माछापुच्छ्रे बैंकका ग्राहक बिगमार्टमा जाँदा विशेष छुट, २ सय रुपैयाँसम्म क्यासब्याक सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट (बिगमार्ट) प्रालिबीच डिजिटल कारोबार प्रवर्द्धन एवम प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले बिगमार्टका आउटलेटहरूबाट सामान खरिद गरे बापतको भुक्तानी डिजिटल माध्यमबाट गर्दा आर्कषक सुविधा पाउने बैंकले जनाएको छ । हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्ड प्रयोग गरी पीओएसबाट बिगमार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिने बैंकको भनाइ छ । माछापुच्छ्रे बैंकले देशभरिका ३ सयभन्दा बढी संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । सम्झौताबाट ग्राहकलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संघसंस्थालाई व्यापार प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।

एनआईसी एशियाले गैरबैंकिङ सम्पत्ति बेच्न खोल्यो वेबसाइट, अनलाइनबाटै बार्गेनिङ गर्न सकिने

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकका अनुसार अनलाइन पोर्टलबाट बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ एवम् धितो सुरक्षण सम्पत्ति लिलाम बिक्री लगायतका सूचनाबारे जानकारी लिन सकिने छ । ग्राहकहरूको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवम् उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने बैंकको भनाइ छ । ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।

