मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी

काठमाडौं । मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी भएको छ । बैंक र आइडी नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडी नेपालको तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका थिए । उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतिहरुलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रर्वद्धन गर्न सहयोग पुग्ने कम्पनीले बताएको छ । दुवै संस्थाहरुको साझेदारीले वित्तीय सुधार सहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानहरुलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरण लगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।

लघुवित्तमा बैंकहरूको डेढ खर्ब लगानी, ग्लोबल आइएमईको उच्च

काठमाडौं । बैंकहरूको लघुवित्त वित्तीय संस्थाहरूमा डेढ खर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनसम्म बैंकहरूले १ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ लघुवित्त संस्थाहरूलाई कर्जा प्रवाह गरेका हुन् । गत वर्षको साउनसम्म बैंकहरूले लघुवित्त संस्थालाई १ खर्ब ४४ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूले लघुवित्तलाई दिएको कर्जा १३.८९ प्रतिशत अर्थात् २० अर्ब ९ करोड रुपैयाँ बढाएका हुन् । समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लघुवित्तलाई दिने कर्जा बढाएको छ । यस बैंकले गत वर्षको साउनको तुलनामा ५४.१६ प्रतिशत बढाएर १२ अर्ब ४६ करोड रुपैयाँ कर्जा लघुवित्त संस्थाहरूमा प्रवाह गरेको हो । तर, लघुवित्त वित्तीय संस्थामा सबैभन्दा धेरै कर्जा भने ग्लोबल आइएमई बैंकले गरेको देखिन्छ । ग्लोबल आइएमई बैंकले १२.९२ प्रतिशत बढाएर १६ अर्ब ४२ करोड रुपैयाँ लघुवित्तमा कर्जा लगानी गरेको छ । यस्तै नबिल बैंकले ४३.८० प्रतिशत बढाएर १२ अर्ब ५४ करोड रुपैयाँ, सानिमा बैंकले ३०.७८ प्रतिशत बढाएर ५ अर्ब ४० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२.६६ प्रतिशत बढाएर ५ अर्ब ६५ करोड रुपैयाँ, कुमारी बैंकले १८.५५ प्रतिशत बढाएर ११ अर्ब ९५ करोड रुपैयाँ लघुवित्तलाई कर्जा लगानी गरेका हुन् । यस्तै एनएमबी बैंकले १५.८७ प्रतिशत बढाएर ८ अर्ब ६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १३.१३ प्रतिशत बढाएर ५ अर्ब ७३ करोड रुपैयाँ, माछापुच्छ«े बैंकले १२.२५ प्रतिशत बढाएर ४ अर्ब ९५ करोड रुपैयाँ, नेपाल बैंकले १०.२० प्रतिशत बढाएर ६ अर्ब रुपैयाँ लघुवित्तलाई कर्जा दिएका हुन् । लक्ष्मी सनराइज बैंकले ९.०४ प्रतिशत बढाएर ८ अर्ब ५७ करोड रुपैयाँ, प्राइम बैंकले ७.५६ प्रतिशत बढाएर ९ अर्ब ६४ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले ०.०२ प्रतिशत बढाएर ६ अर्ब ३७ करोड रुपैयाँ लघुवित्तमा लगानी गरेका हुन् । गत वर्ष लघुवित्तमा लगानी नगरेको प्रभु बैंकले यसपटक भने १० अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ । तर, यस अवधिमा विभिन्न ६ वटा बैंकले भने लघुवित्तमा जाने कर्जा घटाएका छन् । एनआईसी एशिया बैंकले ३४.६७ प्रतिशत घटाएर ६ अर्ब ३२ करोड रुपैयाँ, सिटिजन्स बैंकले २५.८८ प्रतिशत घटाएर १ अर्ब ९८ करोड रुपैयाँ, कृषि विकास बैंकले २२.६२ प्रतिशत घटाएर ३ अर्ब २४ करोड रुपैयाँ लघुवित्तमा लगानी गरेका हुन् । यस्तै हिमालयन बैंकले १२.१२ प्रतिशत घटाएर ९ अर्ब ३० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ११.९३ प्रतिशत घटाएर १२ अर्ब ३१ करोड रुपैयाँ र एभरेष्ट बैंकले ७.४५ प्रतिशत घटाएर ७ अर्ब ५६ करोड रुपैयाँ लघुवित्त संस्थामा लगानी गरेका हुन् ।

सिटिजन्स बैंकको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

काठमाडौं । सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २९ गते बुकक्लोज गर्दैछ । दशैँ बिदा भएका कारण असोज २३ गते अन्तिम कारोबार मानी सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । बैंकको ४ प्रतिशत बोनस सेयर समायोजनपश्चात् बैंकको सेयर मूल्य २४३.२७ रुपैयाँ कायम भएको छ । असोज २३ गते बैंकको सेयर प्रतिकित्ता २५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले १८औँ वार्षिक साधारण सभा कात्तिक १२ गते बिहान ९ बजे अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बोलाएको छ ।