले नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण लघु, साना तथा मझौला उद्यमलाई सुदृढ गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । नेपाल जलवायु परिवर्तनका प्रभावहरुको उच्च जोखिममा छ । ओपेक फण्ड र नेपालको दीर्घकालीन साझेदारी दिगो विकासमा केन्द्रित छ । ओपेक फण्डले बैंकिङ, ऊर्जा, कृषि, यातायात र शिक्षासहित विभिन्न क्षेत्रहरुमा वित्तीय सहयोगको प्रतिबद्धता गरेको छ ।

…त्यसपछि कड्किए गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई धेरैले एउटा शालिन र डिप्लोमेटिक पात्रका रूपमा चिन्छन् । शब्दका प्रहार गर्नेहरूलाई पनि उनले शालिन र सभ्य रूपमा जवाफ फर्काएको अनुभव विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुनेहरूसँग हुनसक्छ । उनले हरेक विषयवस्तुलाई सहज, सरल र सामान्य रूपमा प्रस्तुत गर्छन् । धेरैले उनको यो क्षमता र स्वभावको तारिफ पनि गर्छन् । तर, पछिल्ला केही कार्यक्रममा गभर्नर अधिकारीको शैली फेरिएको छ । विभिन्न सार्वजनिक कार्यक्रममा कसैको खुलेरै आलोचना नगर्ने गभर्नर अधिकारी पछिल्ला कार्यक्रमहरूमा केही आक्रामक शैली प्रस्तुत गरिरहेका छन् । त्यसको एउटा उदाहरण मंगलबार काठमाडौंको एक पाँच तारे होटलमा भएको कार्यक्रममा पनि देखियो । अहिले राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निर्माणको तयारीमा छ । विभिन्न सरोकावालहरूले मौद्रिक नीतिमाथि सुझाव दिन विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् । ती कार्यक्रममा गभर्नर अधिकारीको पनि सक्रिय सहभागिता देखिएको छ । गभर्नर अधिकारीकै भाषामा भन्ने हो भने उनी मौद्रिक नीतिसँग सम्बन्धित दैनिक दुई वटासम्म कार्यक्रममा सहभागी हुने गरेका छन् । उनी पछिल्लो पटक मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा गभर्नर अधिकारी फरक शैलीमा प्रस्तुत भए । शालिन रुपमा जवाफ फर्काउँछन् भनेर बानी परेका दर्शका अगाडि उनले फरक कार्यशैली प्रस्तुत गरे । सेजनले आयोजना गरेको कार्यक्रममा करिब एक र्दजन वक्ताले आफ्नो धारणा राखे । गभर्नर अधिकारी नै प्रमुख अतिथि थिए । अधिकांश वक्ताहरुले राष्ट्र बैंक र मौद्रिक नीति माथि धारणा राखे । केहीले राष्ट्र बैंकले लचिलो मौद्रिक नीति सार्वजनिक गर्न लागेको समेत धारणा राखे । गभर्नरको अगाडि नै लचिलो मौद्रिक नीति आउने धारणा राखेपछि गभर्नर अधिकारीको मुहारको रङ्ग फेरियो । वक्ताहरूले बोलेपछि कार्यक्रममा प्रश्नोत्तरको सेसन राखियो । जहाँ सहभागीले प्रश्न गर्ने र पेनालिष्टले जवाफ फर्काउने काम एक घण्टाभन्दा बढी समय चल्यो । गभर्नर अधिकारीले गम्भीर भएर सुनिरहे । प्रश्नोत्तर कार्यक्रममा एक्सल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्र कुमार गोयलले गम्भीर सवाल उठाए । उनले प्रश्न गर्दै भने, ‘बैंकभित्र कमिसन लिँदा ब्याजदर महँगो हुने गरेको छ । अहिले पनि ५ प्रतिशतसम्म कमिसन तिरिरहेका छन् । यदि कसैलाई आवश्यक पर्याे भने प्रमाण दिन सक्छु ।’ अध्यक्ष गोयलको सवाल थियो, ‘बैंकले कर्जा दिँदा कमिसन लिने गरेका छन् ।’ उनको उक्त जवाफ सुनेपछि गभर्नर अधिकारी थप गम्भीर बने । अध्यक्ष गोयललाई नियालिरहे । तिनै गोयलले त्यसअघि नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एउटा कार्यक्रममा पनि केही प्रश्न गरेका थिए । कार्यक्रममा एक जना इन्जिनियरले पनि प्रश्न गरेका थिए । उनले पनि गोयलको भनाइलाई थप्दै बैंकले कर्जा दिँदा कमिसन लिने गरेको बताए । उनले बैंकबाट कर्जा लिँदा कमिसन खाने गरेको र त्यसको प्रमाण दिन आफू तयार रहेको बताए । सार्वजनिक कार्यक्रममै बैंकका अध्यक्ष र अन्य व्यक्तिले आरोप लगाएपछि गभर्नर अधिकारी कड्किए । त्यस विषयमा जवाफ दिँदै गभर्नर अधिकारीले बैंकका अध्यक्ष र ती इन्जिनियरलाई कुन व्यक्ति र कुन बैंकले कमिसन लिएको हो त्यसको सबै प्रमाण दिन मञ्चबाटै आग्रह गरे । उनले आक्रोशित हुँदै भने, ‘प्रमाण छ भने दिनुस्, हामी कारवाही गर्छौं । तर, प्रमाण छैन भने यसरी सार्वजनिक कार्यक्रममा जथाभावी बोल्न पाइँदैन ।’ ‘बैंकबाट कर्जा लिँदा कमिसन खाने गरेको गुनासो राष्ट्र बैंकका लागि पटक्कै स्वीकार्य छैन । यस्ता विषय हाम्रो कानमा परेपछि चुप लागेर बस्दैनौं । राष्ट्र बैंकका लागि योभन्दा ठूलो विषय केही हुन सक्दैन । दुवै जनाले कुन व्यक्ति र कुन बैंक हो, त्यसको प्रमाण दिनुपर्छ । होइन भने बिना प्रमाण र बिना आधारका विषय सार्वजनिक फोरममा गरेर केही अर्थ हुँदैन,’ गभर्नर अधिकारीले आक्रोशित हुँदै कार्यक्रममा भनेका थिए । गभर्नर अधिकारीले कार्यक्रममा सहभागी भएका राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई मञ्चबाटै निर्देशन दिँदै ती दुई दजनासँग खानतलासी गरेर प्रमाण माग्न निर्देशन दिए । पोडियमबाटै दिएको उनको निर्देशनपछि बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरु प्रसाद पौडेल र मुक्ती श्रेष्ठसहितका राष्ट्र बैंकका कर्मचारीहरूले ती दुई जनासँग थप कुराकानी गरे । गभर्नर अधिकारीले सार्वजनिक कार्यक्रमा आक्रोशित हुँदै आफू मातहतका कर्मचारीलाई ‘अन दि स्पट’ निर्देशन दिएको सम्भवतः यो पहिलो सार्वजनिक कार्यक्रम हुन सक्छ । उनी पछिल्लो समय केही आक्रोशित भएर धारणा राखिरहेको महसुस उनको कार्यक्रममा सहभागी भइराख्ने अधिकांशलाई भएको हुन सक्छ । २०७६ फागुनमा नेपाल राष्ट्र बैंकको गभर्नर बनेका अधिकारीको कार्यकाल सकिन अब ८ महिना मात्रै बाँकी छ । आफ्नो कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा गभर्नर केही आक्रामक र आक्रोशित रुपमा अभिव्यक्ति दिन थालेका छन् । मंगलबारको कार्यक्रममा लचिलो मौद्रिक नीतिको भविष्यवाणी नगर्न पनि उनले आग्रह गरेका थिए ।

प्रभु बैंकका ग्राहकलाई मुस्ताङका होटल तथा रेष्टुरेन्टमा छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टा-छुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रमुखहरुद्वारा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । मुस्ताङ जिल्ला नेपालको गण्डकी प्रदेश धौलागिरी अन्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको नामबाट चिनिने यो जिल्ला धौेलागिरी र निलगिरी दुई अग्ला हिमशिखर को बिचमा अवस्थित छ । प्राकृतिक,साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण मुस्ताङ जिल्ला नेपालको हिमाली जिल्लाको रुपमा पनि प्रख्यात छ । अलौकिक रुपको सुन्दरता बोकेको यस जिल्ला देख्नमा पनि अन्य भन्दा अलि भिन्न किसिमको छ । मुक्तिनाथ, कागवेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम,मार्फा, ढुम्बाताल,लेते जस्ता प्राकृतिक एवम् लोमान्थाङ्ग जस्ता साँस्कृतिक रुपमा परिचित मुस्ताङ स्याऊ,आलु फापर, सिमि जस्ता कृषि उत्पादनले पनि प्रख्यात छ । विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमालपारि को ईतिहास बोकेको एक रमणिय, धार्मिक र अलौकिक जिल्लाका रुपमा पनि मुस्ताङ जिल्ला चिन्न सकिन्छ भने अन्नपूर्ण पदयात्रा,थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रुपमा पनि लिन सकिन्छ ।विभिन्न देश तथा बिदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । विश्वमै अति दुर्लभ हिमचितुवा, च्यांग्रा, भेडा, चौरि गाई ,घोडा जस्ता जनावरहरु देख्न सकिन्छ भने विभिन्न जातिका भेषभुषा सजिएर तस्विर खिचाउने यहाँका पर्यटकका लागि अर्को रोचक विषय पनि हो । सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैंकका कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सहभागी होटेलहरुको सुची निम्नअनुसार समावेश छ :  Hotel De Purang Muktinath, Eurika Inn Muktinath, Hotel Grand Sambala , Muktinath Hotel Sunrise, Jomsom Airport. Hotel Mandala, Lomanthang, Hotel Trivatika, Lomanthang, Eco Hill Resort, Tukuche, Holiday Camp, Hotel Tangsra Kowang , Lumbini and Restaurant, Tsarang, See You Lodge, and Restaurant Lete and Marpha Orchard Hote Marpha.