बैंकबाट कर्जा लिएर नाडा अटो शोमा गाडी किन्न १५ सयभन्दा बढीले दर्ता गराए नाम

काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ मा ७ वटा बैंकले सहभागिता जनाएका छन् । भदौ ११ गतेदेखि भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र महालक्ष्मी विकास बैंकले सहभागिता जनाएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शोको आज भदौ १४ गते चौंथो दिन हो । अटो शोमा सवारी साधन खरिद गर्न १५ सयभन्दा बढी ग्राहकहरूले बैंकमा कर्जाका लागि नाम दर्ता गराएका छन् । शुक्रबार ५ बजेसम्म १ हजार ५ सयभन्दा बढीले सवारी कर्जा लिन विभिन्न बैंकमा नाम टिपाएका छन् । अटो शोको अन्तिम दिनसम्म यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । हिमालयन बैंकका प्रतिनिधि युवराज गुरागाईं नाडा अटो शोमा अधिकतम मार्केटिङ गर्नेभन्दा पनि इच्छुक ग्राहकहरूका लागि विशेष अफर ल्याएको बताउँछन् । सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन बैंकहरूबीच ब्यापक प्रतिस्पर्धा भइरहँदा हिमालयनले विद्युतीय सवारी खरिद गर्ने ग्राहकलाई आधार दरमा ०.५० प्रतिशत प्रिमियम दर तोक्नेछ । साथै अन्य सवारी खरिदका लागि भने बैंकले आधार दरमा ०.६५ प्रतिशत प्रिमियम दर तोक्ने उनले बताए । उनका अनुसार बैंकले ८ वर्ष अवधिका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ । दैनिक ४०÷५० जनाले सवारी कर्जा लिन नाम टिपाइरहेको उनले जानकारी दिए । नबिल बैंकका विजनेश डेभलपमेन्ट अफिसर विबेक केसी नाडा अटो शोमा विशेष अफर ल्याएको बताउँछन् । बैंकले ५ वर्ष अवधिका लागि ८.२५ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने उनले बताए । साथै ७ वर्ष अवधिका लागि भने ८.४९ प्रतिशत स्थिर ब्याजदर तोकेको उनको भनाइ छ । विद्युतीय सवारीमा ८० प्रतिशत फाइनान्सिङ छ भने इन्धन सवारीमा ५० प्रतिशत मात्रै फाइनान्सिङ रहेको उनले बताए । उनका अनुसार सबै डकुमेन्ट उपलब्ध भएको तीन दिनभित्र कर्जा उपलब्ध गराउने बैंकको प्रतिवद्धता छ । हालसम्म १२० जनाभन्दा बढीले कर्जा लिन नाम नाम दर्ता गराएका छन् । सानिमा बैंकका प्रतिनिधि प्रतिक नेपाल ईभीमा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने गरी कर्जा उपलब्ध गराउने बताउँछन् । बैंकले सवारी कर्जामा १० वर्ष अवधिका लागि ८.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । उनका अनुसार ईभी कर्जा लिने ग्राहकलाई ७ वर्ष अवधि तोकेको छ भने अन्य सवारीमा १० वर्ष अवधि कायम राखेको छ । ७ वर्षपछि भने आधार दरमा २ प्रतिशत प्रिमियम दर थप गर्ने उनले बताए । बैंकले सेवा शुल्कमा ०.२५ प्रतिशत छुट गरेर ०.५ प्रतिशत मात्रै लिने उनको भनाइ छ । साथै यो अफर दशैं तिहारसम्म चल्नेछ । हालसम्म कर्जा लिन्छु भनेर डेढ सय भन्दा बढीले नाम टिपाएका छन् भने अधिकांशले गाडी पनि बुक गरेका छन् । लक्ष्मी सनराइज बैंकका प्रतिनिधि धु्रव भण्डारीका अनुसार ईभीमा ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा रहेको उनले बताए । नाडा अटो शोमा बुक भएका सवारी र नाम टिपाएका ग्राहकलाई तीन दिन भित्र कर्जा उपलब्ध गराउने उनको दाबी छ । साथै नाडा अटो शोमा बुक गरेका ग्राहकलाई एक वर्षसम्म भिजा कार्ड, एटीएम कार्ड, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ निशुल्क हुने उनले जानकारी दिए । हालसम्म १ सय भन्दा बढी ग्राहकले बैंकबाट कर्जा लिन नाम टिपाएका छन् । जसमध्ये अधिकांश ईभी सवारी खरिदका लागि कर्जा लिने छन् । ग्लोबल आइएमई बैंककी प्रतिनिधि नोना आचार्यका अनुसार नाडा अटो शोमा २ किसिमको सवारीका लागि अफर राखिएको छ । बैंकले ईभी कर्जामा ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत र ७ वर्ष अवधिका लागि ८.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । इन्धनतर्फ भने बैंकले ५ वर्ष अवधिका लागि ८.४९ प्रतिशत र ५ वर्षमाथि अवधिका लागि ९.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । हालसम्म नाडा अटो शोमा कर्जा लिन २२५ जनाभन्दा बढीले नाम टिपाइसकेको उनले जानकारी दिइन् । साथै बैंकले घरकर्जाका लागि पनि अफर राखेको छ । ग्रिन होम लोन योजनामा ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदर र सोभन्दा माथिको अवधिका लागि आधार दरमा १.७५ प्रतिशत प्रिमियम दर तोकिनेछ । यस्तै निश्चिन्त आवास योजनामा १० वर्ष अवधिका लागि ७.९९ प्रतिशत र सोभन्दा माथिको ८.४९ प्रतिशत ब्याजदर तोकिएको छ । १५ वर्ष भन्दा माथिको लागि ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अनुसार हालसम्म ३ सय बढीले सवारी कर्जा लिन नाम दर्ता गराएका छन् । बैंकले ईभी कर्जामा आधार दर ७.६४ प्रतिशतमा १ प्रतिशत प्रिमियम तोकेर कर्जा उपलब्ध गराउनेछ । जसमा ८० प्रतिशत फाइनान्सिङको सुविधा रहेको बैंकले जनाएको छ । पेट्रोल तथा डिजेल सवारी कर्जा लिँदा भने ८० प्रतिशतभन्दा कम फाइनन्सिङ रहेको छ । कृषि विकास बैंकका प्रतिनिधि उपेन्द्र महतका अनुसार सवारी कर्जाका लागि ब्याजदरमा भारी छुट अफर रहेको छ । बैंकले फ्लटिङ दरमा ७.९९ प्रतिशत र स्थिर ब्याजदरमा ८.९९ प्रतिशत तोकेको छ । साथै कर्जा प्रक्रिया शुल्कमा ०.३३ प्रतिशत छुट दिएको उनले जानकारी दिए । कर्जा भुक्तानी अवधि ५ वर्षदेखि ७ वर्ष रहेको छ । व्यावसायिक सवारी कर्जामा फलटिङ दरमा ८.४९ प्रतिशत र स्थिरमा ९.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत नाममा सवारी कर्जा लिँदा ५० प्रतिशत र कम्पनीको नाममा लिँदा ८० पतिशत फाइनान्सिङ सुविधा रहेको उनले बताए । उनका अनुसार हालसम्म कर्जाका लिनका लागि १६० भन्दा बढीले नाम टिपाएका छन् । तर, स्टल भिजिट गर्ने धेरै छन् । नाम टिपाएका अधिकांश कर्जा लिने मनसायमा रहेको उनको भनाइ छ । माछापुच्छ्रे बैंकका अनुसार हालसम्म बैंकले आधार दरमा १ प्रतिशत प्रिमियम दर तोकेर ब्याजदर निर्धारण गर्नेछ । इन्धन सवारीमा ५० प्रतिशत र ईभीमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा रहेको बैंकले जनाएको छ । बैंकले कर्जा चुक्ता गर्न ईभीमा ६ वर्ष र इन्धनमा ८ वर्ष अवधि दिएको छ । हालसम्म सवारी खरिद गर्न बैंकबाट कर्जा लिन २५० भन्दा बढीले नाम दर्ता गराएको बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकका प्रतिनिधि निरज विष्ट नाडा अटो शोमा ९.९९ प्रतिशत अफरसहित सवारी कर्जा उपलब्ध गराउने बताउँछन् । ईभीमा ८० प्रतिशत फाइनान्सिङ सुविधा छ भने १० वर्ष अवधिका कर्जा दिइनेछ । बैंकले इन्धन सवारीमा ८ वर्ष अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै तीन दिनभित्र कर्जा भुक्तानी गर्ने उनको भनाइ छ ।