प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंककाे दुई करोड सहयोग, अनुहार हेरेर ऋण नदिन ओलीको सुझाब
काठमाडौं । नेपाल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आइतबार उक्त चेक हस्तान्तरण गरे । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे । यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाख रुपैयाँको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी छ ।
त्रिभुवन विमानस्थलमा थप २ वटा एटीएम मेसिन जडान गरिने, भाडा ७६ लाख ८० हजार रुपैयाँ
काठमाडौं । त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिन सञ्चालनका लागि बोलपत्र आह्वान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयल गौचरले अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमन परिसरमा एटीएम मेसिन सञ्चानलका लागि बोलपत्र आह्वान गरेको हो । कार्यालयका अनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ अध्यागमन परिसरमा राष्ट्रिय वाणिज्य बैक नजिकै पूर्वतिर तोकिएको स्थानमा एटीएम मेसिन जडान गरिनेछ । प्रत्येक एटीएमको लागी ३.०१ वर्गमिटर क्षेत्रफलको दरले जम्मा ६.०२ वर्ग मिटर क्षेत्रफलमा २ वटा फरक फरक बैंकको एटीएम राखिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट ५ वर्षको भाडामा दिइने भएकाले ईच्छुक बैंकले बोलपत्र दाखिला गर्नुपर्नेछ । बोलपत्र फाराम दस्तुर ३ हजार ३९० रुपैयाँ तोकिएको छ । एटीएम मेसिनको भाडा ५ वर्षका लागि ७६ करोड ८० लाख रुपैयाँ तोकिएको छ ।
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
काठमाडाैं । प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले यस्तो सहयोगको घोषणा गरेको हो । प्राइम कमर्सियल बैंकका तर्फबाट बाढीपीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने बैंकले जनाएको छ ।