घर र गाडी कर्जाको ब्याज ७ प्रतिशतमा झर्यो, व्यवसाय कर्जा पनि ८ प्रतिशत
काठमाडौं । पछिल्लो समय कर्जातर्फको ब्याजदर निरन्तर ओरालो लागिरहेको बेला नेपाल बैंकले ७ प्रतिशत ब्याजदरमै कर्जा लगानी गर्ने भएको छ। बैंकले सार्वजनिक गरेको कर्जा योजनाहरूमा ब्याजदर ७.७० प्रतिशतमा झारेको हाे । बैंकले सर्वसुलभ आवास कर्जा योजनाको ब्याजदर ७.७० प्रतिशत तोकेको हो । ऋणीहरूले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जीर्णोद्वार र अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्ने बैंकले जनाएको छ । ५ वर्षदेखि २५ वर्षसम्म भूक्तानी अवधि रहेको यस योजनामा सेवा शुल्क ३३.३३ प्रतिशतसम्म छुट प्रदिनेछ । ५ लाख रुपैयाँदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । साथै बैंकले समृद्ध व्यवसाय कर्जा, अटो लोनलगायत विभिन्न कर्जाको ब्याजदरसमेत घटाएको छ । बैंकका अनुसार कर्जा सीमा १० करोड रुपैयाँसम्म रहेको समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ । व्यावसायिक ग्राहकहरूले चालुपुँजी तथा स्थिरपुँजी व्यवस्थापनको लागि यो कर्जा उपयुक्त हुन सक्ने बैंकको दाबी छ । यस्तै नयाँ गाडी खरिदको अटो कर्जाको ब्याजदर ७.७८ प्रतिशत तोकेको छ । अटो कर्जाको भुक्तानी अवधि ५ र ७ वर्ष रहेको बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले बाढीपीडितलाई दियो दुई करोड
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताएका थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा एक अर्ब रुपैयाँ दाखिला गर्ने निर्णय गरेको थियो ।
राष्ट्र बैंक भन्छ- सुकिला नोट व्यवस्थापन गर्न दशैंमा नयाँ नोट बजारमा नल्याएका हौं
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ । आइतबारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले विगतका दशैंमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैंकमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पोखरलले यो वर्षको दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको उल्लेख गरे । उनले राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको जानकारी दिए । सहायक प्रवक्ता पाेखरेलले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा सुकिला नोटहरु प्रशस्त रहेको र राष्ट्र बैंकले व्यवस्थापन गर्नुपर्ने भएकाले दशैंमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गरे । उनले राष्ट्र बैंकसँग तथा बैकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताए । उनले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दशैंको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताए । सहायक प्रवक्ता पाेखरेलले भने, ‘विगतमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएपनि यो वर्षदेखि सफा नोट मात्रै सटही गर्ने भएको छ । हामीसँग बैंकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य छन् । त्यसलाई प्रयोग गर्नसक्यौं भने सुकिला नोट व्यवस्थापन गर्नसक्छौं । बैंक तथा वित्तीय संस्थामा प्रशस्त सुकिला नोट भएको र व्यवस्थान गर्नु परेकाले नयाँ नोट नआएको हो । अब दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै हामी बाहिर जानुपर्छ । ’ सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको छ ।