राष्ट्र बैंकले नयाँ लघुवित्तलाई लाइसेन्स दिँदै, यस कारण जन्मियो सम्पदा लघुवित्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ लघुवित्त ‘सम्पदा’ वित्तीय संस्थालाई अनुमति दिने भएको छ । यस लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ । यस्तै लघुवित्तमा कृष्ण बहादुर थापा सञ्चालक समिति अध्यक्ष र केशब कुमार पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नेछन् । राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजतपत्र (लाइसेन्स) प्राप्त लघुवित्त संस्थालाई लघुवित्तीय कारोबार गर्न अनुमति दिने तयारी गरेको हो । यसरी जन्मियो सम्पदा लघुवित्त  साधना लघुवित्त र सबैको लघुवित्तबीच वि.सं २०८० भदौमा एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भयो । दुई संस्थाको वार्षिक साधारण सभाले मर्जरको प्रारम्भिक सम्झौता पारित गरे । गत बैशाख १२ गते दुवैबीच मर्जरमा जाने अन्तिम सम्झौता भयो । मर्जरपश्चात् सबैको साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति थियो । एकीकृत कारोबार गर्ने प्रयोजनका लागि अन्तिम स्वीकृति माग्दै दुवै संस्थाले राष्ट्र बैंकमा अन्तिम सम्झौतापत्र पेस गरे । राष्ट्र बैंकले गत जेठ २९ गते अन्तिम स्वीकृति पनि दियो । तर, राष्ट्र बैंकले साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्न भन्यो । आफ्नो नाम र अस्तित्व समाप्त भएपछि सबैको लघुवित्तका कर्मचारी असन्तुष्ट थिए । तर, नियामक राष्ट्र बैंकको निर्णय नकार्न सकेनन् । यता साधना लघुवित्तका कर्मचारीहरू भने साधना लघुवित्त नाम आएपछि खुसीयाली मनाउन थाले । उनीहरूले ‘साधना टू बी कन्टिन्यूड’ भनेर उत्सव मनाए । केक काटेर मनोरञ्जन गरिरहेका फोटाहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सबैको लघुवित्त परिवार थप असन्तुष्टि बन्यो । ‘राष्ट्र बैंकले नाम हटाएपछि असन्तुष्ट थिए तर, अन्तिम स्वीकृति पाएपछि साधना लघुवित्तका कर्मचारीहरूले ‘साधना टू बी कन्टिन्यूड’ उल्लेख गरेको केक काटेर सेलिब्रेसन गरेपछि थप असन्तुष्ट बने,’ स्रोतले भन्यो, ‘साधना लघुवित्तका कर्मचारीले केक काटेपछि एकीकृत कारोबार अगावै हेपेको भन्दै सबैको लघुवित्तका कर्मचारीहरूले विरोध जनाए ।’ दुबै संस्था समान सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएपनि आफ्नो नाम र अस्तित्व समाप्त हुने गरी भएको निर्णय निन्दनिय र मर्जरपश्चात् सम्झौता अनुरूप नै नाम हुनुपर्ने माग राखे । त्यसपछि नयाँ नामाकरण गर्दै सम्पदा लघुवित्तको नामबाट कारोबार गर्ने गरी सहमति भएको छ । दुवै लघुवित्त संस्था एक आपसमा मर्ज भई एकीकृत कारोबारको अन्तिम तयारीमा छन् । नयाँ नामको प्रक्रिया अघि बढेको र सबै निकायबाट अनुमति पाउने बित्तीकै एकीकृत कारोबार गर्ने बताइएको छ । सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुर–१ डुम्रे र साधना लघुवित्तको गोरखाको गोरखा–६, हरमटारीमा छ । मर्जरपछि लघुवित्तको केन्द्रीय कार्यालय चितवनमा रहनेछ । कुन सूचकमा को बलियो ? चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म साधना लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ र जगेडा कोष १७ करोड ५९ लाख रुपैयाँ छ । लघवित्तले १ अर्ब ३६ करोड रुपैयाँ संकलन गरी ५ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको खराब कर्जा (एनपीएल) ४.१० प्रतिशत, प्रतिसेयर आम्दानी २१.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.४३ गुणा र प्रतिसेयर नेटवर्थ १४८.०८ रुपैयाँ रहेको छ । चैतसम्म लघुवित्तले खुद नाफा ६ करोड १२ लाख रुपैयाँ, खुद ब्याज आम्दानी २१ करोड २४ लाख रुपैयाँ गरेको छ । यस्तै, सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ र जगेडा कोष ६ करोड ८८ लाख रुपैयाँ छ । यस्तै, लघुवित्तले १ अर्ब १९ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २० करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तकको एनपीएल ४.६१ प्रतिशत, प्रतिसेयर आम्दानी ८.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९३.६८ गुणा र प्रतिसेयर नेटवर्थ १३८.९६ रुपैयाँ रहेको छ । चैतसम्म लघुवित्तले १ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेका छ भने १४ करोड १९ लाख रपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको छ । मंगलबार बैंक र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका थिए । सो सम्झौता बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुलाइ बैंकले विशेष छुट सहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी र प्राविधिक शिक्षक र कर्मचारीहरूले बैंकिङ सुविधा पाउन सक्नेछन् । साथै, नेपाल बैंकको सबै शाखाबाट छुट सहित आकर्षक बैंकिङ सेवा सुविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नुका साथै नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्नेछन् ।

पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३औं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १४ पुगेका छन् । बिरौटामा बिहीबार आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा पोखरामा थप एक शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ । बिरौटामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको दिनमानै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित श्री गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ ।