लाभांश लहर : ९ बैंक/वित्तीय संस्थाले घोषणा गरे लाभांश

काठमाडौं । लाभांशको लहर सुरु भइसकेको छ । दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म ९ वटा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । अधिकांशले घोषणा गर्ने तयारी गरेका छन् । चारवटा वाणिज्य, एकवटा विकास बैंक र चारवटा लघुवित्त संस्थाले लाभांश घोषणा गरेका छन् । सानिमा बैंकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित नाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गरेको छ । बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८औं वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए । एभरेष्ट बैंकले पनि लाभांघ घोषणा गरेर पारित पनि गरिसकेको छ । बैंकको असोज २० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । बैंकको साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिएको हो । यस्तै, सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश घोषणा गरिसकेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । बैंकले कात्तिक १२ गते साधारणसभा बोलाएको छ । कामना सेवा विकास बैंकले पनि लाभांश घोषणा गरिसकेको छ । बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ । बैकको साधारणसभा असोज ३९ गते बोलाइएको छ । यस्तै, चारवटा लघुवित्तले पनि लाभांश घोषणा गरेका छन् । आशा लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश घोषणा गरेको हो । गुराँस लघुवित्तले पनि १५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । फरवार्ड माइक्रो फाइनान्सले पनि सेयरधनीका लागि लाभांश घोषणा गरिसकेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत सोको कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

सानिमा बैंकको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगत लाभांश (करसहित) वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

नेपाल बैंकका ग्राहकले समाज डेण्टल अस्पतालमा छुट पाउने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र समाज डेण्टल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरूमा रहेका क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा छुट दिने उद्देश्यले उक्त छुट सम्झौता भएको हो । सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई विल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई १० प्रतिशतले छुट हुने भएको छ ।